धनकुटाकी कविताको ३१ वर्षे उद्यम यात्रा, तीन लाखबाट १५ करोडको उद्योग

तेह्रथुमबाट धनकुटा आएकी विष्णुमायाले २०५२ मा सानो लगानीबाट सुरु गरेको उद्योगले अहिले देशभर २० वटा उत्पादन बेच्दै ८ जनालाई रोजगारी दिएको छ।

असार २, २०८३

विनोद घिमिरे

Dhankuta's Kavita's 31-year entrepreneurial journey, from 300,000 to 150 million rupees industry

What you should know

धनकुटा — धनकुटामा विष्णुमाया कन्दङबालाई धेरैले उनको वास्तविक नामभन्दा 'कविता' भनेर चिन्छन्। तीन दशकभन्दा बढी समयदेखि फलफूल प्रशोधन क्षेत्रमा सक्रिय उनी ग्रामीण महिला उद्यमशीलताको सफल उदाहरण बनेकी छन्। तीन लाख रुपैयाँको लगानीबाट सुरु गरेको उद्योग अहिले १५ करोड रुपैयाँभन्दा बढीको लगानी भएको व्यवसायमा विस्तार भएको छ।

२०४८ सालमा तेह्रथुमबाट धनकुटा विवाह गरेर आएकी कविताले स्थानीय रूपमा प्रशस्त उत्पादन हुने जुनार र सुन्तला बजार अभावमा खेर गएको देखेपछि फलफूल प्रशोधनमार्फत आम्दानी गर्ने सोच बनाइन्। त्यही सोचले उनको जीवनको दिशा नै बदलिदियो।

२२ दिनकी सुत्केरी अवस्थामै उनले सुन्तला प्रशोधनसम्बन्धी तालिम लिन संघर्ष गरिन्। सुरुमा आयोजकले अस्वीकार गरे पनि तत्कालीन गाविस अध्यक्ष नरेन्द्र निरौलाको पहलपछि उनी तालिममा सहभागी भइन्। 'स्टेशनरी पनि चाहिँदैन, भत्ता पनि चाहिँदैन, तालिममा बस्न मात्रै दिनुहोस् भने पछि सहभागी हुन दिए,' उनले भनिन्, 'त्यही तालिमपछि २०५२ सालदेखि फलफूल प्रशोधन सुरु गरेँ । २०५६ सालमा कविता फलफूल प्रशोधन उद्योग नै दर्ता गरेँ ।'

भाडाको घरबाट सुरु भएको उद्योगले स्थानीय किसानका उत्पादनलाई बजारयोग्य वस्तुमा रूपान्तरण गर्दै विस्तार पायो। २०६६ सालमा उनी धनकुटाकै उत्कृष्ट उद्यमी घोषित भइन्। उत्कृष्ट उद्यमीका रूपमा उनले थाइल्यान्ड, कम्बोडिया, भियतनाम, सि‌ंगापुर र मलेसियासम्म भ्रमण गर्ने अवसर पाइन्। अन्तर्राष्ट्रिय अनुभवले उद्योग सञ्चालन र बजार विस्तारमा नयाँ दृष्टि दिएको उनी बताउँछिन्।

सुरुमा जुनार र सुन्तलाको प्रशोधनबाट सुरु भएको उद्योगले अहिले २० भन्दा बढी उत्पादन बजारमा ल्याएको छ। आँप, सुन्तला र बेलका जुस तथा स्क्वास, बेलको स्क्वास, आँप, कागती, तामा र खुर्सानीका अचार, रेडी–टु–सर्भ पेय पदार्थ, टमाटर केचप र सोया सस उद्योगका प्रमुख उत्पादन हुन्। धनकुटाबाट सुरु भएको बजार अहिले काठमाडौंसहित देशका विभिन्न स्थानसम्म विस्तार भएको छ।

उद्योग सञ्चालनका क्रममा उनले प्राविधिक अभाव, राजनीतिक अस्थिरता, माओवादी सशस्त्र द्वन्द्व र कोरोना महामारीजस्ता चुनौती पनि भोगिन्। कोरोना महामारीका क्रममा मात्रै करिब ५८ लाख रुपैयाँ बराबरको क्षति भएको उनी बताउँछिन्। कोरोनापछि टुटेको व्यापारिक सञ्जाल अझै पूर्णरूपमा पुनःस्थापित हुन नसकेको उनको भनाइ छ।

राज्यले बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइदिनुपर्ने उनको माग छ। 'हाम्रो उत्पादन बिक्ने ग्यारेन्टी गरिदियोस्, त्यति भए हामी आफैं चलाउन सक्छौं,' उनी भन्छिन्।

उद्योगले अहिले नियमित र आंशिक गरी करिब आठ जनालाई रोजगारी दिएको छ। विशेषगरी वैदेशिक रोजगारीमा रहेका पुरुषका परिवारका महिलालाई रोजगारी र सीप प्रदान गर्दै आएको उनी बताउँछिन्। उद्योगमा काम सिकेका धेरै महिलाले पछि आफ्नै व्यवसाय सुरु गरेकोमा उनी गर्व गर्छिन्। 'म जागिरमा गएको भए एक्लै जागिरे हुन्थें,' उनी भन्छिन्, 'उद्योग हुँदैनथ्यो र अरूलाई रोजगारी दिन सक्दिनथें। अहिले मेरो परिवारसँगै धेरै परिवारको जीविकोपार्जन यो उद्योगसँग जोडिएको छ।'

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully