संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले भने : भेन्टिलेटरमा रहेको नेपाल वायुसेवा निगमलाई कम्तीमा यो वर्ष वार्डसम्म सारौँ, अर्को वर्ष घर लैजाउँला । संस्था बिरामी छ साथीहरू ।
What you should know
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम गम्भीर आर्थिक र व्यवस्थापकीय संकटमा सुतेको भन्दै यसलाई 'भेन्टिलेटर' बाट कम्तिमा 'वार्ड' सम्म सार्नुपर्ने बताउएका छन ।
निगमको ६८ औँ वार्षिकोत्सवका अवसरमा निगम मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पौडेलले निगम सुधारका लागि कडा कदम चाल्ने चेतावनी समेत दिए । निगमको वर्तमान अवस्थाप्रति आक्रामक रूपमा प्रस्तुत भएका मन्त्रीले अब पनि सुधार नभए काम नगर्ने कर्मचारीहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले आफ्नो कार्यकालमा निगमभित्र राजनीतिक नियुक्ति, सरुवा-बढुवा वा अन्य कुनै पनि काममा दबाब नदिने घोषणा गरे । 'मेरो कारणले कुनै पनि कुरामा हस्तक्षेप हुन्न। चाहिँदो-नचाहिँदो कोही पनि मान्छेलाई म जागिर लगाइदिनुस् भन्दिनँ,' पर्यटनमन्त्रीले भने, 'तलदेखि माथिसम्म यो मन्त्रीले भर्ती गरेको मान्छे भन्ने सुन्न आयो भने मलाई आएर झुन्ड्याइदिए हुन्छ।' निगमको सञ्चालक समितिले राष्ट्रिय हितमा केन्द्रित भएसम्म आफूले कुनै पनि निर्णयमा 'टाङ नअड्काउने' र समिति पूर्णतया स्वायत्त र स्वतन्त्र रहने प्रतिबद्धता व्यक्त गरे ।
विगतका राजनीतिक हस्तक्षेप र क्षमताविहीन मानिसहरूको भर्तीका कारण निगम यो अवस्थामा पुगेको मन्त्रीको भनाइ थियो। निगमलाई राजनीतिक 'भर्ती केन्द्र' बनाउने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले भने, 'भेन्टिलेटरमा रहेको नेपाल वायुसेवा निगमलाई कम्तीमा यो वर्ष वार्डसम्म सारौँ, अर्को वर्ष घर लैजाउँला । संस्था बिरामी छ साथीहरू ।'
विगतका धमिजा प्रवृत्तिका काण्ड र अकर्मण्यताका कारण निगम ५६ अर्बभन्दा बढीको दायित्व (ऋण) मा डुबेको उल्लेख गर्दै उनले १० प्रतिशत ब्याजमा ऋण लिएर ३ प्रतिशत मात्र नाफा कमाउने संस्था कसरी चल्छ भन्दै प्रश्न गरे । 'पैसा पायो भन्दैमा ऋणको ठूलो भारी बोक्नु अदूरदर्शी निर्णय थियो, अब यसको सही व्यवस्थापन आवश्यक छ,' उनले भने ।
सहयोगी सरकार र सहज वातावरण पाउँदा पनि निगमले प्रगति गर्न नसके सबै कर्मचारीहरू घर तिर हिँड्नुपर्ने मन्त्रीको चेतावनी थियो। 'यो ठाउँ जागिर खान वा जागिर पचाउन ठाउँ होइन। अप्ठ्यारो अवस्थालाई पार लगाउन सक्ने नै असली लिडर हो," उनले भने, 'यदि यो सहजतामा पनि काम गर्न सकिँदैन भने राजीनामा दिए हुन्छ।'
मन्त्रीले संस्थाभित्र खुट्टा तान्ने र कुरा काट्ने प्रवृत्ति त्यागेर एकताबद्ध काम गर्न सबैलाइ आग्रह गरे । इमानदार, नैतिकवान र जिम्मेवार कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले ध्यान दिने तर नातावाद, कृपावाद र अनियमितता गर्नेहरूलाई कडा कारबाही गरिने उनले बताए । निगममा भ्रष्टाचार वा अनियमितताको गन्ध आएमा आफू दृढतापूर्वक अवरोधका रूपमा खडा हुने चेतावनी दिँदै मन्त्रीले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबैलाई इमानदार बन्न अपिल गरे ।
१२ सय कर्मचारी भएको निगमसँग हाल ४ वटा आधुनिक जेट विमान छन्। तीमध्ये दुईवटा एयरबस ए३३० र दुईवटा वाइडबडी एयरबस ए३३० विमान सञ्चालनमा छन्। यी विमानबाट निगमले ११ अन्तर्राष्ट्रिय गन्तव्य मा उडान सञ्चालन गरिरहेको छ । आन्तरिक उडानमा निगमसँग दुइटा टुइनअटर विमान छन । यिनले देशभरका दुर्गम १७ स्थानमा उडान गर्छन । तर नियमित छैन । आन्तरिक बजारमा निगमको हिस्सा ३ प्रतिशत हाराहारी छ ।
