राष्ट्र बैंकले चालु आर्थिक वर्ष कम्तिमा ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको थियो ।
काठमाडौं — मुलुकमा विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा जेठसम्म विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बढेको हो ।
असार २०८२ मा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा जेठ २०८३ मसान्त सम्ममा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष कम्तिमा ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लग्य तय गरेको थियो ।
