भारतीय पक्षले हालै लागु गरेको नयाँ गुणस्तर परीक्षण तथा अवशेष (रेजिड्यु)सम्बन्धी मापदण्डका कारण नेपाली अर्थोडक्स चियाको निर्यात प्रभावित हुन थालेपछि व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।
What you should know
धनकुटा — धनकुटासहित कोशी प्रदेशका पहाडी जिल्लाका अर्थोडक्स चिया उत्पादक कम्पनी तथा व्यवसायीहरूले नेपाली चियाको गुणस्तर परीक्षणका लागि स्वदेशमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अत्याधुनिक प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । भारतीय पक्षले हालै लागु गरेको नयाँ गुणस्तर परीक्षण तथा अवशेष (रेजिड्यु)सम्बन्धी मापदण्डका कारण नेपाली अर्थोडक्स चियाको निर्यात प्रभावित हुन थालेपछि व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।
धनकुटा, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभालगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादनका रूपमा परिचित भए पनि नेपालमा विश्वसनीय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षण प्रयोगशालाको अभावले निर्यातमा पटक पटक समस्या आउने गरेको उत्पादक तथा व्यवसायीहरूको गुनासो छ।
धनकुटाको हिलेस्थित गुराँसे टी स्टेट प्रालिका प्रबन्धक नवीन कार्कीले भारतले समय समयमा विभिन्न प्राविधिक तथा प्रशासनिक अवरोध सिर्जना गर्दा नेपाली चिया निर्यात प्रभावित हुने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि नेपालमै अत्याधुनिक परीक्षण प्रयोगशाला स्थापना अपरिहार्य रहेको बताए ।
'अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले चियामा रहेका विषादीको अवशेष, सूक्ष्मतत्व तथा अन्य गुणस्तर सूचकहरूको परीक्षण गर्न सक्छ,' कार्कीले भने, 'त्यस्तो प्रयोगशालाबाट प्राप्त प्रतिवेदन अन्तर्राष्ट्रिय बजारमा स्वीकार्य हुने भएकाले नेपाली चियाको विश्वसनीयता र प्रतिस्पर्धात्मक क्षमता समेत बढ्छ ।'
उनले वर्षौंदेखि चिया क्षेत्रले अन्तर्राष्ट्रियस्तरको परीक्षण प्रयोगशाला स्थापनाको माग गर्दै आए पनि सम्बन्धित निकायले गम्भीर चासो नदिएको गुनासो गरे । 'हामीले अन्तर्राष्ट्रिय मापदण्डको चिया परीक्षण प्रयोगशाला स्वदेशमै हुनुपर्छ भनेर धेरै वर्षदेखि आवाज उठाइरहेका छौं । तर सुनिदिने निकाय छैन,' उनले भने, 'भारतमा चिया बोर्डले गरेको निर्णय सरकारकै तहबाट कार्यान्वयन हुन्छ । तर हाम्रोमा आधारभूत पूर्वाधार अभाव हुँदा उद्योगी र किसानले दुःख र घाटा बेहोर्नुपरेको छ ।'
अर्थोडक्स चिया उत्पादक तथा व्यवसायिका अनुसार नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने अधिकांश चिया भारतीय प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता छ । नयाँ मापदण्ड लागु भएसँगै परीक्षण प्रक्रिया थप जटिल, खर्चिलो र समय लाग्ने बनेको उनीहरूको भनाइ छ । यसले किसान, उद्योगी तथा निर्यातकर्तामाथि आर्थिक र प्रशासनिक भार थपिएको छ ।
चिया तथा कफी विकास बोर्ड हिलेका प्रमुख बसन्तराज राजभण्डारीका अनुसार धनकुटा र भोजपुरमा मात्रै करिब ११ हजार ४ सय रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । ती जिल्लाबाट वार्षिक करिब २ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुने गरेको उनले जानकारी दिए ।
धनकुटा, भोजपुर, तेह्रथुम, पाँचथर र इलामलगायतका जिल्लामा मुख्यतः ब्ल्याक र ग्रीन गरी २ प्रकारका अर्थोडक्स चिया उत्पादन हुन्छ । गुणस्तर र प्रकारअनुसार यस्तो चिया प्रतिकिलो ८०० देखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छ । यहाँ उत्पादित चिया भारत, युरोप, अमेरिका, जापान तथा अन्य अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएको छ ।
विशेषज्ञहरूका अनुसार अर्थोडक्स चिया उत्पादन प्रक्रियामा चियापातको प्राकृतिक स्वरूप जोगाइने भएकाले यसको स्वाद, सुगन्ध र गुणस्तर उच्च मानिन्छ । सामान्यतया दुध र चिनीबिना सेवन गरिने यो चिया विश्व बजारमा प्रिमियम उत्पादनका रूपमा चिनिन्छ ।
चिया क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले नेपाल सरकारले चिया निर्यातलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना, गुणस्तर प्रमाणीकरण प्रणाली सुदृढीकरण तथा निर्यात प्रक्रियामा सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् । गुणस्तर परीक्षणका लागि विदेशी प्रयोगशालामाथिको निर्भरता अन्त्य गर्न सकिए नेपाली अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजारमा अझ मजबुत उपस्थिति बनाउन सक्ने गुराँसे टिस्टेटका प्रबन्धक नवीन कार्की बताउँछन् ।
