तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ७० अर्ब झिक्दै

बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

असार १०, २०८३

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws 70 billion today to manage liquidity

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार पनि ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले करिब साढे दुई महिना (७९ दिन) का लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ । यही कारण राष्ट्र बैंकले सातामा दुई पटक बजारबाट पैसा झिकिरहेको छ । चालु आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय प्रणालीमा साढे १० खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । यसकारण तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज उल्लिखित रकम बजारबाट झिक्न लागेको हो ।

कान्तिपुर

Link copied successfully