योजना आयोगका उपाध्यक्ष भन्छन्- ‘७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्नेगरी सरकार अघि बढेको छ’

उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउन साना किसान विकास लघुवित्त वित्तीय संस्था अग्रणी संस्था भएको बताएका छन् ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

Planning Commission Vice Chairman says - 'The government has moved forward to achieve 7 percent economic growth'

काठमाडौँ — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५ आौ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउँदै सरकारले अगाडि सारेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजनाका साथ काम गरिरहेको बताए ।

वर्तमान सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई पनि सँगसँगै लिएर आर्थिक सबलीकरण कार्यक्रमलाई बढाव दिँदै जाने कुरामा सकारात्मक रहेको उनको भनाइ छ । उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्था एक अग्रणी संस्था भएको प्रतिक्रिया दिए ।

साना किसानको काम र यसको प्रभावलाई हेरेर अब साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत संस्थाका रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । वास्तविक किसानकोबीचमा पुगेर काम गर्ने र त्यो पनि सफल र सकारात्मक रुपान्तरणका लागि काम गर्ने संस्था साना किसान भएको भन्दै यसलाई विशिष्टीकृत संस्थाका रुपमा विकास गर्न सके यसको प्रभाव अझै बढाउँदै लैजान सकिने उनको तर्क थियो ।

देशको समग्र आर्थिक अवस्था सुधारमा साना किसानहरुको भूमिका महत्वपूर्ण रहने भन्दै यसतर्फ सरकारले विशेष प्रकारका कार्यक्रम अगाडि बढाउने उनले जानकारी दिए । साना किसानहरुको उत्थानबाट मात्रै देशमा गरिबी निवारण सहित आर्थिक सामाजिक रुपान्तण गर्न सकिने विषयमा वर्तमान सरकार स्पष्ट रहेको भन्दै साना किसानहरुलाई ढुक्कसँग काम गर्न अनुरोध गरे । सरकारले सरकारी, निजी र सहकारी संस्थाहरुको सबलीकरणमार्फत संस्थागत दिगोपनामा विशेष कार्यक्रम अगाडि बढाउने उनको भनाइ थियो ।

आगामी दिनमा पनि सरकारले अगाडि बढाएको आर्थिक सामाजिक रुपान्तरणका कार्यक्रम कार्यन्वयनमा साना किसान अभियान र यसमा आबद्ध संस्था एवम् सदस्यहरुले प्रतिबद्ध भएर काम गर्ने उनको भनाइ थियो ।

सरकारले साना किसान कार्यक्रमलाई दिएको साथ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष खेमबहादुर पाठकले आगामी दिनमा किसानको उत्पादनलाई बजारसंग जोड्ने कार्यक्रममा साथ दिन अनुरोध गरे । किसानले उत्पादन मात्र गरेर आर्थिक सम्पन्नता हासिल नहुने भन्दै किसानको आफ्नै बजारका लागि सकारकाले विशेष रुपमा सोच्नुपर्ने उनको माग थियो । आफूहरुले किसानको उत्पादन बिक्रिवितरणका लागि बजारको माग गरे पनि सरकारले यस बारेमा अन्तिम निर्णय लिन नसक्दा अहिलेसम्म किसानहरुले आफ्नो उत्पादन आफै बिक्रिवितरण गर्न नपाएको उनको गुनासो थियो ।  

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले संस्थाको आर्थिक तथा व्यवसायीक प्रगतिका बारेमा जानकारी गराएका थिए । उनले दिगो विकास लक्ष्य हासील गर्न कृषिमा महिला, युवा, दलित, जनजाति, राउटे, वनकरिया, पछाडि परेको समुदायलाई कृषि उत्पादनमार्फत मूलधारमा जोड्ने कार्य गरेको बताए ।

विश्व अर्थतन्त्रमा परेको प्रभावका चुनौती नेपालको अर्थतन्त्र एवम् वौक तथा वित्तीय संस्थामा समेत परेको भन्दै यसबाट माथि उठ्न साना तथा लधु उधमको प्रवर्धन महत्वपूर्ण रहने बताए ।

उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले निरन्तर रुपमा ग्रामीण अर्थतन्त्र चलायमान बनाउँदै समग्र आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकालाई अझै प्रभावकारी रुपमा अगाडि बढाउन आफुहरु निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैगरी कार्यक्रममा संस्थाका १२ वटा शाखा कार्यालयमध्ये उत्कृष्ट शाखा कार्यालयका रुपमा शाखा कार्यालय नेपालगन्ज, राष्ट्रियस्तरमा सर्वोत्कृष्ट संस्था साना किसान कृषि सहकारी संस्था खैरहनी चितवन, साझेदार लघुवित्ततर्फ डिप्रोक्स लघुवित्त तथा कृषि बाहेकका साझेदार संस्थाबाट सिम्रिक बचत तथा ऋण सहकारी संस्था र काठमाडौं शाखा कार्यालयबाट अनैकोट काभ्रेपलाञ्चोकलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

कान्तिपुर

Link copied successfully