कर्णाली राजमार्गको काम वर्षौंदेखि अलपत्र, एकैपल्ट तोडिए १६ ठेक्का

सडकको काम निर्धारित समयमा नसकिएपछि सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गका १६ ठेक्का सम्झौता रद्द गरेको छ।

असार १५, २०८३

कृष्णप्रसाद गौतम

Karnali Highway work has been stalled for years, 16 contracts were terminated at once

What you should know

सुर्खेत — कर्णाली राजमार्गअन्तर्गतको कालीकोट खण्डमा सडक कालोपत्र मर्मतका लागि एमके/अमित जेभीले सडक डिभिजन कार्यालय जुम्लासँग २०७६ माघ २६ गते ठेक्का सम्झौता गर्‍यो ।

एक वर्षभित्र सडक निर्माणको काम सक्नेगरि ३ करोड ३८ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले ८१ लाख रुपैयाँ पेश्कीसमेत लिइसकेको थियो । तर दुईपल्ट म्याद थप्दा पनि सडक निर्माणमा २० प्रतिशत कामसमेत सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता रद्द गरेको छ ।  

एमके/अमित जेभीले नै २०७७ चैत १९ मा एक वर्षभित्र दहीखोला–सेरीघाट खण्डमा कालोपत्र मर्मतका लागि ठेक्का सम्झौता गर्‍यो । ३ करोड २० लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले एकपल्ट म्याद थप गर्दा पनि ३० प्रतिशत कामसमेत नसकेपछि उक्त सडकको ठेक्का पनि तोडिएको छ । 

सडक डिभिजन कार्यालयले जुम्लाले कर्णाली राजमार्गअन्तर्गत लामो समयदेखि अलपत्र परेका १६ वटा ठेक्काको सम्झौता तोडेको हो । कार्यालयले दुई महिनाअघि पनि राजमार्गकै १० वटा रुग्ण ठेक्का तोडेको थियो ।

कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार ठेक्का तोडिएका योजनाहरु आर्थिक वर्ष २०७४/७५ देखिका हुन् । ‘निर्माण कम्पनीलाई पटकपटक लिखित ताकेता गर्दासमेत काममा चासो नदेखाएपछि सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाअनुसार ठेक्का रद्द गरिएको हो,’ उनले भने, ‘हामीले सार्वजनिक सूचना जारी गर्दै कालीकोटका १२, जुम्लाका ३ र मुगुका एक गरी १६ वटा ठेक्का अन्त्य गरेका छौं ।’

उनका अनुसार निर्माण व्यवसायीहरुमा लामो समयदेखि ठेक्का लिने तर काम नगर्ने प्रवृति देखिएको छ । ती कम्पनीहरुलाई कालोसूचीमा राख्ने, जमानत र धरौटी बापतको रकम जफत गर्ने तथा पेस्की रकम १० प्रतिशत ब्याजसहित असुल गर्नेलगायत कारवाही प्रक्रियासमेत अघि बढाइएको उनले जानकारी दिए । 

सडक डिभिजनका अनुसार एमके/अमित जेभीसँका चार र कालीकोटको कर्णाली कन्ट्रक्सन एण्ड इन्जिनियरिङसँगका तीनवटा ठेक्का सम्झौता तोडिएको छ । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा कालीकोटको सेरी–पान्तडी बेलीब्रिज निर्माणको ठेक्का लिएको जुम्लाको हिमाली निर्माण सेवा, आर्थिक वर्ष २०७७/७८ मा नाग्मा–जुम्ला खण्डमा सडक निर्माणको ठेक्का लिएको जुम्लाको नारायण निर्माण सेवा र आर्थिक वर्ष २०७८/७९ मा ताल्चा–रारा खण्डको ठेक्का लिएको नञ्जिला एण्ड आकांक्षा/मजदुर जेभीसँगको ठेक्का पनि रद्द गरिएको छ । 

आर्थिक वर्ष २०७९/८० मा दहीखोला–खुलालु सडक निर्माणको जिम्मा लिएको कालीकोटको हिमांशु निर्माण सेवा, २०८० मा नाग्मा–खलंगा खण्डको नाला मर्मतको ठेक्का लिएको जुम्लाको मालिका कन्ट्रक्सन र कालीकोट–माल्कोट सडक निर्माणको जिम्मा लिएको हुम्लाको छ्याछहरा निर्माण निर्माण सेवासँग पनि सम्झौता तोडिएको सूचना अधिकारी सिंहले बताए । 

उनका अनुसार कार्यालयले गत आर्थिक वर्षमा घट्टेगाड–गेला–पदमघाट सडक स्तरोन्नतिको जिम्मा लिएको कालीकोटको सिंह/कालिका निर्माण सेवा, कर्णाली राजमार्गको खुलालु–नाग्मा खण्डमा सेफ्टी बार निर्माणको जिम्मा लिएको सुर्खेतको मालिका विल्डर्स र तल्लो डुंगेश्वरदेखि खलंगासम्मको सडक मर्मतको जिम्मा लिएको जुम्लाको लक्ष्मी निर्माण सेवासँगको ठेक्का पनि अन्त्य गरेको छ । उनले यो वर्ष मात्रै २६ वटा रुग्ण ठेक्काको सम्झौता तोडिएको जानकारी दिए । 

सडक स्तरोन्नतिको काम अलपत्र पर्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । विश्व बैंकको १ अर्ब रुपैयाँ सहयोगमा २०७२ सालमा गरिएको अधिकांश कालोपत्र उप्किएपछि सामान्य पानी पर्दा पनि हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकमा कष्टकर यात्रा गर्नुपरेको कालीकोटको खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले बताए । उनका अनुसार अधिकांश ठाउँमा एक लेनको मात्र सडक हुँदा घण्टौं जाम हुने समस्या छ । कमजोर भूगोल भएकाले पहिरोको जोखिम उत्तिकै रहेको उनले जानकारी दिए ।

कर्णाली राजमार्गमा सडक स्तरोन्नतिको काम अलपत्र पर्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन्। विश्व बैंकको १ अर्ब रुपैयाँ सहयोगमा २०७२ सालमा गरिएको अधिकांश कालोपत्र उप्किएपछि सामान्य पानी पर्दा पनि हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकमा कष्टकर यात्रा गर्नुपरेको कालीकोटको खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले बताए । उनका अनुसार अधिकांश ठाउँमा एक लेनको मात्र सडक हुँदा घण्टौं जाम हुने समस्या छ । कमजोर भूगोल भएकाले पहिरोको जोखिम उत्तिकै रहेको उनले जानकारी दिए ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully