सर्वोच्च अदालतबाट यो विवादको अन्तिम निरुपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत् लाइन नकाट्न र काटिएका उद्योगमा पुनः जोड्न परिसंघले माग गरेको छ ।
काठमाडौँ — नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रभित्रको भाडासम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगहरूमा विद्युत् लाइन नकाट्न आग्रह गरेको छ ।
औद्योगिक क्षेत्रभित्रको भाडा वृद्धिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट १२ चैत २०८१ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको नयाँ भाडादर २०७९ असार २२ गतेदेखि मात्रै लागू हुने फैसला गरेको छ ।
उक्त फैसलालाई उद्योगीहरूले स्वीकारसमेत गरिसकेको अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालत गएको अवस्था विद्यमान रहेको परिसंघले जनाएको छ ।
‘सर्वोच्च अदालतबाट यो विवादको अन्तिम निरुपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगहरूमा विद्युत् लाइन नकाट्न र काटिएका उद्योगहरुमा पुनः जोड्न परिसंघ हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
अदालतको फैसला अनुसार केही उद्योगहरुले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगीहरूले समेत तिर्न खोजिरहेको तर ७ दिनको समय थोरै भएको गुनासो आएकाले भाडा तिर्ने समय थप गर्न समेत परिसंघले आग्रह गरेको छ ।
समग्र अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको भन्दै उद्योगलाई निर्बाध सञ्चालन गर्न सहयोग एवं सहजीकरण गर्न भनेको छ ।
