राष्ट्र बैंकले ऋणपत्रमार्फत वर्ष दिनका लागि ३५ अर्ब पुन: झिक्दै

बजारमा तरलता तत्काल घट्ने नदेखिएपछि राष्ट्र बैंकले फेरि ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिक्न लागेको हो ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws 35 billion rupees for the year through bonds

काठमाडौँ — नेपाल राष्ट्र बैंकले मंगलबार ऋणपत्रमार्फत ३५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–क’ मार्फत उक्त रकम संकलन गर्न लागिएको हो ।

यसका लागि राष्ट्र बैंकले जारी गरेको  सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाले मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न मागेको थियो । यससँगै राष्ट्र बैंकले यसअघि गत पुसमा ऋणपत्रमार्फत एक वर्षका लागि करिब २ खर्ब रुपैयाँ झिकिसकेको छ ।

बजारमा तरलता तत्काल घट्ने नदेखिएपछि राष्ट्र बैंकले फेरि ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिक्न लागेको हो । यसअघि सातामा २ दिन निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा झिक्दै आएको छ ।

राष्ट्र बैंकले जारी गर्ने ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गरिनेछ । एक वर्षपछि ऋणपत्रको सावाँ भुक्तानी हुनेछ । ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले (काउन्टरपार्टी) मात्रै खरिद गर्न पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully