नेपालका १३ नगरपालिकामा खानेपानी र स्वच्छ वातावरणका लागि एडीबीले स्विकृत गर्‍यो साढे ११ करोड ५० लाख डलर सहुलियत ऋण

एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत १३ वटा नगरपालिकाका ८ लाख ५० हजार मानिसलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा

असार ६, २०८३

एजेन्सी

ADB approves $115 million concessional loan for drinking water and clean environment in 13 municipalities in Nepal

What you should know

काठमाडौँ — एसियाली विकास बैँक (एडीबी) ले नेपालमा तिव्र विकास भइरहेका नगरपालिकाहरूमा खानेपाली, सरसफाइ सेवा एवं संस्थागत क्षमता विकासका लागि  ११ करोड ५० लाख डलर बराबरको सहुलियतपूर्ण कर्जा स्विकृत गरको छ ।  

नेपाल सरकारसँगको सहकार्यमा सन् २०२५ मा अघि बढाइएको ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ मार्फत १३ वटा नगरपालिकाका ८ लाख ५० हजार मानिसलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ । 

नेपालमा तिब्र गतिमा भइरहेको शहरीकरणले आधारभूत सेवा प्रवाहमा चाप सिर्जना गर्दा थुप्रै समुदाय पानी र ढलजस्ता सेवामा भरपर्दो पहुँचबाट बञ्चित रहेको नेपालका लागि एडीबीका आवासीय निर्देशक आर्नो कोश्वाले बताएका छन् । ‘यस परियोजनाले त्यस्ता आधारभूत सेवामा पहुँच विस्तार गर्नुका साथै प्राकृतिक प्रकोप एवं विपद् जोखिम न्यूनीकरण, स्वास्थ्य सेवा, बस्न लायक वातावरण निर्माणमा समेत सहयोग पुर्‍याउनेछ,’ उनले भनेका छन्, ‘दिगो शहरी योजनालाई प्रवर्द्धन गर्दै यसले आर्थिक अवसर र समावेशी विकासलाई सघाउनेछ ।’ 

यस परियोजनाअन्तर्गत ६४ वटा ट्युबवेल, दैनिक ६ करोड लिटर क्षमताका पानी प्रशोधन केन्द्रहरू तथा झन्डै २ हजार १ सय २५ किलोमिटर लामो पानी वितरण सञ्जाल निर्माण गरिनेछ । यसमार्फत ७२ हजार घरधुरीमा खानेपानीको धारा जडान गरिने विज्ञप्तीमा उल्लेख छ । यसमा विपन्न र महिला घरमूली भएका परिवारलाई प्राथमिकता दिइने योजना छ । 

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका लागि ७ करोड ५२ लाख डलरभन्दा बढी रकम छुट्याइएको एडीबीले जनाएको छ । यसबाट  कार्बन उत्सर्जनमा वार्षिक २२ हजार टनभन्दा बढीले कमी आउने अनुमान गरिएको छ । 

आयोजनाको कुल लागत १४ करोड ३८ लाख डलर रहेको छ । यसमा सरकारले २ करोड ८८ लाख डलर योगदान गर्ने भनिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गर्ने यो आयोजना सन् २०३२ को जुनसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ ।

एजेन्सी

Link copied successfully