प्रहरीले गलत नियत राखेर दुःख दिएको व्यवसायीको आरोप, राजस्व अनुसन्धानका अधिकारी भन्छन्, ‘ट्रकमा के हेर्ने हो बुझ्न सकिएन’
What you should know
काठमाडौँ — सशस्त्र र नेपाल प्रहरीले कर छलेको भन्दै लगातार तीन दिनमा काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट कबाडी सामान बोकेका २३ वटा ट्रक नियन्त्रणमा लिएको छ । अहिले ती ट्रकहरुलाई राजस्व अनुसन्धान विभागलाई जिम्मा दिइएको छ । कबाडी सामान लोड गरेका ती ट्रकले कसलाई कुन प्रकारको कर छलेको हो त्यो भने खुलेको छैन ।
मंगलबार रिङरोड क्षेत्रबाट सशस्त्र प्रहरी बलले कबाडी सामान लोड गरेका १० वटा ट्रक नियन्त्रणमा लिएको थियो । सशस्त्र र नेपाल प्रहरीले बुधबार साँझसम्म विभागमा २३ वटा ट्रक जिम्मा लगाएको छ । प्रहरीले आवश्यक कागजात नभएको र कर छलेको शंकामा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
कबाडी व्यवसायीले भने प्रहरीले विनाकारण व्यवसायीलाई दुःख दिएको आरोप लगाएको छ । सरकारी अधिकारीहरुले भने करको विषय सम्बन्धित निकायले हेर्ने भन्दै प्रस्ट जवाफ दिएका छैनन् । नेपाल राष्ट्रिय कबाडी व्यापार व्यवसायी संघले प्रहरीले गत नियत राखेर दुःख दिएको आरोप लगाएको छ । कतिपय ट्रकहरु लोड गर्दागर्दै र गन्तव्यमा जान सडकमै नपुगी नियन्त्रणमा लिएको आरोप संघका अध्यक्ष सरोज श्रेष्ठले लगाए । उनले कुनै पनि गल्ती नगरी अन्धाधुन्ध तरिकाले कबाली बोकेका ट्रक नियन्त्रणमा लिएको भन्दै आफूले कानूनी उपचार खोज्ने चुनौति दिए । उनले प्रहरीले अप्ठेरो पर्ने भएपछि आफू बच्न काठमाडौंका प्रजिअमार्फत ट्रकहरुलाई राजस्व अनुसन्धानलाई जिम्मा लगाएको दावी गरेका छन् । ‘उहाँहरुले प्रमाणसहित उचित कारण देखाउन नसकेपछि ट्रकहरुलाई राजस्वमा बुझाउनु भएको छ,’ उनले भने । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेले स्थानीय तहलाई बुझाउनुपर्ने कर छलीको शंकामा ट्रकहरु नियन्त्रणमा लिएको दावी गरे । कर छलेको विषय विभिन्न पत्रपत्रिकामा आएकाले त्यसकै आधारमा ट्रक नियन्त्रणमा लिएर राजस्वमा बुझाएको भनाई उनको रहेको छ । उनले धादिङको धुनिबेशी नगरपालिकासहित विभिन्न स्थानीय तहले काठमाडौंमै आएर कबाडी कर उठाउने गरेको सूचना प्राप्त भएको बताए ।
पछिल्लो पटक प्रहरीले बुधबार करिव ४ बजेतिर ८ वटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान विभागलाई बुझाएको छ । ६, १० र १२ ति ट्रकहरुमा कबाडी सामानले भरिएका छन् । राजस्वको प्रांगण ट्रक र त्यसका ४० जना भन्दा बढी मजदूरले भरिएको छ । अहिले विभागको प्रांगणमा ट्रक राख्ने स्थान अभाव भएपछि बाटैमा राखिएको छ । काठमाडौंका प्रहरीको विभिन्न युनिटले माथिको आदेश भन्दै सुरुमा सोमबार चन्द्रागिरी नगरपालिकामा जाँच गर्ने क्रममा ४ वटा ट्रक नियन्त्रणमा लिएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वर राज पौडेलले कानून बमोजिम कारबाही गर्न राजस्व अनुसन्धानमा बुझाइएको बताए । उक्त ट्रकहरुमाथि के कुरामा शंका लागेर नियन्त्रणमा लिएको हो त्यसको प्रष्ट जानकारी भने उनले दिएका छैनन् । उनले भने, ‘त्यो सम्बन्धित निकायले हेर्छ ।’ उनले कबाडीको व्यापारमा गुण्डागर्दी भित्रेको र यसले विकृति निम्त्याएको बताए ।
कबाडी सामानको जाँच खारेजीको प्रक्रियामा रहेको राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ । उक्त विभाग नयाँ सरकार गठन भएलगत्तै खारेजीमा परेको थियो । आगामी वर्षको बजेट वक्तव्यमा पनि विभाग खारेजी भएको उल्लेख छ । त्यसैले अनुसन्धान विभागका अधिकारीहरु ट्रकलाई के विषयमा कसरी जाँच गर्ने अन्यौलमा परेका छन् । विभागले पछिल्लो समय सामानको जाँच गर्न छाडेको थियो ।
‘हामी सवै कागजात पोको पारेर कार्यालय खाली गर्ने प्रक्रियामा छौं,’ राजस्वका ति अधिकारी प्रश्न गर्छन्, ‘खोई यि ट्रकहरुमा के के हेर्ने हो ?’ राजस्व स्रोतले उक्त ट्रकको मालबस्तु एवं ढुवानी साधनको अनुगमन प्रणली(भिसिटीएस) हेर्ने र कर छलीको विषय भएमा आन्तरिक राजस्व कार्यालय लेखी पठाउने चलन रहेको बताए । कबाडी व्यवसायीले भने ट्रकको चलानी नै काट्न नपाई नियन्त्रणमा लिएकाले भिसीटीएस हेर्ने विषय हाँस्यास्पद भएको बताए । जुन/जुन ट्रक चलानी काटेर सडकमा गएका छन्, तिनीहरु सवै भिसीटीएसमा आवद्ध भएको व्यवसायीको भनाई छ । भिसिटीएसमा आवद्ध नभएको भए जरिबाना गरेर ट्रक छाड्ने कानूनी व्यवस्था रहेको छ । भिसिटीएस भनेको गाडी र सामानको ट्रयाकिङ गर्ने प्रणाली हो ।
गन्तव्यका लागि हिँडेपछि मात्र उक्त प्रणाली सक्रिय हुन्छ । गाडी चलानी गरेर गुडेपछि मात्र त्यो सिष्टममा आवद्ध भएन/भएको जाँच गर्न सकिन्छ । त्यसैले राजस्वका कर्मचारी अन्यौलमा परेका हुन् । उनीहरु भन्छन्,‘खारेज भएको कार्यालयमा कबाडीको ट्रकमा आफूहरुले के हेर्ने हो ? कुन विषयमा शंका लागेर यता पठाइएको हो त्यसको जानकारी छैन ।’ राजस्वले अब यस्ता ट्रक नल्याउन प्रहरीलाई अनुरोध गरेको स्रोतले जानकारी दियो । ट्रकमा पुराना विभिन्न आकारका फलाम, जस्तापाता, डन्डीलगायतका कबाडी सामान रहेको छ ।
