हेटौंडा–७ का जानुका र धनराज राईले घरमै गड्यौला पालन गरी मासिक ३ क्विन्टल जैविक मल उत्पादन गर्दै आएका छन्।
हेटौंडा — किसानले धान खेतीका लागि रासायनिक मलको हाहाकार बेहोरिरहेका बेला हेटौंडा उपमहानगरपालिका–७ का राई दम्पतीले घरमै गड्यौला पालन गरेर अभाव पुर्ति गर्दै आएका छन् । हेटौंडा–७ नागस्वतीको हरियाली चोकमा बस्दै आएकी जानुका राई र धनराज राईले २०६० सालदेखि गड्यौला पालन गरेर मल बनाउँदै आएका हुन् ।
जानुकाले गाउँमै तालिम लिएर जैविक मल बनाउन सुरु गरेकी हुन् । ३ हजार रुपैयाँमा एक किलो गड्यौला किनेर सुरु गरेकी उनले अहिले ५० किलो पालेर मासिक ३ क्विन्टलसम्म मल उत्पादन गर्दै आएको बताइन् । ‘१ किलो गड्यौलाले ५० किलो जति मल निकाल्ने गरेको छ । पहिले १ किलो मल बिकाउन धौधौ हुन्थ्यो । अहिले माग पूरा गर्न कठिन भएको छ,’ उनले भने ।
किसानलाई चाहिएको मात्रामा रासायनिक मल नपाउने भएकाले गड्यौला मलको माग बढ्दै गएको राई दम्पतीले सुनाए । गड्यौलाको मल प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भइरहेको छ । उनले भनिन्, ‘घरमा तरकारी उब्जाउन र अन्नपात फलाउन पनि निकै सहज भएको छ । माग बढ्दै गएकाले अब उत्पादन बढाउने गरी थप्ने तयारीमा छौं ।’
घामपानी छेक्ने एक कोठामा तयार गरिएको एक पिटमा गड्यौलाको बासस्थान बनाइएको छ । मासिक ३० डोका मल राखेर गड्यौलाको बासस्थान तयार गरिन्छ । गाइभैंसीको मलमुत्र र घरमै उपलब्ध हुने कुहिने फोहोर (चियापत्ती, तरकारीका बोक्रा, अण्डाको बोक्रा तथा पातपतिंगर)बाट मल तयार गर्छन् । उनका अनुसार गड्यौला मल उत्पादन थोरै मिहनेत गरेर धेरै लाभ लिन सकिने पेसा हो ।
गड्यौलालाई बाँच्न उचित तापक्रम चाहिने हुँदा तापक्रम जाँच गरिरहन आवश्यक हुने जानुका बताउँछिन् । गड्यौला बस्ने स्थानको तापक्रम ३६ डिग्रीसम्म हुनुपर्छ । उनका अनुसार चौपायाको मलमुत्रलाई संकलन गरेर त्यसै स्थानमा गड्यौला राखिन्छ । गड्यौलाले त्यसलाई आहाराको रुपमा खाने गर्छ र त्यही मलमुत्र गर्छ । यसरी केही समयपछि जैविक मल तयार हुन्छ । ‘उतिबेला लिएको तालिमले आत्मनिर्भर बनाउने भन्ने लागेको थिएन,’ जानुकाले भनिन्, ‘फोहोर भनेर फालिएका वस्तु नै यति उपयोगी हुन्छ भनेर मैले सोचेकी थिइन्, फोहोरबाट धेरै लाभ लिन सकिने रहेछ ।’
