अर्थतन्त्रका १८ ओटा औद्योगिक वर्गीकरणमध्ये ११ वटाको वृद्धिदर मात्र धनात्मक छ भने सात वटा क्षेत्रको ऋणात्मक रहेको कार्यालयको प्रक्षेपण छ ।
काठमाडौँ — चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.५१ प्रतिशत आर्थिक वृद्धिदर हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको त्रैमासिक लेखा तथ्यांकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा साढे तीन प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।
सो अवधिमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा शुल्क संकलन, व्यापार सेवालगायतका क्रियाकलापमा भएको वृद्धिका कारण साढे ३ प्रतिशतको आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ ।
‘तेस्रो त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १६ वटा क्षेत्रको वृद्धिदर धनात्मक रहेको छ । सो अवधिमा सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको छ,’ त्रैमासिक प्रतिवेदनमा भनिएको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्माण सामाग्रीको आयात, धान वालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिएको जनाइएको छ ।
तर, आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको तुलनामा यही आर्थिक वर्षको तेस्रो त्रैमासमा ०.५८ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने कार्यालयले जनाएको छ । अर्थतन्त्रका १८ ओटा औद्योगिक वर्गीकरणमध्ये ११ वटाको वृद्धिदर मात्र धनात्मक छ भने सात वटा क्षेत्रको ऋणात्मक रहेको कार्यालयको प्रक्षेपण छ ।
