गत वैशाखसम्म बिमा कम्पनीहरूले २ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।
What you should know
काठमाडौँ —
बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको सकारात्मक प्रभाव बिमा क्षेत्रमा पर्न थालेको छ । बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बिमा गर्न थालेको जानकार बताउँछन् । बिमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बिमामा आकर्षण बढेको उनीहरूको भनाइ छ ।
गत वैशाखसम्म बिमा कम्पनीहरूले २ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । गत वर्षको तुलनामा यस वर्षको वैशाखसम्म कम्पनीहरूको बिमा शुल्क संकलन १४.२७ प्रतिशतले बढेको हो । गत वर्षको वैशाखसम्म बिमा कम्पनीहरूले १ खर्ब ७६ अर्ब २१ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए ।
पछिल्लो तीन वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ । ब्याजदर घटेर इतिहासकै न्यून विन्दुमा पुगेको छ । ब्याजदर घटेको सकारात्मक प्रभाव बिमा कारोबारमा परेको जीवन बिमक संघका अध्यक्ष प्रवीणरमण पराजुलीले जनाए ।
‘पछिल्ला महिनामा बिमा कारोबार बढेको छ । बैंकमा निक्षेप राख्दा कम ब्याज पाइने भएपछि नागरिक बिमा गर्न आकर्षित भएको देखिन्छ,’ उनले भने, ‘यसका दुई कारण छन् । पहिलो जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ । र, दोस्रो बैंकको ब्याजभन्दा बढी प्रतिफल पाइन्छ ।’ तर बिमा कम्पनीले प्रायः रकम मुद्दती निक्षेपमा राख्ने र बैंकको ब्याज कम हुँदा कम्पनीको प्रतिफल घट्ने पराजुलीको भनाइ छ ।
‘यो क्रम लामो समय चलिरह्यो भने कम्पनीले कि बिमा शुल्क बढाउनुपर्छ अथवा प्रतिफल घटाउनुपर्ने अवस्था आउन सक्छ,’ पराजुलीले भने, ‘बिमा शुल्क बढाउँदा एकातिर नागरिकको खरिद क्षमतामा कमी आउने भएकाले बिमा पहुँच घट्ने जोखिम रहन्छ ।’ अहिले ब्याज घट्दा अल्पकालमा बिमा कारोबार बढेको देखिए पनि समग्र अर्थतन्त्र चलायमान नहुँदासम्म न कम्पनी न बिमित कसैलाई लाभ नपुग्ने पराजुलीले बताए ।
अघिल्लो वर्षको तुलनामा गत वैशाखसम्म जीवन बिमा कम्पनीको बिमा शुल्क १३.९८ र निर्जीवन बिमा कम्पनीको शुल्क १५.४२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष निर्जीवन र जीवन बिमाको नवीकरण बिमा शुल्क संकलनमा वृद्धि भएकाले वित्तीय र बिमा क्षेत्रको वृद्धिदर ९.१६ प्रतिशत रहने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।
बिमा प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेल अधिकारीले पनि तत्कालका लागि बैंक ब्याजदर घटेको सकारात्मक प्रभाव बिमा कारोबारमा देखिएको जनाइन् । ‘बिमितले लागत लाभ विश्लेषण गर्दा बैंकमा पैसा राख्दा पाइने ब्याजभन्दा बिमाबाट प्राप्त हुने लाभ धेरै देखेको हुन सक्छ,’ उनले भनिन्, ‘तर बैंकमा ब्याजदर कम हुँदा पनि कर्जा माग बढेको छैन । तर ब्याज कम हुँदा तत्काललाई बिमा कारोबार बढेको देखिन्छ । तर यसले दीर्घकालमा यो क्षेत्रलाई सबल बनाउँदैन ।’ बिमा क्षेत्रलाई पनि बलियो बनाउन समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउनुपर्ने उनको भनाइ छ । गत वैशाखसम्म नेपालमा बिमा पहुँच करिब साढे ५० प्रतिशत पुगेको छ । बिमा सेवाको विस्तार बढेकाले समग्र बिमा पहुँचमा पनि वृद्धि भएको प्राधिकरणको मासिक तथ्यांक छ । गत वैशाखसम्म मुलुकको कुल जनसंख्याको ४९.३४ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर रहेको प्राधिकरणले बताएको छ ।
तथ्यांकमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बिमा पनि समावेश छ । तर म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाले गरेको बिमा हटाउँदा गत वैशाखसम्म करिब १८.४५ प्रतिशत नागरिकमा मात्र बिमा पहुँच पुगेको प्राधिकरणले जनाएको छ । उक्त तथ्यांकमा म्यादी र लघु म्यादी बिमा समावेश गर्दा करिब ४२.९७ प्रतिशत र म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाले गरेको पनि समावेश गर्दा बिमा पहुँच ५०.६६ प्रतिशत रहेको प्राधिकरणको भनाइ छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता दोहोरिएजस्तै एकै व्यक्तिले पनि एकभन्दा बढी बिमा गरेको हुन सक्ने भएकाले नेपालको कुल जनसंख्याको करिब साढे ५० प्रतिशतमै बिमा पहुँच पुगेको भन्न अप्ठ्यारो हुने जानकार बताउँछन् ।
वैदेशिक रोजगारीमा गएका नेपालीले अनिवार्य रूपमा बिमा गर्नुपर्छ । बिमा पहुँचको तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूको बिमालाई अलग राखिन्छ । बिमा पहुँचको तथ्यांक गणना गर्दा जीवन बिमा सेवा लिएको जनसंख्यालाई मात्र समावेश गरिन्छ । यो अन्तर्राष्ट्रिय प्रचलन हो ।
निर्जीवन बिमा निश्चित अवधिको (म्यादी) हुने भएकाले बिमा पहुँचमा समावेश नगरिएको हो । एक व्यक्तिले एकभन्दा बढी जीवन बिमा पनि गरेका हुन्छन् । यसकारण जारी बिमालेखकै आधारमा त्यत्तिकै संख्यामा नागरिकसम्म सुविधा पुग्यो भन्ने हुँदैन । बिमा पहुँचको तथ्यांक गणना गर्दा यस्तो प्रकारको दोहोरोपन हटाउनुपर्छ । यसका लागि कुल जारी बिमालेखबाट ५ प्रतिशत घटाएर बचेको बिमालेख सोही अवधिको कुल जनसंख्यासँग तुलना गरेर बिमा पहुँच गणना गर्ने विश्वव्यापी प्रचलन छ ।
गत वैशाखसम्म बिमा कम्पनीले १ करोड ६५ लाख २५ हजार ९ सय ४९ वटा जीवन बिमालेख र २८ लाख ३० हजार ६ सय ५२ वटा निर्जीवन बिमालेख बिक्री गरेको प्राधिकरणको तथ्यांक छ ।
हाल मुलुकभर १४ जीवन बिमा, १४ निर्जीवन बिमा र २ पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । ७ वटा लघुबिमा कम्पनीहरूलाई पनि बिमा प्राधिकरणले सञ्चालन अनुमति दिएको छ । गत वैशाखसम्म बिमा कम्पनीले २ हजार ९ सय ९४ वटा शाखा कार्यालयमार्फत मुलुकभर बिमा सेवा दिँदै आएका छन् । अघिल्लो वर्षको वैशाखसम्म यो संख्या २ हजार ९ सय ९८ थियो ।
