नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने उदेश्यले मन्त्रालयले सामाजिक सञ्जालमार्फत निर्देशनहरू जारी गरेको हो ।
What you should know
काठमाडौं — संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणमा सडकमार्ग हुँदै आउने विदेशी पर्यटकका लागि पालना गर्नुपर्ने नियम, सुरक्षा र आचरणसम्बन्धी ‘गर्न हुने र गर्न नहुने' नियम सार्वजनिक गरेका छन् ।
नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने उदेश्यले मन्त्रालयले सामाजिक सञ्जालमार्फत निर्देशनहरू जारी गरेको हो । नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा, स्वास्थ्य, संस्कृति र सुरक्षासम्बन्धी सबै नियम पालना गर्न उनले आग्रह गरेका छन् ।
नेपाल प्रवेशका लागि पर्यटकले आवश्यक अनुमतिपत्र (अनलाइन वा कागजी रूपमा) लिनु पर्नेछ । यात्रुहरूको नाम, उमेर, लिङ्ग, यात्रा समय र गन्तव्यसम्बन्धी विवरण सीमा सुरक्षाकर्मीलाई उपलब्ध गराउनुपर्नेछ । सवारी साधन र सामान अनिवार्य रूपमा सुरक्षा जाच गर्नुपर्ने छ । भारतीय नागरिकलाई भिसा आवश्यक नपरे पनि राहदानी वा मान्य परिचयपत्र अनिवार्य हुनु पर्नेछ ।
नेपालका सडक घुमाउरा र पहाडी भएकाले सवारी साधन पूर्ण रूपमा राम्रो अवस्थामा हुनुपर्नेछ । चालकलाई नेपालको भूगोल र मौसमबारे पर्याप्त अनुभव र जानकारी हुनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । यात्रामा प्राथमिक उपचार सामग्री र नियमित प्रयोग हुने औषधि साथमा राख्नुपर्ने भनिएको छ । आकस्मिक स्वास्थ्य सेवा मुख्य रूपमा सहर क्षेत्रमै सीमित भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
निश्चित सीमाभन्दा बढी नगद रकम साथमा ल्याउदा अनिवार्य रूपमा पर्यटकले घोषणा गर्नुपर्नेछ । धेरै स्थानमा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्न सकिने व्यवस्था भएको उल्लेख गर्दै सुन, चाँदीजस्ता बहुमूल्य गहना ल्याउदा प्रवेश विन्दुमै जानकारी गराउनु पर्नेछ ।
पर्यटकहरूलाई धार्मिक स्थलहरू सफा राख्न, फोहोर जथाभावी नफाल्न र वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गरीएको छ । उच्च हिमाली क्षेत्रमा लेक लाग्ने जोखिम हुने भएकाले आवश्यक परे अक्सिजनको प्रयोग गर्नुपर्ने जनाउँदै त्यहाँ जाने पर्यटकलाई बसोबास र खानपानको व्यवस्थामा पहिले नै समन्वय गरेर जान भनिएको छ ।
पदयात्रा र हिमाल आरोहणमा दर्ता भएका निर्देशन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने जनाउँदै अनुमतिबिना पदयात्रा वा पर्वतारोहण नगर्न भनिएको छ । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले गर्मी मौसममा पनि न्यानो कपडा अनिवार्य रूपमा पर्यटकले साथमा राख्नुपर्नेछ ।
पर्यटकहरूलाई मन्त्रालयले स्थानीय संस्कृति, परम्परा र सामाजिक मर्यादाको सम्मान गर्न आग्रह गर्दै शिष्ट भाषा प्रयोग गर्न, मर्यादित पहिरन र धार्मिक स्थलमा जुत्ता–चप्पल खोल्नु पर्ने विषयको स्मरण गराएको छ । त्यस्तै मदिरा सीमित मात्रामा प्रयोग गर्न आग्रह गर्दै नेपालमा गाजा पूर्ण रूपमा अवैध रहेको पनि स्मरण गराइएको छ ।
पर्यटकलाई कुनै समस्या परेमा पर्यटन प्रहरी वा सम्बन्धित निकायलाई सम्पर्क गर्न सकिने भन्दै पर्यटन प्रहरीको हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिने भनिएको छ । मन्त्री पौडेलले नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने उदेश्यले यी निर्देशनहरु सार्वजनिक गरीएको जनाइएको छ ।
