वीरगन्ज भन्सारलाई असारमै ५१ अर्ब राजश्व संकलनको चुनौती

चालु आर्थिक वर्षको अन्त्य नजिकिंदै गर्दा वीरगन्ज भन्सार कार्यालयले निर्धारित वार्षिक लक्ष्यको ८१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।

असार २, २०८३

शंकर आचार्य

Birgunj Customs faces challenge of collecting Rs 51 billion in revenue in Ashar

What you should know

पर्सा — देशकै सबैभन्दा ठूलो स्थल नाका भन्सार वीरगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको राजस्व संकलनमा पछिल्ला महिनामा सुधार देखिए पनि लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न भने सकेको छैन ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा जेठसम्म यो भन्सारले २ खर्ब २९ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । वार्षिक लक्ष्य २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ रहेकामा जेठसम्म लक्ष्यको ८१ दशमलव ०३ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यस हिसाबले आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा करिब ५१ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजस्व अपुग भएको छ ।

जेठका लागि २६ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा २२ अर्ब ८ करोड रुपैयाँ संकलन भएको छ, जुन मासिक लक्ष्यको ८४ दशमवलव ८८ प्रतिशत हो।

पेट्रोलियम पदार्थ, एलपी ग्यास, सवारी साधन तथा औद्योगिक कच्चा पदार्थको आयातमा आधारित राजस्व संरचनाका कारण बजारको माग, औद्योगिक उत्पादन र आयात प्रवृत्तिले राजस्व संकलनलाई प्रत्यक्ष प्रभाव पारिरहेको देखिएको छ। भन्सारको राजस्व संरचनामा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ।

जेठसम्मको तथ्यांकअनुसार आयात मूल्यका आधारमा एलपी ग्यास, एटीएफ, पाम तेल, पोलिथिन दाना, मोटरसाइकल, एयर कन्डिसनर, पेट्रोलियम पदार्थ लगायतका वस्तु शीर्ष स्थानमा रहेका छन्। राजस्व योगदानका हिसाबले पनि पेट्रोलियमजन्य वस्तु, सवारी साधन तथा औद्योगिक कच्चा पदार्थ प्रमुख स्रोतका रूपमा रहेका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम आन्तरिक बजारमा उपभोग अपेक्षाअनुसार नबढ्नु, औद्योगिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु तथा आयातको वृद्धिदर सीमित रहनुले राजश्व लक्ष्यमा दबाब परेको बताउँछन् । यद्यपि पछिल्ला महिनामा पेट्रोलियम पदार्थ र सवारी साधनको आयातमा सुधार देखिएकाले राजस्व संकलनमा पनि क्रमिक वृद्धि हुदै गएको उनी बताउँछन् ।

देशको कुल भन्सार राजस्वमा सबैभन्दा ठूलो योगदान दिने वीरगन्ज भन्सार कार्यालयले सीमा व्यापार सहजीकरण, अवैध व्यापार नियन्त्रण र राजस्व संकलनलाई मुख्य जिम्मेवारीका रूपमा अघि बढाइरहेको छ। तर लक्ष्यअनुसारको राजस्व प्राप्तिका लागि आयात व्यापारमा थप विस्तार, औद्योगिक गतिविधिमा सुधार तथा बजार मागको पुनरुत्थान आवश्यक देखिएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह बिष्ट  पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पछि त्यसको असर इन्धनबाट संकलन हुने राजश्वमा प्रत्यक्ष रुपले परेको बताउछन् । ‘यो भन्सारले संकलन गर्ने राजश्वमा सबैभन्दा ठूलो योगदान इन्धनकै हुने गरेको छ, राजश्व दिने प्रमुख इन्धनको आयातमा लाग्ने भन्सार महशुल तथा पूर्वाधार विकास करमा छुट दिइएपछि त्यसको प्रत्यक्ष प्रभाव राजश्व संकलनमा देखिएको हो,’ उनले भने ।

अन्य बस्तुको आयात पनि घटेकाले त्यसले पनि राजश्व असूलीमा प्रभाव देखिएको उनले बताए । अब एक महिनामा ५० अर्ब रुपैयाँ बढी राजश्व संकलन असम्भव रहेकाले चालु आवको राजश्व असूली लक्ष्य भेट्टाउन सम्भव नरहेको पनि उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully