२५ लाखभन्दा बढीको संस्थापक सेयर किन्दा राष्ट्र बैंकमा विवरण बुझाउन निर्देशन

राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद तथा नामसारी प्रक्रियामा पारदर्शिता बढाउन नयाँ व्यवस्था गरेको हो ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Instructions to submit details to the National Bank when purchasing founder shares worth more than 2.5 million

What you should know

काठमाडौं — अब एकै पटक वा पटक–पटक गरी बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको कुल ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको संस्थापक सेयर खरिद वा नामसारी गर्दा वास्तविक धनी तथा हिताधिकारीको विस्तृत विवरण राष्ट्र बैंकमा बुझाउनुपर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद तथा नामसारी प्रक्रियामा पारदर्शिता बढाउन नयाँ व्यवस्था गरेको हो ।

निर्देशनमा सेयर खरिदकर्ता वा हिताधिकारी व्यक्तिको नाम, ठेगाना, पारिवारिक विवरण, व्यवसायसम्बन्धी कानुनी मापदण्ड पूरा गरेको स्वघोषणा तथा वास्तविक धनीको विवरण लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यी विवरण सुरुमा बैंक तथा वित्तीय संस्थाले लिए पनि राष्ट्र बैंकसमक्ष समेत पेस गर्नुपर्नेछ ।

नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए–नभएको, मुद्दा–मामिला, अनुसन्धान वा प्रशासनिक कारबाहीमा रहेको वा नरहेको, सरकारी बक्यौता तथा राजस्व दायित्व बाँकी रहेको वा नरहेकोलगायत विवरण पनि खुलाउनुपर्ने व्यवस्था निर्देशनमा छ ।

‘कर्जासम्बन्धी कालोसूचीमा परेको अवस्था, स्वार्थको द्वन्द्व हुन सक्ने परिस्थिति, विदेशमा रहेको सम्पत्ति तथा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी रहेको विषयसमेत स्वघोषणामार्फत खुलाउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘राष्ट्र बैंकले सम्बन्धित व्यक्तिको विगतको कार्य अनुभव, संलग्न संस्था, जिम्मेवारी, पुरस्कार, सजाय तथा वित्तीय आचरणसम्बन्धी विवरण समेत अनिवार्य गरेको छ ।’

निर्देशनमा सेयरधनी संस्था भएको अवस्थामा भने उक्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल, संयुक्त वा समूहगत रूपमा १५ प्रतिशत वा सोभन्दा बढी लगानी गर्ने वास्तविक धनी वा हिताधिकारीको विवरण समेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था नयाँ लगानीकर्तामा मात्र सीमित नरही हाल बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी संस्थापक सेयर धारण गरेका सेयरधनी तथा तिनका वास्तविक धनीमा समेत लागु हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully