प्रस्तावित जलस्रोत विधेयकको केन्द्रमा आयोग

जलस्रोतको बहुआयामिक उपयोग संरक्षण, दिगो विकास, अन्तरपुस्ता न्याय र जलजन्य विपद् न्यूनीकरणलाई प्राथमिकता दिएको सरकारको स्पष्टोक्ति।

असार १७, २०८३

सीमा तामाङ

Commission at the center of proposed water resources bill

What you should know

काठमाडौँ — प्रस्तावित जलस्रोत विधेयक २०८३ मा सिँचाइ र विद्युत् क्षेत्रमा संघ, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र बाँडफाँटदेखि जलस्रोतको उपयोग र बाँधको सुरक्षासम्म समेटिएको छ । जलस्रोत ऐन, २०४९ संशोधनसहित लागू भइरहेको अवस्थामा गठन आदेशबाट गठित जल तथा ऊर्जा आयोगलाई समेत ऐनमार्फत समेट्ने गरी विधेयकमा प्रस्ताव गरिएको हो । 

प्रस्तावित विधेयकमा जलस्रोतको उपयोग र उपलब्धताको विवरण (वाटर एकाउन्टिङ) र जलस्रोत परीक्षणको व्यवस्थासमेत गरिएको छ । प्रस्तावित विधेयकको दफा १४ मा जलस्रोतको उपयोग र उपलब्धताको विवरण (वाटर एकाउन्टिङ) को व्यवस्था छ । सोही दफाको उपदफा १ मा आयोगले प्रत्येक नदी बेसिनमा उपलब्ध जलस्रोत र त्यसको उपयोग सम्बन्धमा विवरण राख्नुपर्ने, उपदफा २ मा सतह र भूमिगत जलस्रोत, आकाशेपानी वा अन्य जलस्रोत, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यावरण कायम राख्न उपयोग भएको जलस्रोत, खानेपानी, सिँचाइ, जलविद्युत्लगायत अन्य विभिन्न प्रयोजनका लागि उपयोग भएको जलस्रोतका आधारमा विवरण राख्नुपर्ने उल्लेख छ । 

विधेयकको दफा १५ मा जलस्रोत उपयोगको मापदण्ड र दफा १६ मा जलस्रोत उपयोगबारे व्यवस्था गरिएको छ । दफा १६ को उपदफा १ मा संघ सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आआफ्नो क्षेत्राधिकारभित्र रही जलस्रोतको उपयोग गर्न र प्रचलित कानुनबमोजिम उपयोगका लागि अनुमति दिन सक्ने उल्लेख छ । सोही दफाको उपदफा २ मा कुनै व्यक्ति, संस्था वा निकायलाई जलस्रोतको उपयोग गर्न अनुमति प्रदान गर्नुअघि आयोगसँग सहमति लिनुपर्ने उल्लेख छ । संविधानले तीन तहको सरकार बनाए पनि आयोगसँग सहमति लिनुपर्ने विषय राखेर अधिकार केन्द्रीकृत नै गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष प्रकाशचन्द्र दुलालले बताए ।

प्रस्तावित विधेयकको दफा २३ मा जलस्रोत संरक्षणको व्यवस्था छ । उक्त दफाको उपदफा १ को ‘क’ मा कुनै नदी वा खोलामा निर्मित आयोजनाको बाँधभन्दा तल्लो भागमा नदीको न्यूनतम बहावको कम्तीमा १५ प्रतिशत वा वातावरणीय अध्ययन प्रतिवेदनले सिफारिस गरेको बहावमध्ये जुन बढी हुन्छ, त्यस परिमाणको वातावरणीय जलप्रवाह बाह्रै महिना अविरल रूपमा प्रवाहित हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

२०४९ को दफा ४ को उपदफा ३ मा जलस्रोत उपयोग गर्ने व्यक्ति वा संस्थाले अरूलाई मर्का नपर्ने गरी लाभदायक उपयोग गर्नुपर्ने उल्लेख थियो । जलविद्युत् विकास नीति, २०५८ को ६.१.१ अनुसार नदी, खोलाको न्यूनतम मासिक औसत बहावको कम्तीमा १० प्रतिशत वा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनबाट देखिएको न्यूनतम आवश्यक मात्राको पानी नदी, खोलामा छोड्ने व्यवस्था मिलाइने उल्लेख छ । पहिला १० प्रतिशत रहेकामा अहिले १५ प्रतिशत बनाएर सरकारले निजी क्षेत्रलाई अप्ठ्यारोमा पारेको दुलालको भनाइ छ । 

‘१५ प्रतिशत वा वातावरणीय अध्ययन प्रतिवेदनले सिफारिस गरेको जुन बढी हुन्छ, त्यही भनेको छ । यसले हाम्रो आयोजनाको क्षमतामा असर पार्छ, उत्पादन क्षमता घट्छ,’ दुलालले भने, ‘लगानी गरिसकेका आयोजनालाई समस्या पार्छ । सरकारले पुरानो कानुनबमोजिम काम गरिरहेकालाई प्रभाव पार्ने गरी ल्याइएको छ ।’

प्रस्तावित विधेयकको परिच्छेद ९ मा बाँधको वर्गीकरण, सुरक्षा र संरक्षणबारे उल्लेख छ । उक्त विधेयकको दफा ३० मा सरकारले आयोगको सिफारिसमा बाँधको क्षमता, संरचना, डिजाइन र उद्देश्यका आधारमा बाँधको वर्गीकरण गर्नेछ । दफा ३१ को उपदफा १ मा बाँधको सुरक्षा नेपाल सरकारले गर्ने उल्लेख छ । सोही दफाको उपदफा २ मा बाँध सञ्चालक आफैंले निर्माण तथा सञ्चालन गरेको बाँधको सुरक्षाका लागि नेपाल सरकारलाई अनुरोध गर्न सक्ने व्यवस्था छ । 

उपदफा ३ मा २ बमोजिम अनुरोध भई नेपाल सरकारले सुरक्षा प्रबन्ध गरेकामा त्यस्तो प्रबन्ध गर्दा लाग्ने सम्पूर्ण खर्च बाँध सञ्चालकले बेहोर्नुपर्ने व्यवस्था छ । बाँधको सुरक्षाका लागि नेपाल सरकारले आवश्यक मापदण्ड बनाउनेसमेत उल्लेख छ । बाँध सुरक्षाबारे स्पष्ट व्यवस्था नरहेको दुलालको भनाइ छ ।

‘बाँधको सुरक्षा नेपाल सरकारले गर्ने भनिएको छ, त्यसका लागि सरकारलाई अनुरोध गर्न सक्ने भनिएको छ, गरेन भने के हुन्छ, त्यसबारे स्पष्ट छैन,’ उनले भने, ‘अर्कोतिर अनुरोध गरे सरकारले सुरक्षा प्रबन्ध गर्ने र त्यसको सम्पूर्ण खर्च बाँध सञ्चालकले बेहोर्नुपर्ने पनि भनिएको छ । त्यसो भए अनुरोधन किन गर्ने ! नगरे सञ्चालक आफैंले सुरक्षा गर्न सक्ने हो ? गोलमटोल छ ।’

दफा ३२ मा १ मा बाँधको संरक्षण गर्ने दायित्व बाँध सञ्चालकको हुने र उपदफा २ मा बाँधको संरक्षण गर्न बाँध सञ्चालकका लागि दायित्व र जिम्मेवारी तोकिएको छ । दफा ३३ मा बाँध सञ्चालकले बाँध वर्गीकरणका आधारमा प्रत्येक पाँच वर्षमा स्वतन्त्र विज्ञ समूहमार्फत विस्तृत मूल्यांकन गराउनुपर्ने उल्लेख छ । 

लामो समयदेखि प्रतीक्षामा रहेको यस ऐनले संघीय संरचनाको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोतको अधिकार, कर्तव्य र जिम्मेवारीलाई स्पष्टता प्रदान गर्दै जलस्रोतको बहुआयामिक उपयोग संरक्षण, दिगो विकास अन्तरपुस्ता न्याय र जलजन्य विपद् न्यूनीकरणलाई प्राथमिकता दिएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको भनाइ छ ।

‘आगामी दिनमा यस ऐनको प्रभावकारी कार्यान्वयनमार्फत जलस्रोतलाई राष्ट्रको समृद्धिको आधार बनाउने हाम्रो प्रतिबद्धता छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जलस्रोतको उचित उपयोग संरक्षण र व्यवस्थापनले मात्र दिगो विकासको परिकल्पना पूरा हुन सक्छ भन्नेमा हामी दृढ छौं ।’

जल तथा ऊर्जा आयोगलाई प्रस्तावित विधेयकमा समेटिएको छ । जल तथा ऊर्जा स्रोतको एकीकृत विकास, व्यवस्थापन एवं व्यापक उपयोग गर्ने उद्देश्यले २०३२ मा सरकारले जल तथा ऊर्जा आयोगको गठन गरेको थियो । २०३८ यता स्थायी सचिवालयसमेत स्थापना गरिएको थियो । १५ असार २०४९ र २० पुस २०५५ को सरकारको निर्णयअनुसार आयोग र सचिवालयको संगठनात्मक स्वरूप एवं कार्यक्षेत्र तोकिएको थियो । यसलाई हाल प्रस्तावित जलस्रोत विधेयकमा समेटिएको हो ।

प्रस्तावित विधेयकमा दफा ६ देखि १३ सम्म जल तथा ऊर्जा आयोगको स्थापना, नियुक्ति, काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । दफा ६ मा ऊर्जामन्त्रीको अध्यक्षतामा रहने आयोगको गठन, दफा ७ मा पदाधिकारी सिफारिस समिति, दफा १० मा आयोगको काम, कर्तव्य र अधिकार तथा दफा १३ मा अनुगमन र नियमनका लागि ‘कार्यकारी समिति’ रहने विस्तृत व्यवस्था छ । तर आयोगका पदाधिकारीमा प्रदेश र स्थानीय तहलाई नसमेटिएकाले प्रस्तावित विधेयक संघीयता, निजी क्षेत्रमैत्री नरहेको दुलाल बताउँछन् । 

२०४९ को ऐन को दफा ५ र ६ मा सामूहिक लाभका लागि ‘जल उपभोक्ता संस्था’ गठन गर्ने र त्यो संगठित संस्था हुने व्यवस्था थियो, आयोगबारे कल्पना गरिएको थिएन । आयोगले जलस्रोत तथा ऊर्जासँग सम्बन्धित नीति रणनीति तयारी तथा अद्यावधिक गरी सिफारिस गर्नेलगायत जिम्मेवारी तोकेको छ । 

ऊर्जामन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप सशक्त, अधिकारसम्पन्न र प्रभावकारी बनाई जलस्रोतको समग्र व्यवस्थापनमा एकीकृत तथा प्राज्ञिक दृष्टिकोण अवलम्बन गर्ने गरी जलस्रोत विधेयकमा प्रस्ताव गरिएको बताएका छन् । 

२०४९ को ऐनको दफा ४ जलस्रोत उपयोगबारे व्यवस्था छ । उक्त उपदफा १ मा ऐनबमोजिम अनुमति प्राप्त नगरी कसैले पनि जलस्रोतको उपयोग गर्न पाउने छैन । उपदफा २ मा व्यक्तिगत वा सामूहिक रूपमा अफ्नो निमित्त खानेपानी र अन्य घरेलु प्रयोगका लागि उपयोग गर्न, व्यक्तिगत वा सामूहिक रूपमा आफ्नो जग्गाको सिँचाइ गर्न, घरेलु उद्योगका रूपमा पानीघट्ट वा पनचक्की चलाउन, व्यक्तिगत रूपमा स्थानीय आवागमनका लागि डुंगा प्रयोग गर्न, जग्गाधनीले आफ्नो जग्गाभित्र सीमित रहेको जलस्रोत तोकिएबमोजिम उपयोग गर्न अनुमतिपत्र लिनुपर्ने छैन ।

प्रस्तावित विधेयकमा जलस्रोत उपयोगको अधिकार तोकिएको छ । जलस्रोतको संरक्षण र उपयोगको बहुआयामिक विकास र व्यवस्थापन गर्ने अधिकार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुने उल्लेख छ । उक्त दफाअनुसार अनुसूची १ मा सिँचाइसम्बन्धी संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार तोकिएको छ । 

सिँचाइतर्फ हिमाली र पहाडी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र तराई, मधेश तथा भित्री मधेश क्षेत्रमा पाँच हजार हेक्टरभन्दा बढी सिञ्चित क्षेत्र भएको सिँचाइ आयोजना संघ सरकारको क्षेत्राधिकारभित्र पर्छ । पाँच हजार वर्गमिटरभन्दा बढी पहिरो नियन्त्रण आयोजना, नदीको एकातर्फ वा दुवैतर्फ गरी १० किलोमिटरभन्दा बढी लम्बाइको तटबन्धन वा नियन्त्रण कार्यलगायत संघ सरकारमा पर्छ । 

प्रदेश सरकारको क्षेत्राधिकारभित्र हिमाली र पहाडी क्षेत्रमा दुई सय हेक्टरसम्म र तराई, मधेश तथा भित्री मधेश क्षेत्रमा पाँच हजार हेक्टरसम्म सिञ्चित क्षेत्र भएको सिँचाइ आयोजना, डिप ट्युबवेल तथा लिफ्ट सिँचाइ आयोजना, प्रदेशभित्रका एकभन्दा बढी पालिकामा सञ्चालन हुने सिँचाइ आयोजना, एक हजारदेखि पाँच हजार वर्गमिटरसम्मका पहिरो नियन्त्रण आयोजना, नदीको एकातर्फ वा दुवैतर्फ गरी दस किलोमिटरसम्म लम्बाइको तटबन्धन वा नियन्त्रण कार्यलगायत प्रदेश सरकार मातहत पर्छ । स्यालो ट्युबवेलबाट गरिने सिँचाइ आयोजना, एक हजार वर्गमिटर क्षेत्रफलभन्दा साना पहिरो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्य स्थानीय सरकारको क्षेत्रभित्र राखिएको छ । 

विद्युत्तर्फ दुई वा दुईभन्दा बढी प्रदेशको सिमानामा पर्ने विद्युत् उत्पादन आयोजना, प्रदेश सरकार र स्थानीय तहको अधिकार क्षेत्रबाहेक विद्युत् उत्पादन आयोजना, विद्युत् व्यापार संघीय सरकारको क्षेत्राधिकारमा पर्छ । पाँच मेगावाटभन्दा बढी २५ मेगावाटसम्म जडित क्षमताको आयोजना र दुई वा दुईभन्दा बढी स्थानीय तहको सिमानामा पर्ने ५ मेगावाटसम्म जडित क्षमताका विद्युत् आयोजना प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्छन् । ५ मेगावाटसम्म जडित क्षमताको विद्युत् आयोजना स्थानीय सरकार मातहत पर्छ ।

२०४९ को दफा ७ मा जलस्रोतको उपयोग गर्दा साधारणतया प्राथमिकता क्रमअनुसार गर्नुपर्नेछ । खानेपानी र घरेलु उपयोग, सिँचाइ, पशुपालन तथा मत्स्यपालन जस्ता कृषिजन्य उपयोग, जलविद्युत्, घरेलु उद्योग, औद्योगिक व्यावसायिक तथा खानीजन्य उपयोग, जल यातायात, आमोदप्रमोद उपयोग र अन्य उपयोगलाई प्राथमिकीकरण गरेको छ । 

प्रस्तावित विधेयकको दफा ५ मा जलस्रोतको उपयोगको प्राथमिकताक्रम तोकिएको छ । सुरुमा खानेपानी, घरेलु उपयोग (पशुपालन र मत्स्यपालनसमेत) र जलचरलाई सुरुमा राखिएको छ । सिँचाइ, जलविद्युत्, धार्मिक, सांस्कृतिक प्रयोजन, खनिज व्यावसायिक र औद्योगिक उपयोग, जल यातायात, आमोदप्रमोद तथा पर्यटन र वन्यजन्तु उपयोगअनुसार प्राथमिकीकरण गरिएको छ । 

प्रस्तावित विधेयकको दफा ५ को उपदफा ३ मा खडेरी, बाढी जलवायु परिवर्तन वा अन्य प्राकृतिक कारणले जलस्रोतको उपलब्ध परिमाण घटबढ भएमा आयोगको सिफारिमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जलस्रोतको उपयोगको परिमाणमा हेरफेर गर्न सक्नेसमेत उल्लेख छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully