सगरमाथाको 'क्यारिङ क्यापासिटी' निर्धारण गर्दै सरकार

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सगरमाथालगायत प्रमुख हिमालको वास्तविक क्यारिङ क्यापासिटी (बहन क्षमता) अध्ययन गरी त्यसका आधारमा पर्वतारोहण व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन् ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

Government determining the 'carrying capacity' of Mount Everest

What you should know

काठमाडौँ — पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सगरमाथालगायत प्रमुख हिमालको वास्तविक क्यारिङ क्यापासिटी (बहन क्षमता) अध्ययन गरी त्यसका आधारमा पर्वतारोहण व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन् । साथै पर्वतारोहणलाई अझ सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन स्पष्ट कार्यविधि, उद्धार नीति, फोहोर व्यवस्थापन र एजेन्सीहरूको मापदण्ड सुधार गरिने उनले जानकारी दिए ।

सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित सन् २०२६ को वसन्त ऋतुको पर्वतारोहण गतिविधि समीक्षा कार्यक्रममा बोल्दै महानिर्देशक लामिछानेले यसवर्ष सगरमाथा आरोहणको संख्या अहिलेसम्मकै सर्वाधिक रहेको र पर्वतारोहण रोयल्टीबाट राज्यले इतिहासकै धेरै राजस्व संकलन गरेको बताए । उनले यस वर्ष पर्वतारोहण सिजन तुलनात्मक रूपमा निकै सुरक्षित रहेको उल्लेख गर्दै दुखद घटनाको संख्या विगतका वर्षभन्दा न्यून रहेको बताए । 'पर्वतारोहणबाट राज्यले संकलन गर्ने रोयल्टीभन्दा कैयौं गुणा बढी वैदेशिक मुद्रा भित्रिएको छ । यस क्षेत्रले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ र पर्यटन व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुगेको छ,' उनले भने । 

महानिर्देशक लामिछानेले अब पर्वतीय पर्यटनको दिगोपनालाई केन्द्रमा राखेर नयाँ नीति आवश्यक भएको बताए । उनका अनुसार अहिले सगरमाथा लगायत केही सीमित हिमालमा मात्रै अत्यधिक चाप केन्द्रित भएकाले पर्वतारोहणलाई पूर्वदेखि पश्चिमसम्मका अन्य हिमालमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । 

उनले सगरमाथा, आमादब्लम लगायत प्रमुख हिमालले एक सिजन वा एक दिनमा कति आरोही धान्न सक्छन् भन्ने विषयमा भूगर्भविद्, नेपाल पर्वतारोहण संघ, शैक्षिक संस्था र व्यवसायीको सहभागितामा वैज्ञानिक अध्ययन गरिने जानकारी दिए ।

लामिछानेले उच्च हिमाली क्षेत्रमा बढ्दो फोहोर अर्को गम्भीर चुनौती बनेको बताए । बेसक्याम्पदेखि माथिल्लो क्षेत्रमा ग्यास सिलिन्डर, अक्सिजन सिलिन्डर तथा अन्य फोहोरको मात्रा बढ्दै गएको उल्लेख गर्दै त्यसको ट्र्याकिङ प्रणाली विकास, जिम्मेवारी स्पष्ट गर्ने र सफाइको प्रभावकारी मोडल लागू गरिने बताए ।

महानिर्देशक लामिछानेले पर्वतारोहणका क्रममा आरोहीबाट प्राप्त गुनासालाई गम्भीर रूपमा लिइएको भन्दै अब पर्वतारोही, ट्रेकिङ एजेन्सी, गाइड र सहयोगी कर्मचारीको जिम्मेवारी स्पष्ट हुने गरी कानुनी आधारसहितको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) तयार गरिने बताए । उनले बीमामा पनि सुधार आवश्यक रहेको औँल्याए । हाल अधिकांश बीमाले बेसक्याम्पभन्दा माथिका  दुर्घटना नसमेट्ने अवस्था रहेको र यसलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । लामिछानेले उद्धार व्यवस्थालाई आधुनिक बनाउन सरकारले नयाँ उद्धार कार्यविधि तयार गरिसकेको जानकारी दिए । 

प्रधानमन्त्रीको प्राविधिक टोलीको समन्वयमा उद्धार व्यवस्थापनका लागि डिजिटल प्रणाली विकास भइरहेको र दुर्घटना भएलगत्तै सूचना प्राप्त गरी तत्काल उद्धार परिचालन गर्न सकिने व्यवस्था गरिने उनले बताए ।

उनले नेपालका ट्रेकिङ तथा पर्वतारोहण एजेन्सीहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न थालेको उल्लेख गर्दै विदेशमा शाखा विस्तार गर्न सक्ने नीति तथा कूटनीतिक सहजीकरण आवश्यक रहेको बताए । नेपाली एजेन्सीहरू अहिले पाकिस्तानको केटु लगायत अन्य अन्तर्राष्ट्रिय हिमालमा समेत सेवा दिन थालेको उनले कार्यक्रममा स्मरण गराए । महानिर्देशक लामिछानेले विभागका ८० प्रतिशत सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइसकेको जानकारी दिँदै आगामी दिनमा सम्पूर्ण प्रशासनिक प्रक्रिया थप डिजिटल र सहज बनाइने बताए । 

उनले पर्वतीय पर्यटन नेपालको विश्वस्तरीय 'सिग्नेचर प्रोडक्ट' भएकाले यसको गुणस्तर, सुरक्षा र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिए । सन् २०२६ को वसन्त ऋतुको पर्वतारोहण गतिविधि समीक्षा कार्यक्रममा बोल्दै महानिर्देशक रामकृष्ण लामिछाने । तस्बिर सौजन्य : सुवास थापा

कान्तिपुर

Link copied successfully