बजेट घोषणा पछिका १२ कारोबार दिनमध्ये ९ दिन नेप्से घटेको छ, मंगलबार परिसूचक २७०५.४५ बिन्दुमा झर्दै बजार पुँजीकरण पौने ११ अर्बले घट्यो।
What you should know
काठमाडौँ — सेयर बजारको घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति दोहोर्याएको हो ।
त्यसो त सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेपछिका अधिकांश कारोबार दिनमा नेप्से घटेको छ । त्यसयता १२ दिन सेयर बजार खुलेको छ । जसमा ९ दिन नेप्से घटेको छ भने ३ दिन मात्र बढेको छ । बजेट घोषणाअघि २ हजार ७ सय ८२ अंकमा रहेको नेप्से मंगलबार २ हजार ७ सय ५ अंकमा ओर्लेको छ ।
मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.३१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा शून्य दशमलव २३ प्रतिशतले घटेको नेप्से २ हजार ७ सय ५ दशमलव ४५ बिन्दुमा ओर्लिएको छ । गत बिहीबारदेखि नेप्से घटिरहेको छ । गएका चार कारोबार दिनमध्ये सोमबार नेप्से १२.२६ अंकले घटेको थियो । बाँकी दिन भने एकल अंकको गिरावट भएको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट घोषणा गरेपछि अधिकांश दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आउनुले सेयर बजारमा उत्साह देखिएको छैन । यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम, कारोबार संख्या र कारोबार सेयर कित्तामा पनि कमी आउनुले सेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको पुष्टि हुन्छ ।
मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्यो, १७७ कम्पनीको मूल्य घट्यो र १५ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ४८ हजार १ सय १६ पटकको सेयर किनबेचमा ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । किनबेचमा १ करोड ७ लाख ८ हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री भए । सोमबारको तुलनामा मंगलबारको कारोबार रकम घटेको हो । सोमबार ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
दुईतिहाइनिकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षा र अर्थशास्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिका साता सेयर बजारमा गिरावट आएको छ । बजेटमार्फत सरकारले सेयर बजारमा लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ । यससँगै लाभकर अन्तिम हुने/नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिए पनि सेयर बजार बढ्न सकेन । जानकारहरूले बजार बढ्न नसक्नुका दुई कारण औंल्याएका छन् । पहिलो, लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम बजेटले पनि गरेन । दोस्रो, पुँजीगत लाभकरको दर बढाइयो ।
पछिल्ला महिनामा धितोपत्र कारोबारसँग सम्बन्धित विषयमा केही उद्योगी व्यवसायीबारे अनुसन्धान गरिरहेकाले अरू लगानीकर्ता पनि त्रासमा रहेको र यसको असर सेयर बजारमा परेको लगानीकर्ताहरू बताउँछन् । आमलगानीकर्ताको मनोबल घटेको अवस्थामा बजेटमार्फत करको दर पनि बढ्नुले मनोबल खस्कन थप सघाएको उनीहरूको भनाइ छ । यद्यपि सरकारले बजेटमार्फत पुँजीगत लाभकर अन्तिम हुने/नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिएकाले दीर्घकालमा सेयर बजारमा यसको सकारात्मक प्रभाव पर्न सक्ने लगानीकर्ताको अनुमान छ ।
अधिकांश नीति सेयर बजार अनुकूल रहे पनि लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्दा सेयर बजार घटिरहेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । ‘हाल सरकारले निजामती कर्मचारी (अवकाशप्राप्त र कार्यरत), सार्वजनिक निकायमा बसेका (पहिले/अहिले) निजी क्षेत्रका प्रतिनिधिहरूलाई धमाधम सम्पत्ति विवरण भर्न भनेको छ । निजी क्षेत्रका उद्योगी व्यवसायी र केही निजामती कर्मचारीहरू पनि सेयरमा सक्रिय थिए,’ उनले भने, ‘उनीहरू सम्पत्ति विवरण बुझाउन व्यस्त भएसँगै त्रास पनि रहेकाले लगानी गर्न नसकेका हुन् ।’
सम्पत्ति विवरण बुझाउने समय सरकारले एक महिना थपेको छ । यो अवधिभर त्रास कायमै रहने भएकाले सेयर बजारमा उच्च वृद्धिको सम्भावना न्यून रहेको रानाभाटले बताए । सेयर बजार वृद्धिका लागि राज्यले लगानीकर्ताको आत्मविश्वास बढाउने खालको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटे । तर, व्यापारको परिसूचक १०.५६ र सामूहिक लगानी कोषको सामान्य अंकले वृद्धि भएको छ । घट्ने उपसमूहमा निर्जीवन बिमाको ४५.७१, जीवन बिमा २४.९५ र विकास बैंकको २४.३५ अंकले ऋणात्मक रहे ।
सोपान फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य १५, एपोलो हाइड्रोपावरको १४.९८, दोल्ती पावर कम्पनीको ६.८९, बुंगल हाइड्रो लिमिटेडको ५.३५ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको मूल्य ५.१९ प्रतिशतले बढे । तर, सयपत्री हाइड्रोपावर लिमिटेडको ४.९०, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ४.०३, एनआईएमबी डिवेञ्चर २०९० को ३.८४, कालिञ्चोक हाइड्रोपावर लिमिटेडको ३.५४, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ३.४१ प्रतिशतले घट्यो ।
नेप्से घटेपछि मंगलबार मात्रै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि पौने ११ अर्बले खुम्चिएको छ । जसअनुसार सोमबार ४६ खर्ब ३३ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४६ खर्ब २२ अर्ब रुपैयाँ कायम भएको छ । १५ जेठयता सेयर बजारको आकार १ खर्ब २४ अर्बले घटिसकेको छ ।
