नेपाल वायुसेवा निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनका अनुसार जहाजको ककपिट भ्वाइस रेकर्डरमा प्राविधिक समस्या देखिएको छ ।
What you should know
काठमाडौं — भारतको नयाँ दिल्ली पुगेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा प्राविधिक समस्या देखिएपछि उतै रोकिएको छ । जहाजले सोमबार १३३ यात्रु लिएर काठमाडौं फर्किनु पर्ने भए पनि उडान हुन सकेन ।
निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनका अनुसार जहाजको ककपिट भ्वाइस रेकर्डरमा प्राविधिक समस्या देखिएको छ ।
'जहाजको ककपिट भ्वाइस रेकर्डरमा समस्या देखिएको छ । त्यसको मर्मत सम्भार वा पार्ट्स प्रतिस्थापनबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ,' पुनले भने।
निगमका अनुसार दिल्लीमा जहाजमा सामान्य प्राविधिक समस्या आएपछि एयर इन्डियाको प्राविधिक टोलीले मर्मत सम्भार गर्ने सम्झौता छ । सोहीअनुसार अहिले एयर इन्डियाका प्राविधिकसँग मिलेर सीभीआरको स्पेयर पार्ट्स परिवर्तन गरेर समस्या समाधान हुने वा पूरै युनिट नै प्रतिस्थापन गर्नुपर्ने भन्नेबारे प्राविधिक छलफल भइरहेको छ ।
उक्त जहाज सोमबार आरए–२१७ उडानमार्फत काठमाडौंबाट दिल्ली पुगेको थियो । जहाजले आरए–२१८ उडानमार्फत १३३ यात्रु लिएर काठमाडौं फर्किनु पर्ने तालिका थियो ।
जहाज दिल्लीमै रोकिएपछि मंगलबार बिहान काठमाडौं–दिल्लीका लागि तय गरिएको सोही जहाजको उडान प्रभावित हुनसक्ने निगमले जनाएको छ ।
यात्रुको व्यवस्थापन कसरी गर्ने भन्नेबारे भने निगमले निर्णय गरिसकेको छैन । निगमका एक निर्देशकका अनुसार वैकल्पिक जहाज परिचालन गर्ने वा यात्रुलाई अन्य व्यवस्था गर्ने विषयमा छलफल भइरहेको छ ।
हाल नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन् । तीमध्ये एउटा वाइडबडी जहाज काठमाडौंमै मर्मतका लागि ग्राउन्डेड रहेकाले निगमको अन्तर्राष्ट्रिय उडान व्यवस्थापनमा थप दबाब परेको छ ।
