सेयर बजारको उत्तारचढावभन्दा दूरगामी नीतिमा सरकारको ध्यान छ : अर्थमन्त्री वाग्ले

हामी एक-एक घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ वा तल झर्छ भनेर हेर्दैनौँ, हामी युगौँसम्म प्रभाव पार्ने दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ । -अर्थमन्त्री वाग्ले

असार ५, २०८३

कान्तिपुर संवाददाता

Government's focus is on long-term policies rather than stock market fluctuations: Finance Minister Wagle

What you should know

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता सेयर बजारको अल्पकालीन उत्तारचढावभन्दा मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले स्थिर र परिणाममुखी नीतिमार्फत आर्थिक सुधारको लक्ष्य राखेको स्पष्ट पारे । नयाँ सरकार गठन भएको दुई महिना पुगेको सन्दर्भ जोड्दै अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले मुलुकमा उद्यमशील वातावरण निर्माण गर्न र इमानदार करदातालाई प्रोत्साहन गर्न विशेष जोड दिएको बताए । व्यवसायीहरूलाई सरकारको सहयात्रीका रूपमा चित्रण गर्दै उनले इमानदारपूर्वक राज्यलाई कर तिर्ने र स्वच्छ प्रतिष्पर्धामा विश्वास गर्ने उद्यमीहरूलाई प्रवद्र्धन गर्नु नै बजेटको मुख्य उद्देश्य रहेको उल्लेख गरे । 

कर प्रणालीमा रहेका चुनौतीहरूबारे चर्चा गर्दै अर्थमन्त्री वाग्लेले उच्च करको दरले लगानी निरुत्साहित हुने तर्क गरे । ३९.५ प्रतिशतसम्मको उच्च सीमान्त आयकर रहेको मुलुकमा वैदेशिक लगानी भित्र्याउन कठिन हुने उनको भनाइ थियो । 

‘हामी एक-एक घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ वा तल झर्छ भनेर हेर्दैनौँ, हामी युगौँसम्म प्रभाव पार्ने दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ । नर्वेको जस्तो कर लिने हो भने नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा पनि सोही स्तरको हुनुपर्छ । शिक्षा, स्वास्थ्य, यातायात र पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न नसकिएको अवस्थामा उच्च कर थोपर्नु व्यावहारिक हुँदैन । अहिले कर तिर्न सक्ने क्षमता भएका व्यक्तिहरू पनि प्रणालीबाट भागिरहेको अवस्था छ । करको दरमा गरिने सामयिक समायोजनले लगानीकर्तालाई आकर्षित गर्ने र राजश्वको आधार बलियो बनाउनेछ,’ उनले भने ।  

करको दर घटाउँदा राज्यलाई हुने प्रत्यक्ष फाइदाबारे प्रस्ट पार्दै अर्थमन्त्रीले विद्यमान उच्च दरका कारण करको दायराभन्दा बाहिर रहेकाहरूलाई औपचारिक प्रणालीमा ल्याउन सहज हुने विश्वास व्यक्त गरे । 

कान्तिपुर

Link copied successfully