डिजेल–एलपीजीको आयात घट्दा पनि इन्धन आयात खर्च र राजस्व दुवै बढ्यो

एक वर्षमा इन्धन आयातमा ३५ अर्ब ५३ करोड रुपैयाँ (करिब २० प्रतिशत) ले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक छ ।

असार १६, २०८३

शंकर आचार्य

Despite a decline in diesel-LPG imports, both fuel import costs and revenue increased.

What you should know

पर्सा — देशको प्रमुख पेट्रोलियम आयात नाका वीरगन्जबाट चालु आर्थिक वर्षको  जेठ मसान्तसम्म इन्धन आयातबाट २ खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ बाहिरिएको छ । डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन, मट्टितेल जस्ता इन्धनको आयातबाट यति ठूलो रकम बाहिरिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा उक्त रकम १ खर्ब ७४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । एक वर्षमा इन्धन आयातमा ३५ अर्ब ५३ करोड रुपैयाँ (करिब २० प्रतिशत)ले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

इन्धनको आयात मूल्यसँगै सरकारको राजस्व पनि बढेको छ । चालु आवको जेठसम्म पेट्रोलियम पदार्थबाट ७३ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिमा ७३ अर्ब २१ करोड रुपैयाँ राजस्व उठेको थियो । अर्थात् ४१ करोड रुपैयाँभन्दा बढी राजस्व चालु आवमा संकलन भएको हो ।

सबैभन्दा धेरै आयात हुने डिजेलको परिमाण भने घटेको छ । चालु आवमा १ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ बराबरको ९ लाख ८५ हजार २ सय २ किलोलिटर डिजेल आयात भएको छ । यसबाट ४० अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

गत आवको सोही अवधिमा ८९ अर्ब ८२ करोड रुपैयाँ बराबरको १० लाख ३३ हजार ८ सय १३ किलोलिटर डिजेल आयात भएको थियो । जसबाट ४१ अर्ब ४ करोड रुपैयाँ राजस्व उठेको थियो । यसरी तुलनात्मक रुपमा हेर्दा डिजेलको आयात परिमाण घटे पनि आयात मूल्य र राजस्व बढेको छ ।

पेट्रोलको आयात भने परिमाण, मूल्य र राजस्व तीनै सूचकमा बढेको छ । चालु आवमा ४१ अर्ब ५९ करोड रुपैयाँ बराबरको ४ लाख ३० हजार १ सय १५ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट २३ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ३५ अर्ब ३४ करोड रुपैयाँ मूल्य बराबरको ४ लाख १३ हजार ५ सय ४ किलोलिटर पेट्रोल आयात भएको थियो । जसबाट २३ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठेको थियो ।

एलपीजी ग्यासको आयात परिमाण र मूल्य दुवै घटेको छ । चालु आवमा २८ करोड अर्ब ७२ करोड मूल्य बराबरको २५ करोड ९७ लाख किलो एलपीजी आयात भएको छ । यसबाट ५ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ३३ अर्ब ३५ करोड रुपैयाँ बराबरको २९ करोड १४ लाख किलो एलपीजी आयात भएको थियो । जसबाट ६ अर्ब २४ करोड रुपैयाँ राजस्व उठेको थियो ।

हवाइ इन्धनको आयातमा उल्लेख्य वृद्धि देखिएको छ । चालु आवमा २१ अर्ब ३० करोड रुपैयाँ बराबरको १ लाख ७३ हजार ९११ किलोलिटर एटीएफ आयात भएको छ । यसबाट ३१ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा ९ अर्ब ३० करोड रुपैयाँ १५ अर्ब ३ करोड रुपैयाँ बराबरको १ लाख ६७ हजार ३९९  किलोलिटर मात्रै एटीएफ आयात भएको थियो । जसबाट ६ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

मट्टितेलको आयात भने तीव्र रूपमा घटेको छ । चालु आवमा ३७ करोड रुपैयाँ बराबरको ४ हजार २०८ किलोलिटर मट्टितेल आयात हुँदा  ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ६० करोड रुपैयाँ बराबरको ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको थियो । जसबाट १७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

यसरी डिजेल, एलपीजी र मट्टितेलको आयात परिमाण घटे पनि पेट्रोल र हवाई इन्धनको माग बढ्नु, मूल्य तथा कर संरचनामा आएको परिवर्तनका कारण समग्र इन्धन आयातबाट बाहिरिने रकम र सरकारी राजस्व दुवैमा वृद्धि भएको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully