सेयर स्वामित्व हस्तान्तरणमा १ प्रतिशत शुल्क लाग्ने प्रस्ताव विवादमा, परिमार्जनको तयारी

लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा सुरुमै एक प्रतिशत शुल्क लगाएर निरुत्साहित गरेको भन्दै सबैतिरबाट विरोध आएपछि उक्त प्रस्ताव विवादित बनेको हो ।

असार १५, २०८३

कान्तिपुर संवाददाता

Proposal to impose 1 percent fee on share ownership transfer in controversy, preparation for revision

What you should know

काठमाडौँ — प्रस्तावित कम्पनी ऐनको मस्यौदामा २५ लाख वा सो भन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा १ प्रतिशत शुल्क लाग्ने प्रस्ताव विवादित बनेको छ ।

लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा सुरुमै एक प्रतिशत शुल्क लगाएर निरुत्साहित गरेको भन्दै सबैतिरबाट विरोध आएपछि उक्त प्रस्ताव विवादित बनेको हो । प्रस्तावित मस्यौदाउपर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक साताको म्याद दिएको थियो ।

जसअनुसार सुझाव दिने अन्तिम म्याद आजसम्म (सोमबार) हो । सोमबारसम्म संकलन भएको सुझाव समेटेर मस्यौदालाई अन्तिम रूप दिएर कानुन मन्त्रालयमा पठाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव एंव ऐनको मस्यौदा निर्माण समितिकी सदस्य कल्पना श्रेष्ठले बताइन् ।

‘मस्यौदामा प्रस्तावित एक प्रतिशत शुल्कको कुरा निकै विवादित बनेको छ । त्यसलाई परिमार्जन गर्नुपर्ने सुझाबहरु पनि आएका छन् । ती सुझाब पनि समाजोजन गरेर ऐनको मस्यौदालाई अन्तिम रुप दिइनेछ,’ सहसचिव श्रेष्ठले भनिन्, ‘यद्यपि एक प्रतिशत शुल्क लाग्ने प्रस्ताव हट्छ वा कायमै रहन्छ भन्ने कुरा अहिल्यै भन्न सकिएन । सुझाव आएकाले हामी त्यस विषयमा पनि छलफल गछौं, सबैलाई उपयुक्त लाग्यो भने परिमार्जन हुन पनि सक्नेछ ।’

कम्पनी ऐन संशोधनको क्रममा रहेकाले त्यहाँ प्रस्ताव गरिएका सबै व्यवस्था प्रस्तावित मात्र भएको र ती व्यवस्था उपयुक्त, छन् कि छैनन् भनेरै सुझाव माग गरिएको श्रेष्ठले बताएन । ‘सरकारको उद्देश्य लगानी प्रोत्साहन गर्ने हो । राज्यको कुनै नीतिले लगानी निरुत्साहित हुन्छ भने त्यो राम्रो हुँदैन । यसकारण हाल चर्चामा रहेको एक प्रतिशत शुल्क लाग्ने प्रस्ताव पनि परिमार्जन हुने सम्भावना छ,’ श्रेष्ठले भनिन् ।   

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको कम्पनी ऐन, २०८३ को मस्यौदामा २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा १ प्रतिशत शुल्क लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ । जसमा धितोपत्र विनिमय बजारको प्रणालीमार्फत सेयर खरिदबिक्री भएकोमा सम्बन्धित धितोपत्र व्यवसायीले उक्त शुल्क संकलन गरी संघीय सञ्चित कोषमा जम्मा गर्नुपर्नेछ भन्ने व्यवस्थासमेत राखिएको थियो ।

यसरी सेयर लगानीको क्रममै शुल्क लाग्ने व्यवस्थाले लगानीकर्ता निरुत्साहित हुने भन्दै विरोध भएको थियो । खासगरी सेयर बजारका कारोबारहरूमाझ उक्त प्रस्तावको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । यसरी चौतर्फी विरोधभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा ऐनको मस्यौदा निर्माण समितिबीच उक्त व्यवस्था परिमार्जन गर्ने अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर बनाउने घोषणा गरेको पनि आर्थिक ऐनमा त्यसअनुसारको व्यवस्था समावेश छैन । यसले अझै पनि पुँजीगत लाभकर नै अन्तिम होकि होइन भन्ने अन्योल कायमै रहेको जानकारहरु बताउँछन् ।  

यद्यपि सरकारले बजेटमार्फत लाभकरको दर ५ बाट बढाएर ७.५ प्रतिशत र ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ । हाल दोस्रो बजारमा सेयर कारोबार गर्दा लगानीकर्ताले कारोबार रकमका आधारमा ब्रोकरलाई ०.२४ प्रतिशतदेखि ०.३६ प्रतिशतसम्म सेवा शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully