निष्कृय बैंक खाता अनलाइन र जुनसुकै शाखाबाट पनि बन्द गर्न सकिने

यसअघि खाता बन्द गर्नका लागि ग्राहक खाता खुलेकै शाखामा जानुपर्ने र अनलाइनमार्फत् गर्न नसक्ने व्यवस्था छ ।

असार २८, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समयदेखि नचलाएर निष्कृय भएका बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय खाता अब अनलाइनबाट र सो बैंकको जुनसुकै शाखाबाट पनि बन्द गर्न पाइने भएको छ ।

आफ्नो जुनसुकै शाखाबाट र अनलाइन माध्यमबाट पनि निक्षेपकर्ताले निष्कृय खाता बन्द गर्न सक्ने व्यवस्था गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

यसअघि खाता बन्द गर्नका लागि ग्राहक खाता खुलेकै शाखामा जानुपर्ने र अनलाइनमार्फत् गर्न नसक्ने व्यवस्था छ । यसले ग्राहकलाई अप्ठेरो परेको भन्दै राष्ट्र बैंकले खाता बन्दको प्रक्रियालाई सरल बनाउन निर्देशन दिएको हो ।

‘बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू सम्बन्धित संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल/वेब एपमार्फत् समेत ग्राहकले सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यसरी ग्राहकले उपस्थित भई वा मोबाइल/वेब एपमार्फत खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात निजले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्नेछ ।’

बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेका निष्कृय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाई आउँदो पुससम्म लागू गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।‘बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्कृय हुनुपूर्व टेलिफोन, एसएमएस, इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले निष्कृय खाता सक्रिय गराउनका लागि कम्तीमा ६ महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरिसक्नुपर्नेछ ।’ बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहज रूपमा खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ ।

यसरी ग्राहकले उपस्थित भई खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात खातावालाले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरिदिन पनि राष्ट्र बैंकले भनेको छ । ‘बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहज रूपमा खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय भई पुनः सञ्चालन भएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणालीको विकास गर्नुपर्ने, निष्कृय खाता, सोको प्रयोग गरी हुन सक्ने कारोबार तथा वित्तीय अपराधका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न नियमित रूपमा विभिन्न सामग्री निर्माण गरी प्रसारण गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

कान्तिपुर

Link copied successfully