भन्सार विभागको छानबिन टोलीले कोरला नाकाबाट ल्याइएका सबै ६४९ विद्युतीय सवारीसाधन १४ जेठभित्रै नियमानुसार जाँचपास भएको प्रतिवेदन पेस गरेको छ।
What you should know
काठमाडौं — भन्सार विभागले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनु केही अघि मुस्ताङको कोरला नाकाबाट नियमसंगत रुपमै विद्युतीय सवारीसाधन भित्र्याइएको जनाएको छ । विद्युतीय सवारी साधनको जाँचपास तथा आयातको सन्दर्भमा भन्सार विभागले गठन गरेको समितिले बुझाएको प्रतिवेदनअनुसार नियमानुसारै जाँचपास भएर गाडीहरू भित्रिएको हुन् ।
विभागका निर्देशक सुरेन्द्र पाण्डेयको नेतृत्वमा १७ जेठमा रसुवाबाट र निर्देशक भूपालराज शाक्यको नेतृत्वमा २१ जेठमा मुस्ताङको कोरलानाबाट भित्रिएका सवारीसाधनका सन्दर्भमा छानबिन गर्न टोली खटाइएको थियो । ‘भन्सार विभागका निर्देशकको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत प्रतिनिधिसहितको अनुगमन टोलीले विस्तृृत अध्ययन गरी भन्सार विभाग समक्ष प्रतिवेदन पेस गरेको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदनअनुसार उक्त कार्यालयबाट १२ र १३ जेठमा ६४९ वटा विद्युतीय सवारी साधनले ९ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रिया अघि बढाएको पाइयो ।’
छानबिन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा उल्लेखित सबै विद्युतीय सवारीसाधनहरू १४ जेठभित्रै नेपाल प्रवेश गरीसकेको र सोही मितिसम्ममा भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।
रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूबाट पर्याप्त सावधानी र पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले विभागमा बुझाएको प्रतिवेदनमा औंल्याएको छ । ‘अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेखलगायतको विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधनहरू भन्सारमा भौतिक रुपमा आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कानुनी प्रक्रिया पूरा नगरेको देखिएकाले अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीहरुलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको छ ।’
उक्त कार्यमा संलग्न विद्युतीय सवारीसाधन पैठारीकर्ताहरू लक्ष्मी ई–मोबिलिटि प्राइभेट लिमिटेड काठमाडौं, साइमेक्स इन्क प्राइभेट लिमिटेड काठमाडौं, सीजी मोटर्स प्राइभेट लिमिटेड, पूजा इन्टरनेशनल नेपाल प्राइभेट लिमिटेड, पूजा कन्स्ट्रक्सन नेपाल प्राइभेट लिमिटेड तथा एजेन्ट नम्बर २४८, ८३३ र ८७८ लगायत भन्सार जाँचपास प्रतिनिधिहरूलाई कानुनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखिपठाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरला नाकाबाट ल्याइएका ६४९ वटा बीवाइडी गाडीलाई पर्वतको कुश्मा, कास्कीको हेम्जालगायत स्थानबाट सशस्त्र प्रहरीले २१ जेठमा नियन्त्रणमा लिएको थियो । नियमसंगत रूपमा जाँचपास गरेर भित्रिएको भन्दै सरकारले छाड्न निर्देशन दिएको थियो । त्यसपछि ३१ जेठबाट छाडिदिएका गाडी व्यवसायीले बुझेर लगेका थिए । रसुवा भन्सार कार्यालयमा नियन्त्रणमा लिइएका सवारीसाधन अझै छाडिएको छैन ।
