निर्माण व्यवसायी तथा सरकारी तथ्याङ्कअनुसार घर निर्माण लागत झन्डै १४ प्रतिशतले बढेको छ
काठमाडौँ — अमेरिका-इरानबीचको युद्धका कारण इन्धनको मूल्य बढेसँगै उपभोग्य वस्तुहरुको भाऊ बढेको छ । विगत एक वर्षमा घर निर्माणको खर्च पनि उल्लेख्य बढेको निर्माण व्यवसायीहरूले बताएका छन् ।
काठमाडौँमा ८०० वर्गफिट क्षेत्रफलको जग्गामा साढे दुई तले घर निर्माण गर्न हाल करिब १ करोड ७ लाख रुपैयाँ लाग्ने होम कन्स्ट्रक्सन सेवा प्रदान गर्ने कम्पनी 'नेटिभ बिल्डर्स'का संस्थापक गणेश केसीले बताए । एक वर्षअघिसम्म यो खर्च ९० लाख रुपैयाँ आसपास रहेको उनले बताए ।
यो अनुमानित लागतमा टायल, ढोका, झ्याल र रङरोगनसहितको सामान्य फिनिसिङ खर्च जोडिएको छ । निर्माण व्यवसायी तथा सरकारी तथ्याङ्कअनुसार घर निर्माण लागत झन्डै १४ प्रतिशतले बढेको छ ।
निर्माण सामग्रीको मूल्य बढे पनि श्रमिकको ज्याला भने खासै नबढेको केसीले जानकारी दिए । उनका अनुसार हाल अदक्ष कामदारले दैनिक १,२०० रुपैयाँसम्म र दक्ष कामदार (डकर्मी/सिकर्मी) ले दैनिक करिब २,००० रुपैयाँ ज्याला पाउँछन् ।
काठमाडौँ उपत्यकाबाहिर, विशेषगरी तराई क्षेत्रमा ढुवानी खर्च कम हुने तथा नदीजन्य सामग्री र इँटा सहजै उपलब्ध हुने भएकाले घर बनाउन केही सस्तो पर्ने केसीले बताए ।
राष्ट्रिय तथ्याङ कार्यालयले पनि अमेरिका-इरान युद्धपछि निर्माण सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको जनाएको छ ।
तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार निर्माण सामग्रीको सूचीमा रहेका अन्य वस्तुको तुलनामा इँटाको मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ । इँटाको मूल्यमा देखिएको १३.४१ प्रतिशतको यो वृद्धि इतिहासकै सबैभन्दा उच्च हो ।
घर निर्माणमा धेरै खर्च इँटामै जाने गर्दछ । इँटामा निर्माण बजेटको झन्डै १०.८९ प्रतिशत खर्च हुने भएकाले घर तथा साना पूर्वाधारको लागत धेरै बढेको अध्ययनले देखाएको छ ।
सफा इँटा भट्टा रूपान्तरण कार्यक्रमअन्तर्गत परम्परागत इँटा भट्टा सञ्चालनमा लगाइएको वातावरणीय प्रतिबन्ध र मुख्य सिजनमा भएको उच्च मागका कारण बजारमा इँटाको अभाव देखिएको छ । तथ्याङ्क कार्यालयको अध्ययनअनुसार निर्माण कार्य बढी हुने मुख्य सिजन पुसदेखि वैशाखसम्म इँटा भट्टाहरूले माग नै धान्न सकेनन् ।
तर, इँटा व्यवसायीहरू भने यो निष्कर्ष मान्न तयार छैनन्। विगत एक दशकदेखि इँटाको मूल्यमा खासै परिवर्तन नभएको उनीहरूको दाबी छ ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद अवालका अनुसार २०७२ मा इँटाको मूल्य प्रतिगोटा १५ देखि १७ रुपैयाँ थियो । गत वर्ष मनसुनको 'अफ-सिजन' मा यो मूल्य घटेर प्रतिगोटा १३ रुपैयाँसम्म पुगेको थियो ।
मुख्य सिजनमा इँटाको मूल्य पुनः बढेर प्रतिगोटा १५ रुपैयाँको हाराहारीमा पुगेको अध्यक्ष अवालले बताए । 'अमेरिका-इरान युद्धका कारण इन्धनको मूल्यमा भएको वृद्धिले इँटाको मूल्यमा कुनै असर पारेको छैन,' उनले दाबी गरे ।
नेपालको इँटा उद्योग पूर्ण रूपमा मौसमी प्रकृतिको छ । मनसुन र बाली भित्र्याउने समय (असारदेखि कात्तिकसम्म) अफ-सिजन मानिन्छ । यस अवधिमा परम्परागत भट्टाहरूले उत्पादन बन्द गर्छन् र कामदारहरू आफ्नो गाउँ फर्कन्छन् ।
नेपालमा सामान्यतया कात्तिकदेखि वैशाखसम्मको समयलाई निर्माणको मुख्य सिजन मानिन्छ । काठमाडौँ उपत्यकामा सञ्चालित लगभग सबै इँटा उद्योगले अहिले 'जिग-ज्याग' प्रविधि प्रयोग गरिरहेकाले उत्पादन लागत नबढेको अवालको भनाइ छ।
'जिग-ज्याग' इँटा पोल्ने एक बढी कुशल र तुलनात्मक रुपमा कम प्रदूषक प्रविधि हो ।
इँटाबाहेक बिजुलीको तार, कंक्रिटका सामग्री, जीआई पाइप, आल्मुनियमका सामान र अन्य सामग्रीको मूल्यमा पनि अमेरिका-इरान युद्धपछि तीव्र मूल्यवृद्धि भएको छ ।
२८ फेब्रुअरीमा सुरु भएको अमेरिका र इरानबीचको युद्धका कारण इन्धनको मूल्यमा तीव्र वृद्धि भएको हो ।
द्वन्द्व सुरु भएको तीन महिनाभित्रै नेपालमा पेट्रोलको मूल्य ३८.२१ प्रतिशतले बढेर प्रतिलिटर २१७ रुपैयाँ पुग्यो भने डिजेलको मूल्य ५८.४५ प्रतिशतले बढेर प्रतिलिटर २२५ रुपैयाँ कायम भयो ।
इन्धनको मूल्य बढेसँगै ढुवानी खर्च पनि चुलियो, जसले गर्दा कच्चा पदार्थ र तयारी वस्तुको मूल्य बढ्न गयो । सबै क्षेत्रमा उत्पादन लागत थपियो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार निर्माण लागत सूचकांकमा बिजुलीको तारको मूल्य गत वर्षको तुलनामा सबैभन्दा बढी अर्थात् २४.८९ प्रतिशतले वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तामाको मूल्य बढ्दा तार महँगो भएको प्रतिवेदनमा उल्लेख छ ।
घर निर्माण क्षेत्रमा करिब एक दशकदेखि सक्रिय केसीले आफ्नो अनुभवमा यस वर्षको जस्तो तीव्र मूल्य वृद्धि कहिल्यै नदेखेको बताए ।
महानगरपालिका र नगरपालिकाहरूले लागू गरेका भवन निर्माणसम्बन्धी कडा नियम र मापदण्डका कारण पनि घर निर्माण लागत थप बढेको उनको भनाइ छ।
प्रतिवेदनले सिमेन्ट, ढुङ्गा, बालुवा, ग्याबियन तार र रङरोगनको मूल्य सामान्य वृद्धि भएको देखाएको छ । सिमेन्टको मूल्य १.३० प्रतिशत, ढुङ्गाको ३.१७ प्रतिशत, बालुवाको १.०२ प्रतिशत, ग्याबियन तारको १.०४ प्रतिशत र रङरोगनको मूल्य ०.०१ प्रतिशतले बढेको छ।
श्रमिकको ज्याला गत वर्षको तुलनामा २.८१ प्रतिशतले बढेको छ। प्रतिवेदनका अनुसार निर्माण सामग्रीको तुलनामा श्रमिक ज्यालामा उतारचढाव निकै कम हुने गर्दछ। साथै, नेपालमा मनसुन सुरु हुनुअघिको मुख्य निर्माण सिजन (फागुनदेखि चैतको मध्यसम्म) मा सामान्यतया दैनिक ज्यालामा वृद्धि हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
'सुरक्षाको पाटो त छँदै छ, घर बनाउनु भनेको जीवनभरको एउटा ठूलो सपना पनि हो। अचेल मानिसहरूमा आकर्षक र राम्रो डिजाइनका घर बनाउने चाहना पनि बढेको छ,' केसीले भने, 'यी सबै कारणहरूले गर्दा घर बनाउने लागत बढाएको हो।'
पुसदेखि वैशाखसम्म नेपालमा निर्माण कार्य बढी हुने मुख्य सिजन हो, यसबेला मौसम राम्रो हुने भएकाले निर्माणका गतिविधिहरू तीव्र रूपमा अघि बढ्छन्।
वर्षायामअघि नै सुरु हुनुअघि नै आयोजनाहरू सम्पन्न गर्न ठेकेदारहरूबीच तँछाडमछाड हुने गर्छ । त्यहीकारण यस अवधिमा इँटाको माग ९.३३ प्रतिशत, सिमेन्टको ५.०४ प्रतिशत र बालुवाको माग ३.२३ प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, केही सामग्रीको माग घटेको पनि प्रतिवेदनले औंल्याएको छ। यसले गर्दा ह्युम पाइपको मूल्य १०.०१ प्रतिशत, काठको ५.५९ प्रतिशत र टायलको मूल्य ९.०७ प्रतिशतले घटेको छ ।
