सातदोबाटो र एकान्तकुनामा अन्डरपास बनाउन १२ करोड, आगामी आर्थिक वर्षबाटै निर्माण थालिँदै

२०७९/८० को बजेट वक्तव्यबाटै उपत्यकाका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास/फ्लाइओभर निर्माण गर्ने भनिँदै आएको थियो, तर ग्वार्कोबाहेक अन्यत्र ओभरपास बनेको छैन

असार ७, २०८३

विमल खतिवडा

120 million to build underpasses in Satdobato and Ekantakuna, construction to begin from next fiscal year

What you should know

काठमाडौँ —  ट्राफिक जाम बढी हुने सातदोबाटो र एकान्तकुनामा आगामी आर्थिक वर्षमा अन्डरपास निर्माण थालिने भएको छ । यसका लागि १२ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यी दुवै ठाउँमा अन्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिइसकेको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यबाटै उपत्यकाका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास/फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो । अहिलेसम्म ग्वार्कोबाहेक अन्यत्र ओभरपास बनेको छैन । सातदोबाटो र एकान्तकुनामा कलंकीको जस्तै अन्डरपास बनाउने भन्दै अध्ययनको काम सकिएको छ ।

दुई दर्जन सुरुङको अध्ययन, प्राथमिकीकरण गरेर मात्र निर्माणमा जाने गरी थप अध्ययन गरिनेअध्ययनअनुसार सातदोबाटोमा बन्ने अन्डरपासको दूरी ५४०.७८ मिटर हुनेछ । अहिले अध्ययनमा कलंकीको जस्तै अन्डरपास बनाउने र लागत ७२ करोड रुपैयाँ लाग्ने उल्लेख छ । अन्डरपास चार लेनको हुने सडक विभागले जनाएको छ । एकान्तकुनामा पनि अन्डरपास नै बनाउने गरी अध्ययन गरिएको छ । यसको दूरी ३ सय मिटर हुनेछ ।अन्डरपास निर्माणमा ५० करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ । यी दुवै अन्डरपासको ठेक्का इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत गरिने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षमै अन्डरपास बनाउने योजनामा सडक विभाग थियो । तर बजेट अभावले उक्त काम अघि बढ्न सकेन ।

आगामी आर्थिक वर्षबाटै दुवै खण्डमा निर्माणको काम अघि बढाइने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक राजेशप्रसाद पौडेलले बताए । ‘ग्वार्को ओभरपासमा सानातिना मर्मतसम्भारका लागि बजेट छुट्याइएको हो । यसका लागि २० लाख रुपैयाँ छ,’ उनले भने, ‘एकान्तकुना र सातदोबाटोमा ठेक्का गरेर अघि बढ्छौं, यसको लागत डेढ अर्ब लाग्ने अनुमान छ ।’ निर्माण अवधि चार वर्षको हुनेछ । त्यसैले एक वर्षमा काम नसकिने भएकाले अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति लिएर काम अघि बढाइने पौडेलको भनाइ छ ।

सडकमा कम अवरोध हुने गरी काम थालिने पौडेलले जनाए । ‘ग्वार्को ओभरपास निर्माणबाट धेरै कुरा सिकेका छौं, समयमै काम सक्न के–के तयारी गर्नुपर्छ, सबै सकेर मात्र ठेक्कामा जान्छौं,’ उनले भने, ‘सबै सरोकारवाला निकायसँग छलफल गरेर उपयुक्त उपाय अपनाउँदै सवारी आवागमन अस्तव्यस्त नहुने गरी काम गर्छौं ।’

दुई दर्जन सुरुङको अध्ययन, काम दुइटामा मात्रै

दुई दर्जन सुरुङमार्गको पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गरिए पनि प्रभावकारी काम दुइटामा मात्र भएको छ । अहिले नागढुंगा–सिस्नेखोला र सिद्धबाबा सुरुङमार्ग मात्र निर्माणाधीन छन् ।

नागढुंगा सुरुङमार्ग सञ्चालनको अन्तिम चरणमा छ । सिद्धबाबा सुरुङमार्ग पनि निर्माणकै चरणमा छ । आगामी आर्थिक वर्षमा टोखा–छहरे गुर्जेभन्ज्याङ, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ अध्ययन, दोलालघाट–चर्नावती, हात्तीसार–बबई, खुर्कोट–चियाबारी, शिवपुर–भालुबाङ र रानीघाट–भुरीगाउँ सुरुङमार्गको अध्ययन गर्न भन्दै आगामी आर्थिक वर्षको बजेटमा राखिएको छ ।

120 million to build underpasses in Satdobato and Ekantakuna, construction to begin from next fiscal year

खुर्कोट–चियाबारी सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक राजेशप्रसाद पौडेलले बताए । ‘सम्भाव्यता अध्ययनका क्रममा सम्भव देखिएको खण्डमा मात्र काम अघि बढाउँछौं । त्यहीअनुसार विस्तृत अध्ययन गर्छौं,’ उनले भने, ‘बजेटमा सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत केहीको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि विस्तृत अध्ययनमा कुन जाने भनेर छुट्याइएको छैन ।’

सम्भाव्यता अध्ययनबाट निर्माणमा जान सक्ने सम्भव देखिएका सुरुङको मात्र विस्तृतमा अध्ययन अघि बढाइने पौडेलले जनाए । ‘सम्भाव्यता अध्ययन भएका योजना कुनलाई अगाडि लग्ने र कुन सम्भाव्य छ, साउनबाट प्राथमिकीकरण गर्छौं,’ उनले भने ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने उल्लेख गर्दै १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त बजेटले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउने भनिएको थियो । उक्त वर्ष केही काम भएन । २०८१/८२ मा बजेट नै विनियोजन गरिएन । २०८२/८३ मा २७ लाख रुपैयाँ छुट्याइएको भए पनि केही काम अघि बढेन । आगामी आर्थिक वर्षको बजेटमा पनि अध्ययन गरिने उल्लेख छ ।

माघ २०७६ मा आएको चिनियाँ प्राविधिक टोलीले यसको प्रारम्भिक तहको अध्ययन गरेको थियो । २० जनाको चिनियाँ टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेको थियो । टोली सोही वर्षको फागुनमा अध्ययन सकेर चीन फर्किएको थियो । त्यसपछि यस खण्डमा केही प्रगति छैन । प्रारम्भिक अध्ययनका क्रममा टोलीले फिल्ड अवलोकन, तथ्यांक संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । सुरुमा सुरुङको दूरी ७ किमि हुने भनिए पनि प्राविधिक टोलीले चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनमा देखाएको थियो ।

सम्भाव्यता अध्ययनपछि मात्र लागत अनुमान आउनेछ । सुरुङ निर्माण चीन सरकारकै अनुदानबाट हुनेछ । यसको पूर्वसम्भाव्यता अध्ययन भइसकेको र सम्भाव्यता अध्ययनका लागि चीन सरकारसँग पहल भइरहेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले जनाए । ‘सम्भाव्यता अध्ययनका लागि चीन सरकारलाई भनिरहेका छौं,’ उनले भने, ‘सम्भाव्यता अध्ययन गरेपछि उपयुक्त देखिए निर्माणमै जाने गरी विस्तृत अध्ययन अघि बढाउँछौं ।’

टोखाबाट गुज्रेभन्ज्याङ–छहरे–गँगटे सडक अहिले चालु छ । त्यो सडक तादी नदीको किनारैकिनार जाने भएकाले गल्छीबाट पृथ्वी राजमार्ग–थानकोट हुँदै काठमाडौं छिर्नुभन्दा टोखाबाट धेरै नजिक पर्ने र सडकको दूरी छोट्याउन सुरुङ बनाउन लागिएको सडक विभागको भनाइ छ ।

बीपी राजमार्गअर्न्तगत सिन्धुलीको चियाबारी–खुर्कोट सुरुङको सम्भाव्यता अध्ययन र नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दुम्कीबास–बर्दघाट सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन सकिएको छ । अहिले यस खण्डमा दैनिक सवारी चाप रहेकाले छिटो निर्माणमा जानुपर्ने माग पालिकाहरूको माग छ । तर कार्यान्वयन अझै हुन सकेको छैन । चियाबारी–खुर्कोट खण्डमा धेरै घुम्ती र सडकको दूरी लामो भएकाले सुरुङ बनाउनुपर्ने स्थानीय जनप्रतिनिधिको माग छ । कमलामाई नगरपालिका–२ को चियाबारीमाथि फेदीबाट सुरु भई गोलन्जोर गाउँपालिका–७ को तल्लो बारामा सुरुङ निस्कनेछ ।

चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माण भए रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग तराईको दूरीसमेत छोटिनेछ । केन्द्रले यो सुरुङको आर्थिक वर्ष २०७६/७७ मा सम्भाव्यता अध्ययन गरेको थियो । आर्थिक वर्ष २०७४/७५ को अध्ययनअनुसार दूरी ४.९० किमि रहने उल्लेख छ । दूरी र लागत भने डीपीआर बनेपछि यकिन हुनेछ । सम्भाव्यता अध्ययनअनुसार खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न १६ अर्ब ८ करोड लाग्नेछ । चियाबारी–खुर्कोट सडक सुरुङमार्ग बनाउन सके बीपी राजमार्गको नागबेली सडकको दूरी एकतिहाइभन्दा कममा छोटिनेछ ।

चियाबारी–खुर्कोट सडकको दूरी अहिले २९.८ किमि रहेकामा सुरुङमार्ग निर्माण भए ८.५ किमिमा झर्ने बताइएको छ । अहिले उक्त दूरी पार गर्न एकदेखि डेढ घण्टा लाग्छ । सुरुङ निर्माण गर्न सके ६ मिनेटमा उक्त दूरी छिचोलिनेछ । यो सडक खण्ड भएर दिनहुँ १ हजार ५ सयदेखि २ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला भने ७ देखि १० हजारसम्म सवारीसाधन पुग्छन् । यो सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम भने हुनै बाँकी छ । आगामी वर्षको बजेटमा यसलाई सम्भाव्यता अध्ययन गर्ने सूचीमा राखिएको छ ।

नारायणगढ–बुटवल सडक खण्डमा पर्ने दुम्कीबास–बर्दघाटको सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन पनि सकिइसकेको छ । २०८० सालमा गरिएको अध्ययनअनुसार यसको कुल दूरी ५.३ किमि छ । प्रारम्भिक अध्ययनअनुसार यसको निर्माण लागत ३८ अर्ब ६९ करोड रुपैयाँ छ । यो सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन भने सकिइसकेको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully