ल्ला केही दिनदेखि सुस्ताएको सेयर बजारमा मंगलबार पनि सोही प्रवृत्ति दोहोरिएको छ ।
What you should know
काठमाडौँ —
पछिल्ला केही दिनदेखि सुस्ताएको सेयर बजारमा मंगलबार पनि सोही प्रवृत्ति दोहोरिएको छ । सोमबार साढे १ अंकले घटेको नेप्से मंगलबार २६.१६ अंकले घटेको छ । यससँगै समग्र नेप्से २ हजार ६ सय ७४.४८ अंकमा ओर्लेको छ ।
मंगलबारको गिरावटपछि नेप्से २ हजार ७ सय अंकभन्दा तल ओर्लेको छ । यो पछिल्लो साढे दुई महिनायताकै न्यून हो । यसअघि २२ चैत २०८२ मा नेप्से २ हजार ६ सय ७६.६८ अंकमा थियो । त्यसयता नेप्से बढेर २ हजार ८ सय ६६ अंकमा पुगे पनि पुनः घटेर २७ देखि २८ सयको बीचमा रहिरहेको थियो । नेप्से निरन्तर घट्न थालेपछि मंगलबार फेरि २ हजार ७ सयभन्दा तल ओर्लेको हो ।
मंगलबार कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको घट्यो र १० वटाको स्थिर रह्यो । घटेको बजारमा पनि टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले बढ्यो । यस्तै, लक्ष्मी उन्नत कोषको सेयर मूल्य ५.९८ प्रतिशतले बढ्यो । उक्त दिन बुंगल हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी सबैभन्दा अघि छ ।
उक्त दिन कुल ७२ हजार ८ सय ५४ पटकको सेयर किनबेचमा १ करोड ४० हजार १ सय ६४ कित्ता सेयर खरिद–बिक्री भए । ती किनबेचमा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सोमबार ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो । उक्त दिन सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.४५ प्रतिशतले बढ्यो । तर, बैंकिङ उपसमूहको परिसूचक ०.२९, विकास बैंक ०.४३, वित्त कम्पनी १.२८, होटल तथा पर्यटन १.११, जलविद्युत् १.६३, लगानी १.०३, जीवन बिमा ०.८५, उत्पादन तथा प्रशोधन १.९२, लघुवित्त ०.६९, निर्जीवन बिमा १.०१, अन्य ०.६७ र व्यापार १.५७ प्रतिशतले घटे ।
