चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै विलम्ब, दसैंपछि मात्र निर्माण थालिँदै

दोस्रो खण्ड विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने

असार १३, २०८३

विमल खतिवडा

Further delays in expansion of second section of Ring Road, construction to begin only after Dashain

What you should know

काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारमा पटक–पटक दुई देश (चीन र नेपाल) का अधिकारीबीच छलफल र सम्झौता भए पनि निर्माणको काम अझै सुरु हुन सकेको छैन । सुरु–सुरुमा कहिले नेपाल सरकारबाट तयारीको काम समयमै नहुँदा त कहिले चिनियाँ टोली नआउँदा समस्या भएको थियो ।

अहिले सबै प्रक्रिया पूरा हुँदासमेत निर्माणको काम अघि बढ्न सकेको छैन । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्याल नेतृत्वको टोली केही समयअघि चक्रपथ विस्तारको डिजाइन फाइनल गर्नेबारे छलफल गर्न चीन पुगेको थियो ।

अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले बताए । ‘फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप गर्न सुझाव दिएका छौं,’ उनले भने, ‘डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनोट गरिनेछ ।’ चीन सरकारको आधिकारिक परामर्शदाता (कन्सल्टेन्ट) ले डिजाइन पेस गर्ने सहमति भएको हो । डिजाइन चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सीआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङले गरेको हो ।

‘आउने साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेस गर्ने तयारी छ,’ अर्यालले भने, ‘ढुंगेधारामा कल्भर्टको ठाउँमा पक्की पुल थप गर्न आग्रह गरेका छौं ।’ उनका अनुसार बर्खाअघि निर्माण कम्पनी छानिसक्छ । निर्माण कम्पनी छानिएपछि तयारीका रूपमा क्याम्प खडालगायत काम गर्न नेपाल आउन आग्रह गरिने उनको भनाइ छ । ‘अहिले कन्सल्टेन्टसँग मात्र कुरा भएको हो,’ उनले भने, ‘बर्खाअघि ठेक्का सम्झौता भए पनि काम भने दसैंपछि मात्र सुरु हुन्छ ।’

पटक–पटक निर्माणको काम थाल्ने समय भनेअनुसार नभए पनि अब भने धेरै ढिला नहुने अर्यालको दाबी छ । ‘कतिपय अवस्थामा हाम्रो कारणले पनि ढिला भयो, कतिपय चिनियाँ पक्षका कारण ढिला भयो होला,’ उनले भने, ‘अब सबै कुरा टुंगो लागिसकेको छ । निर्माण कम्पनी छानिएपछि काम नै सुरु हुन्छ ।’

चीनबाट फर्किएको टोलीले चक्रपथ विस्तारबारे भएको छलफल र यसमा भएको प्रगतिबारे पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई जानकारी गराउने जनाएको छ । आयोजना कार्यान्वयन सम्झौतापत्रमा भने १६ वैशाख २०८३ मा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यसअनुसार यसलाई छिटो कार्यान्वयनमा लग्ने भनिएको थियो । तर, अहिलेसम्म यसमा खासै केही प्रगति छैन ।

दोस्रो खण्ड विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । १२ फागुनमा मन्त्रिपरिषद् बैठकबाट सरकारले निर्माण सामग्री र भन्सार छुटको निर्णय गरेसँगै उक्त विस्तारका लागि थप प्रक्रिया अघि बढाउन बाटो खुलेको थियो । कलंकीदेखि बसुन्धरा चोक नजिकसम्मको ८.२ किलोमिटर दूरीमा मात्र सडक विस्तार गरिनेछ ।

डिजाइनअनुसार ढुंगेधारामा एउटा पक्की पुल बन्नेछ । तीन वटा आकाशे पुल अपांगमैत्री बन्नेछन् । सीतापाइला, बालाजु र माछापोखरीको बीच तथा सामाखुसी र बसुन्धरा प्रहरी चौकीको बीचमा आकाशे पुल बनाइनेछ । कलंकीदेखि बसुन्धरा चोकसम्म सडक बत्ती सडक विस्तारकै क्रममा चीनले बनाउनेछ ।

कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ मा सकिएको थियो । कलंकीदेखि बसुन्धरासम्म विस्तार गर्न भनेर चीनसँग सन् २०१८ मा जीटुजी सम्झौता भएको थियो । अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ ।

बसुन्धरा चोकदेखि नारायणगोपाल चोकसम्मको करिब ६ सय मिटर सडक खण्डमा पर्ने घरटहरा भत्काउन समस्या भएपछि काम हुन नसकेको हो । कलंकीदेखि नारायणगोपाल चोकसम्म सडक विस्तारका लागि पहिला चीन सरकारले नै सरकारी निकायसँग छलफल गरे पनि उक्त क्षेत्रमा घरलगायत संरचना भत्काउन समस्या देखेपछि चीन पछि हटेको थियो ।

पछि कलंकीदेखि बसुन्धरा कल्भर्ट नजिकसम्म मात्र सडक विस्तार गर्न चीन तयार भएको हो । चक्रपथ तेस्रो खण्ड नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७ सय मिटर सडक नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरिसकेको छ । चप्पल कारखानादेखि धोबीखोला पुलसम्मको १ हजार २ सय मिटर दूरीमा विस्तारको काम अघि बढाउने तयारीमा रहेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully