कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा धान खेती हुने ७ हजार ६५६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ हजार ६१५ हेक्टर (२१.१ प्रतिशत) मा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक — पर्याप्त वर्षा नहुँदा सिन्धुपाल्चोकमा रोपाइँ सुस्त बनेको छ। कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा धान खेती हुने ७ हजार ६५६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ हजार ६१५ हेक्टर (२१.१ प्रतिशत) मा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
कार्यालय प्रमुख कुलप्रसाद दवाडीका अनुसार पर्याप्त वर्षा नहुँदा पूर्वको तातोपानीदेखि पश्चिमको हेलम्बुसम्म अधिकांश स्थानमा रोपाइँले गति लिन सकेको छैन।'जिल्लाभर धान खेती हुने ७ हजार ६५६ हेक्टर क्षेत्रमध्ये पर्याप्त वर्षा नहुँदा सीमित क्षेत्रमा मात्रै रोपाइँ भएको छ,' उनले भने ।
गत वर्ष यही अवधिसम्म करिब ४५ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष सुरुमा केही वर्षा भए पनि त्यसयता पानी नपर्दा किसानले रोपाइँ गर्न सकेका छैनन् । बलेफी गाउँपालिका–फुल्पिङकोटका अगुवा किसान कृष्ण थापाले वर्षाको अभावसँगै खेताला पाउनसमेत कठिन भएको बताए ।'रोपाइँको मुख्य समयमै पानी छैन।अब त पानीका लागि देवीदेवतासँग हारगुहार गर्नुपर्ने अवस्था आएको छ,' उनले भने । गाउँमा अधिकांश वृद्धवृद्धा मात्रै रहेकाले कामदार अभावले पनि रोपाइँ प्रभावित भएको उनको भनाइ छ ।
कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका २५, बाह्रबिसे नगरपालिकामा २५ प्रतिशत, बलेफी गाउँपालिकामा २० प्रतिशत, सुनकोसी गाउँपालिकामा ३० प्रतिशत र त्रिपुरासुन्दरी गाउँपालिकामा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । हिमाली भेग तथा इन्द्रावती र मेलम्ची करिडोरका अधिकांश क्षेत्रमा भने वर्षाको अभावका कारण रोपाइँ न्यून छ । यसअघि जिल्लामा गत वर्ष १२ हजार २३५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो।परम्परागत रूपमा भइरहेको धान खेतीलाई व्यवस्थित बनाउन ३ नगरपालिका र ९ गाउँपालिकाले सिँचाइ सुविधा विस्तारका कार्यक्रम अघि बढाइरहेका छन् ।
