गर्मीका कारण चितवन निकुञ्ज आउने स्वदेशी र तेस्रो मुलुकका पर्यटक घटे पनि ठूलो संख्यामा भारतीयहरू आउँदा चहलपहल बढेको छ ।
What you should know
चितवन — चर्को गर्मी हुने जेठ महिनामै चितवन निकुञ्जमा भारतीय पर्यटकको संख्या बढेको छ। गर्मीमा निकुञ्ज घुम्ने स्वदेशी र विदेशीको संख्या वैशाखको तुलनामा घटे पनि भारतीयको संख्या भने बढेको हो । भारतीय पर्यटकले यतिबेला साैराहामा चहलपहल बढेको छ । सौराहाका होटल व्यवसायी तथा जीप सफारी सञ्चालक ऋषि तिवारीले भारतको उत्तर प्रदेश (युपी) र बिहार राज्यका बासिन्दा नेपाल आइरहेको बताए । ‘ती राज्यमा गर्मी अत्याधिक छ । नेपालमा मुक्तिनाथ, पोखरा र मनकामना घुम्ने लक्ष्य राखेर आएका भारतीय चितवन पनि बस्ने गरेका छन्,’ उनले भने । नेपालको हावापानी चिसो र बस्न सस्तो भएको भारतीयले बताउने गरेको उनले सुनाए ।
सौराहाका पर्यटन तथा होटल व्यवसायीहरुका अनुसार अघिल्ला वर्षमा गर्मीका बेला चितवन नै लक्षित गरेर आउने भारतीय पर्यटक कम हुने गरेका थिए । यो बेला पोखरा, मुक्तिनाथ क्षेत्रमा जस्तो भारतीयको ठूलो भीडभाड चितवनमा देखिँदैन । तर यो वर्ष जेठमा पनि उल्लेख्य संख्यामा भारतीय पर्यटक आएका छन् ।
सौराहा आउने भारतीयहरु प्रायःले जीप सफारी गर्छन् । ‘मुक्तिनाथ जान आएकाहरु फर्कँदा चितवन बस्ने गरेको भेटेको छु । पशुपतिनाथ पुगेर फर्कनेहरु पनि एक रात यहाँ बस्छन् । धेरै बस्नेभन्दा पनि प्राय सुनौली हुँदै भारत फर्कन लागेकाहरु एक रात यहाँ बस्ने गरेको पाइन्छ,’ सौराहाको नेचर हेरिटेज होटलका सञ्चालक रमेश रेग्मीले भने । निजी गाडीमा दुई/चार जना आउने पनि छन् ठूलाठूला बसमा समूहमा आउने भारतीय पनि छन् ।
साना निजी गाडीमा आउने भारतीयले होटलमै खाने गर्छन् । समूहमा ठूला गाडीमा आउने भारतीयले प्रायः आफैले पकाएर खान्छन्, सुत्नका लागि होटलको रुम प्रयोग गर्ने रेग्मीले बताए । चितवन आएपछि छोटो समयमा जंगल डुल्न पाइने भएका कारण उनीहरुले जीप सफारी गर्ने रेग्मीले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म स्वेदशी, विदेशी र सार्क क्षेत्रका गरी कुल २ लाख ५६ हजार ८ सय पर्यटकले निकुञ्ज घुमेको जानकारी दिए । जसमध्ये स्वदेशी सर्वाधिक १ लाख ५३ हजार ८७४ छन् । विदेशी ८३ हजार ७१ र सार्क क्षेत्रका १९ हजार ८५५ छन् ।
जेठ महिनामा मात्र चितवन निकुञ्ज घुम्ने स्वदेशी १६ हजार ६२८ भए । विदेशी पर्यटक पनि वैशाखको तुलनामा जेठमा घटेका छन् । निकुञ्जको विवरण अनुसार वैशाखमा ९ हजार ८८१ विदेशी पर्यटक आएका थिए । जेठमा ७ हजार ४३३ मात्रै भए । विदेशीको संख्या पनि गएको कात्तिकमा सर्वाधिक ११ हजार ८०९ थियो । तर जेठमा निकुञ्ज घुम्ने भारतीय अन्य महिनाको तुलनामा उल्लेख्य रहेको छ । वैशाखमा १ हजार ८१३ भारतीयले निकुञ्ज घुमेका थिए । जेठमा यो संख्या ५ हजार ८६३ पुग्यो ।
नेपालीहरु सबैभन्दा धेरै गएको कात्तिक महिनामा १९ हजार १०९ जनाले निकुञ्ज घुमेका थिए । त्यसपछि सबैभन्दा धेरै वैशाखमा १८ हजार ४६ जनाले निकुञ्ज घुमे । सामान्यतया कार्तिकपछि चैतमा धेरैले निकुञ्ज घुम्छन् । तर यो वर्ष चैतमा वैशाखको भन्दा पनि कम पर्यटक आए । चैत भन्दा धेरै पर्यटक फागुनमा पनि आएका थिए । वैशाखपछि जेठमा पनि नेपालीको संख्या घटेको छ ।
चितवन निकुञ्ज घुम्ने भारतीयको संख्या यसअघि पुषमा ३ हजार १२ पुगेको थियो । त्यसपछि कुनै पनि महिनामा २४ सय पनि पुगेको देखिँदैन । गत साउनमा सार्क क्षेत्रका जम्मा ३९३ जनाले निकुञ्ज घुमेका थिए । पुसपछि चैतमा २ हजार ३४४ भारतीयले निकुञ्ज घुमेका थिए ।
भारतीयको संख्या हृवात्तै बढेका कारण चितवन निकुञ्ज घुम्ने कुल पर्यटकको गत ११ महिनामा कात्तिकपछि धेरै पर्यटक आउने महिना जेठ भएको छ । यसअघि चैतमा भारतीय पर्यटक धेरै आउने गरेका थिए ।
चितवनको पर्यटनमा सातामा दुई दिन सरकारी विदाको प्रभावले पनि राम्रो चहलपहल भइरहेको उनले सुनाए । वन्यजन्तु अवलोकन गर्ने पर्यटकका लागि चितवन निकुञ्ज देशकै पहिलो गन्तव्य हो । यहाँ दुर्लभ वन्जन्तु एकसिंगे गैंडा, पाटे बाघलगायतका जीवजनावर देख्न पाइन्छ ।
