विद्युतीय सवारीको मूल्य समायोजन, केहीको बढ्यो, केहीको घट्यो, केहीको मूल्य तोक्न बाँकी

नयाँ व्यवस्थाले विशेषगरी साना गाडीको मूल्य केही घटायो भने प्रिमियम र लक्जरी सेग्मेन्टका गाडी महाग्यायो, स्काइवेल र लिपमोटरका केही मोडल सस्तिए, दिपल, ओमोडा र बीवाईडीजस्ता ब्रान्डका केही मोडलको मूल्य बढ्यो।

असार १६, २०८३

सीमा तामाङ

Electric vehicle prices adjusted, some increased, some decreased, some prices yet to be determined

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८३/८४ को बजेटमा आएको राजस्व नीतिपछि विद्युतीय सवारी विक्रेताहरूले मूल्य समायोजन गर्न थालेका छन् । नयाँ कर नीतिअनुसार केही विक्रेताले मूल्य घटाएका छन् भने केहीले बढाएका छन् । अर्कोतिर नयाँ सवारी आयात गरिनसकेको भन्दै केही विक्रेताले मूल्य समायोजन गरेका छैनन् ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय गाडीमा मोटर पावरका आधारमा नभई कस्ट, इन्स्योरेन्स र फ्रेट (सीआईएफ) मूल्यका आधारमा करको दर तय गरेको छ । नयाँ व्यवस्थाले केही गाडीको मूल्य घटाएको छ भने प्रिमियम र लक्जरी सेग्मेन्टका गाडी महँग्याएको छ ।

कान्तिपुरलाई प्राप्त मूल्यसूचीअनुसार स्काइवेल, लिपमोटरका केही मोडल सस्तिएका छन् । दिपल, ओमोडा र बीवाईडीका केही मोडलको मूल्य बढेको छ । केही समयअघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले मध्यमवर्गलाई ईभीमा प्रोत्साहन गर्ने नीति लिए पनि विलासीलाई विलासीकै रूपमा राखिएको र ५० लाखभन्दा मुनिका विद्युतीय सवारीसाधनको मूल्य घट्ने बताएका थिए । तर ५० लाखभन्दा कम मूल्य रहेका सवारीको मूल्य पनि केहीको बढेको छ भने केहीको घटेको छ ।

बीएमडब्लूपछि म्याक्सस मिफा ७ को मूल्य सबैभन्दा बढीले वृद्धि भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले बताए । 

म्याक्ससको आधिकारिक आयातकर्ता एवं वितरक हिमालय अर्गनाइजेसनको सहायक कम्पनी हिमालय मोट्रोक्स लिमिटेडले गर्दै आएको छ । ‘बीएमडब्लू ईभीको मूल्य १ करोड ३० लाख रुपैयाँले बढेको छ । त्यसपछि म्याक्सस मिफा ७ को मूल्य १ करोड २० लाख रुपैयाँ बढेको छ,’ थापाले भने, ‘बजेटका कारण ५० लाख रुपैयाँ बढी मूल्यका सवारीमा असर परेको देखिएको छ ।’

Electric vehicle prices adjusted, some increased, some decreased, some prices yet to be determined

केही सवारी विक्रेताले मूल्य समायोजन गरिसकेका छन् । नामी, प्रोटोनलगायत केही सवारीको मूल्य समायोजन गरिएको छैन । नयाँ आयात नगरिएकाले मूल्य समायोजन गरिनसकेको विक्रेताको भनाइ छ । नामीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले अहिलेसम्म मूल्य समायोजन गरेको छैन । 

दिपल एस जिरो ५ प्लसको मूल्य ४ लाख रुपैयाँले बढेको छ । बजेटअघि ५३ लाख ९९ हजार रुपैयाँ रहेकामा अहिले ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै दिपल ‘एस जिरो ५ म्याक्स’ को मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेकामा बढेर ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

ओमोडा, जेइको र आइकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले मूल्य समायोजन गरिसकेको छ । आइकार भी २३ को मूल्य ३ लाख रुपैयाँले बढेको कम्पनीले जनाएको छ । सुरुमा मूल्य ५० लाख ९९ हजार रहेकामा अहिले ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । जेइको जे६टी को मूल्य पनि १ लाख रुपैयाँले बढेको छ । बजेटअघि ६८ लाख ९९ हजार रुपैयाँ रहेकामा अहिले ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले बीवाईडी एट्टो २ र एट्टो ३ (एडभान्स) को मूल्य समायोजन गरिसकेको छ । एट्टो १ को समायोजन गरे पनि मूल्य घटबढ नभएको कम्पनीले जनाएको छ । बीवाईडी एट्टो ३ (सुपेरियर), सिलन ७, एम ६ र डल्फिनको मूल्य समायोजन गरिएको छैन । बीवाईडी एट्टो २ को मूल्य ४५ लाख ९५ हजार रुपैयाँ रहेकामा बजेटपछि ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । एट्टो ३ (एडभान्स) को मूल्य ५९ लाख ९९ हजार रहेकामा ६१ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीमा मूल्यका आधारमा कर लाग्ने व्यवस्था गरेपछि गाडीको मूल्य बढेको नेपालका लागि महिन्द्रा कम्पनीको आधिकारिक वितरक अग्नि इनकर्पोरेटका प्रमुख वित्त अधिकृत दुर्गाप्रसाद आचार्यले जनाए । ‘पहिलेदेखि नै हामीले महँगा मूल्यका विद्युतीय सवारी बिक्री गर्दै आएका छौं । बजेटपछि गाडीको मूल्य १० लाखदेखि ५० लाख रुपैयाँसम्म बढेको छ,’ उनले भने, ‘यद्यपि बजेट सार्वजनिक भएपछि आफूहरूले सवारी आयात नगरेको र अहिले स्टकमा रहेका गाडी बजेट आउनुभन्दा धेरैअघि भन्सार जाँचपास भइसकेकाले पुरानै मूल्यमा बिक्री हुन्छन् ।’

नयाँ आयात हुने गाडीमा मात्र नयाँ मूल्य लागू हुने आचार्यले बताए । लिपमोटरको बी १० को मूल्य ५ लाख रुपैयाँले घटेको छ । यसअघि ६० लाख रुपैयाँ रहेकामा अहिले ५५ लाख रुपैयाँ मूल्य कायम भएको छ । लिपमोटरका अन्य मोडल नयाँ आयात नगरिएकाले मूल्य समायोजन गरिएको छैन ।

स्काइवेल बीई११ (४१० किलोमिटर) को मूल्य ७९ लाख ९० हजार रहेकामा अहिले ६५ लाख ९० हजार रुपैयाँमा बिक्री गरिएको छ । स्काइवेल बीई११ (५२० किलोमिटर) को ८९ लाख ९० हजार रहेकामा ७४ लाख ९० हजार रुपैयाँ र स्काइवेल बीई११ (६२० किलोमिटर) १ करोड १५ लाख रुपैयाँ रहेकामा ९९ लाख रुपैयाँमा बिक्री भएको छ । बजेटका कारण अब स्काइवेल बीई ११ (६२० किलोमिटर) को मूल्य १ करोड ४५ लाख रुपैयाँ पुग्ने नेपालका लागि स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालको भनाइ छ । 

‘अहिले लिमिटेड स्टक छ । त्यसैले मूल्य घटाइएको छ । तर स्काइवेल बीई ११ (६२० किलोमिटर) बाहेक अरूको पनि मूल्य बढ्छ,’ गेलालले भने । नेपालका लागि एमजीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्स र गो मोटर्सले पनि केही मोडलको मूल्य समायोजन गरिसकेको छ । एमजी विन्डसर एक्साइटको मूल्य १ लाख ७४ हजार रुपैयाँले बढेको छ । बजेटअघि ३९ लाख ७५ हजार रुपैयाँ रहेकामा अहिले ४१ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । 

एमजी विन्डसर एक्सक्लुसिभको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ रहेकामा अहिले ४४ लाख २५ हजार रुपैयाँ पुगेको छ । एमजी विन्डसर इसेन्सको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ रहेकामा अब ४६ लाख ९९ हजार रुपैयाँ पुगेको छ । 

यसैगरी एमजी एस५ डिलक्सको मूल्य ४९ लाख ९९ हजार रहेकामा अहिले ५० लाख ९९ हजार पुगेको छ । यसैगरी एमजी एस५ लग्जरीको मूल्य ५४ लाख ९९ हजार रहेकामा ५५ लाख ९९ हजार रुपैयाँ पुगेको छ । एमजी एस६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेकामा ७१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । एमजी आईएम६ को मूल्य ७८ लाख ९९ हजार रुपैयाँ रहेकामा ८१ लाख ९९ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । 

जिली मोटर्सको आधिकारिक विक्रेता एलआरआर मोटर्सका अनुसार जिली ईएक्स ५ प्रो र जिली ईएक्स ५ म्याक्सको मूल्य पनि बढेको छ । जिली ईएक्स ५ प्रोको मूल्य २ लाख रुपैयाँ र जिली ईएक्स ५ म्याक्सको मूल्य ३ लाख रुपैयाँले बढेको हो ।

सुजुकी ब्रान्डको आधिकारिक विक्रेता सीजी मोटोकर्पले सुजुकी ई भिटारा (बेस) र सुजुकी ई भिटारा (टप) को मूल्य घटाएको छ । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ सवारी ल्याइ नसकेकाले मूल्य समायोजन गरेको छैन ।

आर्थिक विधेयक २०८३ मार्फत भन्सार विन्दुमा २० लाख रुपैयाँसम्म कारोबार मूल्य भएका विद्युतीय गाडीमा २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने उल्लेख छ । यस्ता सवारीमा भन्सार शुल्क २०, सडक निर्माण दस्तुर ५ र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत लाग्नेछ । तर पछि अर्थमन्त्री वाग्लेले ‘फुटनोट’ छुटेको भन्दै यस्ता सवारीमा २.५ प्रतिशत मात्रै सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको जनाएका छन् ।

 ‘बजेटमा एउटा सानो फुटनोट छुटेछ । त्यो हामी सच्याउँदै छौं,’ बजेटलगत्तै आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘सडक निर्माण दस्तुर आधा हुँदै छ । एकदम तलकोलाई २.५ हुन्छ । बाँकीलाई ५ प्रतिशत नै हुन्छ ।’ 

यस्तै कारोबार मूल्य २० लाखदेखि ३० लाख रुपैयाँसम्मका सवारीमा स्वच्छ पूर्वाधार लगानी शुल्क २० प्रतिशत तोकिएको छ । यसमा सवारीमा भन्सार शुल्क २०, सडक निर्माण दस्तुर ५ र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत लाग्नेछ  ।

कारोबार मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म पर्ने विद्युतीय सवारीमा ३५ प्रतिशत मात्र स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ । कारोबार मूल्य ४० लाखदेखि ५० लाख रुपैयाँसम्म पर्ने विद्युतीय सवारीमा ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ । ५० लाख रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारीमा भने १ सय ३० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरिएको छ । सबै सवारीमा भन्सार शुल्क २०, सडक निर्माण दस्तुर ५ र भ्याट १३ प्रतिशत लाग्नेछ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully