दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरिने विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ —
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातमा दुई प्रतिशतले भाडा घटाएको छ ।
तत्कालीन समयमा पूर्ण रुपमा बढ्नुपर्ने भाडादर नबढेका कारण र हाल पेट्रोलिम पदार्थमा भएको समायोजनलाई मध्यनजर गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनमा बिहीबारदेखि लागू हुनेगरी २ प्रतिशतले भाडा घट्नेगरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरिने विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘अन्तर प्रदेश सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजारमूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली हो,’ विज्ञप्तिमा भनिएको छ, ‘जसअनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्थाअनुरूप पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २ सय ३५ रुपैयाँ ८३ पैसाबाट १७ असारमा घट्न गई प्रतिलिटर औसत बजार मूल्य १ सय ९३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।’
विभागका अनुसार तत्कालीन अवस्थामा यात्रुवाहक, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा क्रमशः ९.८, १२.९ र १४.३ प्रतिशत बढ्नुपर्नेमा तत्कालीन समयको विषम परिस्थितिलाई मध्यनजर राख्दै मन्त्रिपरिषद्को १२ वैशाखको निर्णयानुसार सबै प्रकारका सवारी साधनको भाडादर ५ प्रतिशतले वृद्धि गरिएको थियो ।
