मौद्रिक नीतिसँगै दोस्रो चरणको वित्तीय सुधार गर्न महासंघको सुझाव

शुक्रबार राष्ट्र बैंकलाई सुझाव दिने क्रममा महासंघले अब केवल ब्याजदर परिवर्तन गर्ने नीतिले पर्याप्त परिणाम नदिने भएकाले दोस्रो चरणको वित्तीय सुधार अत्यावश्यक रहेको बताएका हुन् ।

असार १९, २०८३

यज्ञ बञ्जाडे

Federation suggests second phase of fiscal reform along with monetary policy

What you should know

काठमाडौँ — आगामी आर्थिक वर्षको मौद्रिक नीतिसँगै दोस्रो चरणको वित्तीय सुधार आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघले सुझाव दिएको छ । शुक्रबार राष्ट्र बैंकलाई सुझाव दिने क्रममा महासंघले अब केवल ब्याजदर परिवर्तन गर्ने नीतिले पर्याप्त परिणाम नदिने भएकाले दोस्रो चरणको वित्तीय सुधार अत्यावश्यक रहेको बताएका हुन् ।

महासंघले बैंकिङ क्षेत्रको पुनःपुँजीकरण, निष्क्रिय सम्पत्ति व्यवस्थापन, दीर्घकालीन पुँजी बजारको विकास, जोखिम साझेदारी संयन्त्र तथा उत्पादनशील क्षेत्रलाई लक्षित वित्तीय उपकरणहरूको विकासलाई समेट्ने दोस्रो पुस्ताको वित्तीय सुधार आवश्यक रहेको बताएका हो ।

राष्ट्र बैंकले कर्जा विस्तारलाई गति दिन चाहन्छ भने ब्याजदरभन्दा बढी पुाजी पर्याप्तता, प्रोभिजनिङ व्यवस्थामा यथार्थपरक लचकता तथा पूाजीगत राहतका उपायहरूमा ध्यान दिन आवश्यक रहेको महासंघले बताएको छ ।

बैंकहरूको निष्क्रिय सम्पत्ति व्यवस्थापनका लागि अब ठोस निर्णय आवश्यक रहेको महासंघको सुझाव छ । बैंकहरूको स्वामित्वमा रहेका अर्बौं रुपैयाँ बराबरका जफत तथा निष्क्रिय सम्पत्तिहरू उत्पादनशील अर्थतन्त्रबाट बाहिर थन्किएका छन् । यस्ता सम्पत्तिलाई बिक्री, भाडा, लिज वा सम्पत्ति व्यवस्थापन कम्पनीमार्फत पुनः अर्थतन्त्रमा परिचालन गर्न सकिए बैंकहरूको कर्जा क्षमता उल्लेखनीय रूपमा बढ्न सक्ने महासंघको ठहर छ । यो विषय धेरै वर्षदेखि छलफलमा छ, अब कार्यान्वयनको चरणमा लैजानु आवश्यक रहेको महासंघले जनाएको छ ।

यस्तै, चालु पुँजी कर्जासम्बन्धी व्यवस्थालाई व्यवसायको प्रकृतिअनुसार लचिलो बनाइनुपर्ने महासंघको सुझाव छ । निर्माण, पर्यटन, उत्पादन तथा मौसमी व्यवसायहरूको नगद प्रवाह फरक–फरक हुन्छ । त्यसैले कार्यशील पुँजीसम्बन्धी मापदण्ड सबै क्षेत्रमा एउटै ढाँचामा लागू गर्नु व्यवहारिक हुँदैन । बैंक र व्यवसायीबीचको व्यावसायिक मूल्यांकनका आधारमा कर्जाको संरचना निर्धारण गर्न सक्ने लचकता कायम गरिनुपर्छ, जसले उत्पादनशील क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने महासंघको ठहर छ ।

अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिको संक्रमणलाई ध्यानमा राख्दै निर्यातमुखी उद्योगका लागि विशेष वित्तीय व्यवस्था आवश्यक रहेको महासंघले जनाएको छ ।

नेपाल निकट भविष्यमै विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ । त्यसपछि नेपालले अहिले पाइरहेका धेरै व्यापारिक सहुलियतहरू क्रमशः गुमाउनेछ । यस्तो अवस्थामा निर्यातमुखी लघु, घरेलु तथा महिला उद्यमहरूका लागि सहुलियतपूर्ण पुनर्कर्जा, लक्षित कर्जा सुविधा तथा जोखिम साझेदारीका कार्यक्रमहरू विलासिता होइन, प्रतिस्पर्धात्मक क्षमता जोगाउने संक्रमणकालीन आवश्यक रहेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेको मुख्य चुनौती ब्याजदर होइन, लगानीको माग र पुँजी परिचालन भएको महासंघले जनाएको छ । राष्ट्र बैंकले नीतिगत दर, एसडीएफ तथा एसएलएफ दर घटाइसकेको छ, निक्षेपको ब्याजदर पनि ऐतिहासिक रूपमा न्यून तहमा पुगेको छ । तर त्यसका बाबजुद कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन, बैंकिङ प्रणालीमा ठूलो परिमाणमा तरलता निष्क्रिय रूपमा थन्किएको छ । त्यसैले अब निजी क्षेत्रको मुख्य माग थप ब्याजदर घटाउने होइन, बरु मौद्रिक नीतिको प्रभाव वास्तविक अर्थतन्त्रसम्म पुग्ने संयन्त्र सुदृढ बनाउने र बैंकहरूको कर्जा प्रवाह क्षमता पुनःस्थापित गर्नेपर्ने महासंघले सुझाव दिएको छ ।

अहिले बैंकहरूले कर्जा दिन नचाहेका होइनन्, कर्जा विस्तार गर्न आवश्यक पुँजीगत क्षमता सीमित हुँदै गएको छ । धेरै बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटल अनुपात नियामकीय न्यूनतम सीमाको नजिक पुगेको छ । यस्तो अवस्थामा कर्जाको माग रहे पनि अतिरिक्त कर्जा प्रवाह गर्दा नियामकीय सीमा उल्लंघन हुने जोखिम रहने महासंघको ठहर छ ।

यी हुन् महासंघले मौद्रिक नीतिमा दिएका मुख्य सुझाव :

–  निजी क्षेत्रको माग वित्तीय अनुशासन कमजोर बनाउने होइन, संरचनात्मक सुधारमार्फत कर्जा प्रवाह सहज बनाउनुपर्ने ।

–  महासंघको धारणा स्पष्ट छ—हामी वित्तीय स्थायित्वसँग कुनै सम्झौता गर्न चाहँदैनौं । निक्षेपको ब्याजदरलाई अझ कृत्रिम रूपमा घटाउँदा बचत निरुत्साहित हुने तथा पुँजी बाहिरिने जोखिम रहन्छ ।

–  उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउने गरी लक्षित वित्तीय साधनहरू विस्तार गरिनुपर्छ ।

– मौद्रिक नीतिको सफलता ब्याजदरले होइन, बैंकिङ प्रणालीको विश्वास पुनःस्थापना, उत्पादनशील क्षेत्रमा पुँजी परिचालन र निजी क्षेत्रको लगानी पुनर्जीवनबाट मापन हुनुपर्छ ।

–  आर्थिक मन्दीका कारण समस्यामा परेका उद्योगहरूको कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुअघि पुनर्संरचना र पुनर्तालिकीकरणसम्बन्धी व्यवस्था थप सहज र लचिलो बनाइनुपर्ने ।

– कम्पनीले कर्जा लिँदा सबै लगानीकर्ता र तिनका परिवारका एक–एक सदस्यको समेत व्यक्तिगत जमानी लिने प्रावधानलाई लचिलो बनाई पुनरावलोकन गरिनुपर्ने ।

– बैंक तथा वित्तीय संस्थाले मात्र विदेशबाट ऋण लिन पाउने व्यवस्था संशोधन गरी निजी क्षेत्रका व्यवसायीहरूले समेत ऋण लिन पाउने व्यवस्था गरिनुपर्ने ।

– कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विद्यमान व्यवस्थाहरूलाई लचिलो बनाइनुपर्ने । कम्पनीले कर्जा लिनु पर्दा सबै लगानीकर्ता र तिनका परिवारका सबै सदस्यहरुको समेत व्यक्तिगत ग्यारेन्टी लिने प्रावधानलाई लचिलो बनाई पुनरावलोकन गरिनु पर्ने ।

– उत्पादनमूलक उद्योग र सामान्य व्यवसायबीच स्पष्ट नीतिगत भिन्नता हुनुपर्ने । स्वदेशी कच्चा पदार्थमा आधारित र उत्पादनमूलक उद्योगहरूलाई रिस्क प्रिमियममा सहुलियत दिई ब्याजदर १ प्रतिशतभन्दा बढी फरक (कम) हुने गरी कायम गरिनुपर्ने ।

– वित्तीय पहुँचका लागि फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्ने व्यवस्था ठूला उद्योगमा पनि लागू गरिनुपर्ने । कृषिजन्य उद्योगलाई प्राथमिकता प्राप्त क्षेत्रमा वर्गीकरण गरी सहुलियत ब्याजदर, पुनर्कर्जा र निश्चित अवधिको (ग्रेस अवधि) दिइनुपर्ने ।

– आयात प्रतिस्थापन गरी औद्योगिकीकरण बढाउन एसेम्बली उद्योग  स्थापना तथा विस्तारका लागि आवश्यक नीतिगत र वित्तीय सुविधा उपलब्ध गराइने ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully