नेपाल–चीन सीमामा टिंकर नाका खुलेपछि दार्चुलाका ६२ जना मौसमी व्यापारका लागि ताक्लाकोट पुगेका छन् ।
What you should know
दार्चुला — परम्परागत रूपमा सीमापार व्यापार गर्दै आएका दार्चुलाका व्यापारीहरू मंगलबार चीनको तिब्बतस्थित ताक्लाकोट बजार पुगेका छन् ।
मौसमी व्यापारका रूपमा स्थानीयले पुस्ताैंदेखि माैसमी रुपमा ताक्लाकोट गएर व्यापार गर्दै आएका छन् । यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारिक टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ।
गत २०८२ कात्तिक अन्तिम साता बन्द भएको नेपाल–चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुलेको हो । स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल–चीन प्रवेश अनुमतिपत्रका आधारमा जिल्लाभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था छ ।
कोरोना महामारीका कारण केही समय रोकिएको सीमापार व्यापार सन् २०२४ देखि पुनः सञ्चालनमा आएको थियो । यस वर्ष पहिलो पटक व्यापारीसहित ६२ जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकरस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएको छ । गत वर्ष भने असार ७ मा नाका खुलेको थियो । कैलाश–मानसरोवरको आधार क्षेत्र मानिने ताक्लाकोट बजारमा दार्चुलाका व्यासी शौका समुदाय र अन्य केही स्थानीयले परम्परादेखि व्यापार गर्दै आएका छन् ।
चिनियाँ पक्षले यस वर्ष असार ९ देखि व्यापारिक प्रयोजनका लागि नाका खुल्ने जानकारी दिएको थियो । सोही जानकारीपछि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी व्यापारिक टोली ताक्लाकोटतर्फ गएको हो ।
व्यास गाउँपालिका–१ टिंकरको छियालेकस्थित सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयले ताक्लाकोट जाने व्यापारिक टोलीको अभिलेख राखेको छ । ५० जना पुरुष र १३ महिलासहितको टोली छियालेक हुँदै ताक्लाकोटतर्फ प्रस्थान गरेकोमा टाटा क्षेत्रमा पुगेपछि स्वास्थ्य समस्याका कारण एक जना फर्किएका छन् । बाँकी सबै जना टिंकर भञ्ज्याङस्थित १ नम्बर सीमास्तम्भ हुँदै सकुशल ताक्लाकोट पुगेका छन् ।
छाङरु गाउँका स्थानीय सोमबार नै ताक्लाकोटतर्फ हिँडेका थिए भने टिंकर गाउँका बासिन्दा मंगलबार बिहानै प्रस्थान गरेका थिए । छाङरुका बासिन्दा बीच बाटोमा एक रात बसेर दोस्रो दिन ताक्लाकोट पुग्ने गर्छन् भने टिंकरबाट एकै दिनमा ताक्लाकोट बजार पुगिन्छ ।
नेपाल–चीन हिमालय मैत्री समाजका केन्द्रीय सदस्य योगेश बोहराका अनुसार व्यापारिक टोलीका सबै सदस्य मंगलबार अपराह्न ४ बजेसम्म ताक्लाकोट बजार पुगिसकेका छन् । टाटा क्षेत्र र १ नम्बर सीमास्तम्भ आसपासको हिउँ पग्लिसकेकाले यात्रामा कुनै विशेष समस्या नभएको उनले बताए । दार्चुलाका व्यापारीहरूले ताक्लाकोटमा कात्तिक–मंसिरसम्म व्यापार गर्ने गर्छन् ।
ताक्लाकोटमा तिब्बत सरकारले दार्चुलाका व्यापारीलाई तीन दर्जनभन्दा बढी पसल उपलब्ध गराएको छ । हाल ३२ वटा पसल र ४ वटा होटल दार्चुलाका व्यवसायीले सञ्चालन गर्दै आएका छन् ।
नेपाल–चीन टिंकर नाका खुलेको विषयमा व्यास क्षेत्रका स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताए । उनका अनुसार स्थानीय र प्रशासनबीचको समन्वयमा नाका सञ्चालनमा आएको हो । नाका खुलेको जानकारी सम्बन्धित मन्त्रालयमा समेत पठाइसकिएको उनले बताए ।
विगतदेखि नै दार्चुलाका करिब एक सय जनाले ताक्लाकोटमा व्यापार गर्दै आएका छन् । तीमध्ये अधिकांश व्यास गाउँपालिका–१ का छाङरु र टिंकरका हुन् । उनीहरूले नेपाल तथा भारतबाट सामान लगेर ताक्लाकोटमा बिक्री गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार यस वर्ष ताक्लाकोट जानका लागि व्यास गाउँपालिकाका २१२ जनाले तिब्बत प्रवेश अनुमतिपत्र लिएका छन् । तीमध्ये १५२ जनाले अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले नयाँ अनुमतिपत्र बनाएका छन् ।
चीनले टिंकर भञ्ज्याङको १ नम्बर सीमास्तम्भभन्दा करिब आधा घण्टाको दूरीमा रहेको सापु क्षेत्रमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरी कच्ची सडकसमेत पुर्याएको छ । चीनतर्फ सापुमा सुरक्षाकर्मीको चेकपोस्ट छ भने नेपालतर्फ व्यास गाउँपालिका–१ टिंकर नजिकको छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरी चौकी रहेका छन् । छियालेकबाट १ नम्बर सीमास्तम्भ पुग्न ६–७ घण्टा पैदल यात्रा गर्नुपर्छ ।
नेपाल र चीनबीचको सम्झौताअनुसार सीमा क्षेत्रबाट ३० किलोमिटरभित्र दुबै देशका नागरिकले व्यापार तथा आवतजावत गर्न पाउने व्यवस्था छ । यही व्यवस्थाअन्तर्गत दार्चुला, हुम्ला र बझाङका स्थानीय व्यापारीहरू ताक्लाकोट बजारमा व्यापार गर्दै आएका छन् ।
