५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाएपछि मर्स्याङ्दीका किसान दंग

मर्स्याङ्दी गाउँपालिकाका कृषि विकास शाखा प्रमुख विनोद दाहालका अनुसार ४७ वटा ५ दशमलव ५ हर्सपावर र १३ वटा ७ हर्सपावर क्षमताका हाते ट्याक्टर वितरण गरिएको छ ।

असार ४, २०८३

आश गुरुङ

Farmers in Marsyangdi shocked after receiving hand tractors at 50 percent subsidy

What you should know

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी भरामचौरकी ५२ वर्षीया लेउमाया सार्कीका श्रीमान् र छोरा रोजगारीका लागि विदेशमा छन् । घरायसी कामदेखि खेतबारीसम्मको जिम्मेवारी उनकै काँधमा छ । असार लागेसँगै धान रोपाइँको चटारो बढे पनि गाउँमा गोरु पाउन मुस्किल छ । यस्तै अवस्थामा उनले बिहीबार मर्स्याङ्दी गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाइन् ।

‘अब त काम गर्न धेरै सजिलो हुने भयो । सिकेर आफैं खेतबारी जोत्नुपर्ला,’ उनले खुसी हुँदै भनिन् ।

लेउमायाजस्तै मर्स्याङ्दी गाउँपालिका–५, सञ्जापुका ६५ वर्षीय सुग्दन गुरुङ पनि हाते ट्याक्टर पाएपछि दंग छन् । ‘गाउँमा गोरु हराउन थाले । ट्याक्टर भित्रियो,’ उनले भने, ‘अहिलेसम्म ट्याक्टरले जोतेको छैन, अब जोत्न सुरु गर्ने हो ।’

यी दुई किसान मात्र होइन, बिहीबार एकैदिन गाउँपालिकाका ६० जना किसानले हाते ट्याक्टर बुझेका छन् । मर्स्याङ्दी गाउँपालिका कृषि विकास शाखा प्रमुख विनोद दाहालका अनुसार ४७ वटा ५ दशमलव ५ हर्सपावर र १३ वटा ७ हर्सपावर क्षमताका हाते ट्याक्टर वितरण गरिएको हो । ५० प्रतिशत अनुदान उपलब्ध गराइएकाले किसानले ट्याक्टरको प्रकारअनुसार न्यूनतम २८ हजारदेखि अधिकतम ३२ हजार रुपैयाँसम्म मात्रै व्यहोरेका छन् ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत हाते ट्याक्टर तथा अन्य कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव र परम्परागत पशुशक्तिको प्रयोग घट्दै गएकाले यान्त्रीकरणलाई प्राथमिकता दिइएको बताए । ‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यअनुसार किसानलाई आवश्यक उपकरण उपलब्ध गराएका हौं,’ उनले भने, ‘यसले उत्पादन लागत घटाउनुका साथै खेतीपातीलाई सहज बनाउने विश्वास लिएका छौं ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलका अनुसार कार्यक्रमका लागि ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोही बजेटबाट ६० वटा हाते ट्याक्टरसँगै २० वटा कुटानी–पिसानी मेसिन, १४ वटा घाँस काट्ने मेसिन, १३ वटा स्प्रेयर र २ वटा मदानी वितरण गरिएको उनले बताए ।

कृषि उपकरण वितरणसँगै किसानलाई हाते ट्याक्टर तथा अन्य सामग्रीको प्रयोग, मर्मतसम्भार र सुरक्षासम्बन्धी अभिमुखीकरणसमेत गराइएको गाउँपालिकाले जनाएको छ । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully