भत्किएको बीपी राजमार्गमा खोलाबाट आठ मिटर अग्लो वाल

बर्खालाई दृष्टिगत गर्दै १५ असारबाट नयाँ ट्र्याकमा सवारी चलाउने भनिए पनि समस्या आइनसकेकाले खोलाको डाइभर्सनबाटै चलिरहेछन् गाडी ।

असार २१, २०८३

विमल खतिवडा

An eight-meter-high wall rises from the river on the collapsed BP Highway

What you should know

काठमाडौँ — असोज २०८१ को बाढीले क्षति गरेको बीपी राजमार्ग अझै तयार भइसकेको छैन । बाढीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट ८ मिटरसम्म अग्लो उचाइमा वाल उठाएर सडक बनाइँदै छ । 

सडक डिभिजन कार्यालय भक्तपुरले बर्खालाई ध्यानमा राखेर १५ असारबाट नयाँ ट्र्याकमा सवारीसाधन चलाउने तयारी गरेको थियो । उक्त समयमा बर्खा सुरु भइसक्ने अनुमानका आधारमा सवारी आवागमन नरोक्ने गरी नयाँ ट्र्याक खोल्ने तयारी गरिए पनि बाढीको समस्या नभएकाले खोलाकै डाइभर्सनबाट सवारी चलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । 

‘नयाँ ट्र्याकबाट चलाउन कुनै समस्या छैन, अहिले बाढीको समस्या आइनसकेकाले खोलाकै डाइभर्सनबाट सवारीसाधन चलिरहेका छन्,’ योगेशले भने, ‘बाढीले समस्या नगर्दासम्म नयाँ ट्र्याक बनाउने काम जारी रहन्छ ।’ लगातार पानी परिरहँदा मात्र समस्या हुने उनले सुनाए । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाउने खण्डमा भने अझै काम सुरु भइसकेको छैन । जाइकाले पिप्ले–बर्खेखोला खण्डको ३.२ किमि सडक दुई लेनको बनाउने गरी शिलान्यास भइसकेको छ । बर्खापछि मात्र यस खण्डमा काम हुने सडक डिभिजन भक्तपुरका प्रमुख योगेशले बताए । जापानको २ अर्ब ६० करोड रुपैयाँ अनुदानमा उक्त सडक निर्माण गर्न लागिएको हो । यसअनुसार मंसिर २०८४ सम्म यसको निर्माण सकिसक्नुपर्नेछ । निर्माणको ठेक्का जापानी कम्पनी सिमिजु कर्पोरेसनले लिएको हो ।

यस खण्डमा बर्खालाई ध्यानमा राखेर खोला किनारमा ठूला ढुंगा राखेर त्यसमाथि ग्राभेल गरी सडक निर्माण गरिँदै छ । ठाउँ–ठाउँमा मेसिनको व्यवस्था गरिएको छ । बाढीले समस्या गरे तत्काल सवारी सञ्चालन गर्न मिल्ने गरी मेसिन राखिएको प्रमुख योगेशले बताए ।

‘जाइकाले बनाउने खण्डमा स्थायी संरचना निर्माण थालिएको छैन, त्यहाँ बाढीले समस्या गर्न सक्छ,’ उनले भने, ‘छोटो दूरी हो, बाढीले समस्या गरे तत्काल काम गर्न मिल्ने गरी मेसिनको व्यवस्था गरिसकेका छौं ।’ अहिले स्थायी रूपमा सडक निर्माणको काम भइरहेको छ । यसअघिको बाढीले गरेको क्षतिलाई ध्यानमा राखेर थप दिगो सडक निर्माणको काम भइरहेको उनले जनाए । 

अहिले आरसीसी, प्लम कंक्रिट र मेसिनरी वाल निर्माण भइरहेको योगेशको भनाइ छ । ड्रेन र कल्भर्ट बनाउने काम पनि भएको उनले सुनाए । अहिले बीपी राजमार्गअन्तर्गत कटुन्जे घुमाउने, चौकीडाँडा, नार्के, डालाबेसी, पीप्ले, चिउरीवास र मंगलटार खण्डमा सडक निर्माणको काम भइरहेको छ । 

‘खोलाको तहबाट ८ मिटरको उचाइमा सडक बनाउनु छ, साढे तीन मिटर उचाइसम्ममा गाडी चलाउँदा बाढीले समस्या गर्दैन भनेर सडक तयार गरिसकेका छौं,’ योगेशले भने, ‘समस्या नपर्दासम्म बर्खामा पनि काम नरोक्ने हो, काम भइरहन्छ, बाढीले समस्या गरेमा काम रोकेर नयाँ ट्र्याकमा सवारीसाधन चलाउँछौं ।’ 

अहिलेलाई यो सडक ग्राभेल तहको मात्र बन्छ । बाढीअघि राजमार्ग रोशी खोलाको किनारैकिनार निर्माण गरिएको थियो, जसले गर्दा बाढीले सबैभन्दा बढी क्षति यही राजमार्गमा भएको थियो । नयाँ ट्र्याकमा आगामी आर्थिक वर्षमा बर्खाअघि नै कालोपत्रको काम गरिसक्ने योगेशको दाबी छ । राजमार्गमा निर्माण गर्न बाँकी रहेका पक्की पुल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा सुरु हुने उनले सुनाए । सिन्धुली खण्डमा पनि बर्खामा सवारीसाधन चलाउन मिल्ने गरी सडक तयार भएको छ । केही खण्डमा काम भइरहे पनि बाढीले समस्या गरे तत्काल सवारीसाधन चलाउने व्यवस्था गरिने सडक डिभिजन, खाल्टे, सिन्धुलीले जनाएको छ । 

उक्त राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा क्षति गरेको हो । काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १ गरी ४ प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो । दुई लेनमा निर्माण भइरहेको राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले लिएको छ । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीले ठेक्का लिएर काम गरिरहेको छ । दुवै ठेक्काको सम्झौता असार २०८२ मा भएको हो । 

पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग कात्तिक २०८२ मा सम्झौता भएको हो । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । सबै खण्डको काम सम्झौताअनुसार २ वर्षभित्र सक्नुपर्नेछ । 

पूर्वी तराई जोड्ने यस राजमार्ग भएर दैनिक ३ हजारदेखि ४ हजारसम्म सवारीसाधन ओहोरदोहोर गर्छन् । दसैंमा भने दिनहुँ सात हजारभन्दा बढी सवारी ओहोरदोहोर गर्छन् । बाढीले खोलाको डाइभर्सन बगाएपछि त्यसलाई बनाएर सवारी चलाउने काम भने सम्बन्धित खण्डमा ठेक्का लिने निर्माण व्यवसायीहरूले गर्दै आएका छन् । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully