पानी नपर्नु, सिंचाई सुविधाको अभाव, खोलामा पानीको स्रोत नबढ्दा खेतमा धान रोपाइँ हुन नसकेको हो ।
What you should know
पाल्पा — असार तेस्रो साता बित्नै लाग्दा समेत पाल्पाका ६० प्रतिशत खेत बाझै छन् । पानी नपर्नु, सिँचाइ सुविधाको अभाव, खोलामा पानीको स्रोत नबढ्दा खेतमा धान रोपाइँ हुन नसकेको हो ।
रातिमा पर्ने आकाशको पानीको भल छोपेर खेत रोप्नु पर्ने बाध्यता रहेको छ । खेतमा लगाएको मकै पाकेर आली कुना गरी राखेका गाह्रा सिँचाइ कुलो नहुँदा पानीको अभावले खेत रोपाइँ गर्न नसकेको रम्भा गाउँपालिका–१ हुँगीका किसान रमेश रानाभाटले बताए । ‘पानी नपरेपछि खोलानाला सुकेका छन्,’ उनले भने, ‘मुल सुकेका छन् । बेलामा खेत रोप्न पाइएको छैन ।’
सिँचाइको समस्या खेप्दै आएका किसानले समयमा पानी नपर्दा थप समस्या खेप्नु परेको गुनासो गरेका छन् । पाल्पाका अधिकांश भू–भाग आकासेपानीको भरमा मात्र धान रोपाइँ हुन्छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार पाल्पामा ७ हजार २८७ हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गर्छ ।
अहिलेसम्म २ हजार ९५१ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो तथ्यांकले ४० प्रतिशत मात्र रोपाइँ सकिएको पुष्टि गर्छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा असार तेस्रो सातासम्म ३७.३३ प्रतिशत रोपाइँ भएको बाली संरक्षण निर्देशक कामना अधिकारीले जानकारी दिइन् । प्रदेशमै सबैभन्दा धेरै तराईको नवलपरासीमा ७० प्रतिशत र पहाडी जिल्लाअन्तर्गत प्युठानमा ९० प्रतिशत रोपाइँ भएको छ ।
पाल्पामा रामपुर नगरपालिका क्षेत्र, कालीगण्डकी तटीय क्षेत्र, अर्गली, कचल, माडीफाँट, झडेवा, दोभान, पूर्वखोला, अरुणखोला लगायतका स्थानमा धानखेती हुने फाँट हुन् । धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत खेतमा खोला तथा नदीको सिंचाइ सुविधा छैन । आकासे पानीको भरमा धानखेती हुने खोला किनारभन्दा माथिल्ला बस्तीहरूमा समयमा पानी नपर्ने हो भने खेत रोप्न नपाउने समस्या रहेको रम्भा गाउँपालिका–१, कै अर्का किसान खेमराज रानाभाटले बताए ।
यसवर्ष पनि समयमा पानी नपर्दा साउनमा मात्रै धान लगाउन सकिने उनले बताए । तर जिल्लाभर वर्षेनि २० करोडभन्दा बढी बजेट सिंचाइको क्षेत्रमा लगानी हुन्छ । त्यसको सही सदुपयोग हुन नसक्दा किसान जहिलेसुकै मर्कामा पर्ने गरेको बगनासकाली गाउँपालिका–१, का किसान दीपक ढुंगानाले बताए ।
किसानले यसवर्ष असार दोस्रो साता बित्दासमेत अन्नको भण्डार तथा फाँटहरूमा रोपाइँ गर्न पाउने अवस्था छैन । आकाशबाट पानी नपर्ने र सिंचाइ कुलोको व्यवस्था नहुँदा मर्कामा परेको उनले बताए । खेतको तल्लो भागमा खोला र नदी बगे पनि सिंचाइ सुविधा नहुँदा खेत रोप्न पाउने अवस्था छैन । ढिला गरी रोपाइँ हुदा धान उत्पादनसमेत राम्रो नहुने किसानको गुनासो छ । आकासे पानी र भलपानी छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता रहँदै आएको रामपुर नगरपालिका–८, का किसान कृष्णा मल्लले बताइन् ।
धान रोपेपछि पनि पानी परेन भने रोपेका खेतमा धाजा फाट्ने हुन्छ । टारी खेत भएका किसानको पक्षमा बोलिदिने कोही छैन । सिंचाइका योजना टाठाबाठाको हातमा पर्दै आएको गुनासो किसानको छ । ‘धेरै वर्षअघि निर्माण भएका कुलासमेत अहिले जीर्ण भएका छन्,’ उनले भनिन्, ‘मर्मतका लागि गुहार गरे पनि पर्याप्त बजेट पाउन सकिएको छैन ।’
जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले साना तथा ठूला सिंचाइमा वर्षेनि कम्तीमा २५ करोड बढी खर्च गर्छन् । तर हरेक वर्ष किसानले वर्षायाममा आकासमा बादल हेरेर खेती गर्नुपर्ने बाध्यता रहेको छ । किसानका लागि योजना पहुँचका आधारमा हुन्छ भने काम पूरा हुन सक्दैन । पानी जम्ने ढावतिरका केही गराहरूमा रोपाइँ भए पनि खोला र खोल्साको पानी लाग्ने धेरै खेत आकासेपानी नपर्दासम्म बाँझै राख्नुपर्ने बाध्यता भएको रामपुर नगरपालिका–६ का किसान केशबहादुर रानाले बताए ।
जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन, सिँचाइ आयोजना मर्मत सुधार विस्तार कार्यक्रम, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रम, जलाशय निर्माण तथा पोखरी संरक्षणलगायतका कार्य प्रदेश सरकारअन्तर्गत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत वर्षेनि हुँदै आएको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख सुबोध गुरागाइँले बताए ।
जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत गत आर्थिक वर्षमा १७ करोड ६१ लाख खर्च भएको छ । जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाबाट झन्डै १० करोड बजेट सिचाई कुलो निर्माण तथा मर्मतमा खर्च हुँदै आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रले तथ्यांक उपलब्ध गराएनन् । पाल्पामा कुल खेतीयोग्य जमीनको क्षेत्रफल ५७ हजार हेक्टर रहेको छ । ३६ हजार ५ सय हेक्टरमा खेती हुँदै आएको छ । कुल सिंचित क्षेत्रफल भने ३ हजार ४७७ हेक्टर रहेको छ ।
