चालु आर्थिक वर्षको जेठसम्म २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ९ सय १७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् ।
काठमाडौँ — वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विद्युतीय जिप, कार, भ्यान तथा मोटरसाइकलको आयात उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी दुवै प्रकारका विद्युतीय सवारी साधनको आयात दोहोरो अंकले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ९ सय १७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। जसबाट १ अर्ब ९ करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९४ करोड रुपैयाँ बराबरको २ सय २२ वटा मात्र आयात भएको थियो। जसबाट ७९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यस्तै, विद्युतीय मोटरसाइकलको आयात पनि उत्साहजनक रूपमा बढेको छ। चालु आर्थिक वर्षको जेठसम्म १ अर्ब ५२ करोड १७ लाख रुपैयाँ बराबरको १० हजार ८ सय १५ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्। जसबाट ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको ५ हजार २ सय ६६ वटा विद्युतीय मोटरसाइकल आयात हुँदा २१ करोड ९८ लाख राजस्व संकलन भएको थियो ।
विद्युतीय कार डिपलका वीरगन्ज वितरक अनुप अग्रवाल पेट्रोलियम पदार्थको बढ्दो मूल्य, विद्युतीय सवारीमा सरकारी कर सहुलियत, सञ्चालन खर्च कम हुनु तथा वातावरणमैत्री प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा विद्युतीय सवारीको आयात तीव्र रूपमा बढेको बताउँछन् । पछिल्ला वर्षहरूमा चार्जिङ पूर्वाधार विस्तार हुनु र बजारमा विभिन्न कम्पनीका नयाँ मोडल उपलब्ध हुनुले पनि विद्युतीय सवारीको माग बढाउन सहयोग पुगेको उनको भनाइ छ ।
