नेपाल आयातित खाद्यान्नमा बढ्दो निर्भर बन्दै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
काठमाडौँ — कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले धानखेत जोगाउन लाग्नुपर्नेमा जोड दिएका छन् । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै सचिव मिश्रले धान खेत मासिँदै गएकोले यसको संरक्षणमा लाग्नुपर्ने बताएका हुन् ।
प्रविधि जतिसुकै विकास भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने भन्दै उनले धानखेत संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताए । नेपाल आयातित खाद्यान्नमा बढ्दो निर्भर बन्दै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
‘आजको २०० वर्षपछिको टेक्नोलोजीले पनि धान खेती गर्नलाई धान खेतै चाहिन्छ । आर्टिफिसियल चामल त आउला तर खेती गर्ने हो भने धान खेतै चाहिन्छ । धान खेत मासिनु हामी सबैको चिन्ताको विषय बन्नुपर्छ । यसलाई हामी सबैले आत्मसात गर्नुपर्छ र धान खेत जोगाउनुपर्छ । एउटा प्लटिङका कारणले, अर्को जलवायु परिवर्तनका कारणले, अर्को माइग्रेसनका कारणले विभिन्न कारण हुन सक्छन् । हामी आयातमा निर्भर हुँदै गयौँ, आयात सहज हुन्जेलसम्म मात्रै आउँछ, जुन दिन असहजता हुन्छ, अन्तर्राष्ट्रिय परिवेशमा आयात हुँदैन र हाम्रो थाली रित्तो रहन सक्छ,’ उनले भने ।
नाफामूलक बालीहरू आएपछि धानभन्दा अरु बालीहरूले धानको ठाउँ लिँदै गएको अवस्था रहेको सचिव मिश्रको भनाइ छ । 'अहिले हेर्नुभयो भने धान खेती गर्ने किसानहरू मकैतिर लागेका छन्, बढी फाइदा छ, त्यस्तै अरु बालीहरु उखुतिर लागेका छन् भने नयाँ नाफामूलक बालीहरु तिर जाँदै जाँदा खेरि थाली खाली हुने हो कि भन्ने अर्को चिन्ता छ । अर्को जातीय ह्रासको कुरा हो । हामी धानको जातमा यति समृद्धशाली हो कि एउटा घरमा पाँचवटा जात धानको मैले देखेको छु । तर त्यो जातहरू मासिने क्रममा छ, ती रैथाने जात मासिएमा बजारले हामीलाई त्यो जात दिने छैन,' उनले भने ।
सचिव मिश्रले नेपालमा धानको औसत उत्पादकत्व प्रतिहेक्टर चार टनको हाराहारीमा मात्र रहेको बताए । विकसित मुलुकले आठदेखि १० टनसम्म उत्पादन गरिरहेको उनको भनाइ छ । नेपालले पनि उत्पादकत्व दोब्बर बनाउन सके धान उत्पादनमा आत्मनिर्भर मात्र नभई पर्याप्त हुने उनले बताए ।
