सोमबार ४ अर्ब ४१ करोड २० लाख रुपैयाँबराबर सेयर कारोबार भएको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२.२६ अंकले घटेको छ । अघिल्ला दुई दिन एकल अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृति दोहोर्याएको हो ।
गत शुक्रबारको तुलनामा ०.४५ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७ सय ११.७६ अंकमा ओर्लेको छ । यससँगै लगातार तीन कारोबार दिन नेप्से घटेको छ ।
सोमबार कारोबारमा आएकामध्ये ७३ कम्पनीको मूल्य बढ्यो, १८८ कम्पनीको घट्यो र १२ वटाको स्थिर रह्यो । सो दिन कुल ५१ हजार ७ सय २ पटकको सेयर किनबेचमा १ करोड ७ लाख ३९ हजार ९ सय ९८ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँबराबर सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत शुक्रबार ४ अर्ब ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो । सो दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने ०.११ प्रतिशतले बढेको छ ।
