दुई महिनामै बैंकिङ कसुरका ६३ उजुरी, अधिकांश चेक बाउन्सका

प्रहरीका अनुसार वैशाखमा ३३ र जेठ महिनामा ३० वटा उजुरी दर्ता भएका हुन् । दर्ता भएका बैंकिङ कसुरका अधिकांश उजुरी चेक बाउन्ससँग सम्बन्धित रहेका छन् ।

असार ३, २०८३

शंकर आचार्य

63 complaints of banking offences in two months, most of them cheque bounces

What you should know

पर्सा — जिल्ला प्रहरी कार्यालय पर्सामा पछिल्लो दुई महिनाको अवधिमा बैंकिङ कसुरसम्बन्धी ६३ वटा उजुरी दर्ता भएका छन् । प्रहरीका अनुसार वैशाखमा ३३ र जेठ महिनामा ३० वटा उजुरी दर्ता भएका हुन् । दर्ता भएका बैंकिङ कसुरका अधिकांश उजुरी चेक बाउन्ससँग सम्बन्धित रहेका छन् ।

पछिल्लो समय चेकमार्फत हुने आर्थिक कारोबार बढेसँगै चेक बाउन्सका घटना र त्यससम्बन्धी उजुरी पनि बढ्दो क्रममा रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार चेकमार्फत भएको कारोबारमा कानुनी प्रक्रिया तुलनात्मक रूपमा छिटो अघि बढ्ने भएकाले धेरैले चेकलाई लेनदेनको माध्यम बनाउने गरेका छन् । यही कारण चेक बाउन्सका मुद्दा पनि बढ्दै गएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार यस्ता उजुरी लिएर आउने सेवाग्राहीलाई सकेसम्म सम्बन्धित अदालतमै मुद्दा दर्ता गर्न सुझाव दिने गरिएको छ । उनका अनुसार अदालतमा मुद्दा दर्ता भए देवानी प्रकृतिको विवादका रूपमा प्रक्रिया अघि बढ्ने भए पनि प्रहरीमार्फत दर्ता भएका मुद्दा फौजदारी प्रकृतिका रूपमा अगाडि बढ्छन् । ‘प्रहरीमा दर्ता भएका मुद्दामा मेलमिलाप तथा उजुरी फिर्ता हुने सम्भावना पनि रहन्छ,’ बस्नेतले भने, ‘तर अदालतमा मुद्दा दर्ता भएपछि न्यायिक प्रक्रियाअनुसार अगाडि बढ्छ ।’

बैंकिङ कसुरको मुद्दा दर्ता भएपछि आरोपितविरुद्ध पक्राउ पुर्जी जारी हुने र त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । तर प्रारम्भिक रूपमा पीडित देखिने व्यक्ति नै छानबिनका क्रममा पीडक देखिने घटना पनि भेटिने गरेको डीएसपी बस्नेतको भनाइ छ ।

उनका अनुसार विशेषगरी जग्गा कारोबारमा संलग्न व्यक्ति तथा अवैध रूपमा उच्च ब्याजमा ऋण लगानी गर्ने मिटरब्याजीहरूले चेकको दुरुपयोग गर्ने प्रवृत्ति बढी देखिएको छ । ‘कतिपय अवस्थामा ऋणको साँवा रकमभन्दा दोब्बर वा त्योभन्दा बढी रकमको चेक ऋणीसँग लिएको पाइन्छ,’ उनले भने, ‘त्यसैले वास्तविक पीडितलाई थप अन्याय नहोस् भनेर प्रहरीले दुवै पक्षको भनाइ र प्रमाण बुझेर मात्र प्रक्रिया अघि बढाउने गरेको छ ।’ 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully