एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्र छापिने

पुरानो मितिका २९ लाख लाइसेन्समध्ये १८ लाख २ हजार २ सय ४८ छापियो।

जेष्ठ ३१, २०८३

विमल खतिवडा

Licenses with a validity of less than one year will only be printed after renewal.

What you should know

काठमाडौँ —  

पुराना मितिका २९ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मध्ये साढे ३ लाख तत्काललाई नछापिने भएको छ । एक वर्षभन्दा कम समयावधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन् । तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ । 

छापेर कार्यालयमा पठाउँदा समय लाग्ने र सम्बद्ध व्यक्तिहरूले लिन आउन पनि ढिला गर्ने भएकाले यस्तो लाइसेन्स नवीकरणपछि मात्र छापेर दिइने विभागको भनाइ छ । अहिले लाइसेन्सको समयावधि पाँच वर्षको छ । 

अहिले छापेर दिइए पनि समय सकिएपछि पुनः नवीकरण गर्नुपर्ने भएकाले एक वर्षभन्दा कम समय भएका लाइसेन्स नछाप्ने निर्णय गर्ने तयारी भएको विभागका निर्देशक केशव खतिवडाले जनाए । ‘अहिले छपाइ गर्ने क्रममा प्रणालीमा हेर्दा करिब साढे ३ लाख लाइसेन्स एक वर्षभन्दा कम समयावधिका छन्,’ उनले भने, ‘जसमा ६० देखि ७० प्रतिशत लाइसेन्स प्रयोगकर्ता विदेशमा छन् । नवीकरण गरेपछि लाइसेन्स वाहकले कुनै कार्य गरेको देखिँदैन, क्याटगरी थप गरेको पनि देखिँदैन ।’ 

गत शुक्रबार मात्र १ हजार ३ सय लाइसेन्स मिति सकिएका भेटिएको खतिवडाले सुनाए । ‘कुन लाइसेन्सको म्याद कति छ भनेर प्रणालीबाटै थाहा हुन्छ, एक वर्षभन्दा कम समय भएका लाइसेन्स प्रिन्टमा नपठाउने बनाइएको छ,’ उनले भने, ‘लाइसेन्सको समय सकिनेमध्ये धेरै विदेशमा छन् ।’ कानुनी रूपमा भन्दा पनि व्यावहारिक पक्ष हेर्दा नछाप्दा हुने देखिएको उनले सुनाए । व्यावहारिक रूपमा उपयुक्त नदेखिएको, यसले राज्यलाई घाटा र सर्वसाधारणलाई पनि छिटो नवीकरण गरिहाल्नुपर्ने बाध्यता रहने भएकाले नछाप्ने निर्णय गर्न लागिएको खतिवडाको भनाइ छ । अब नवीकरण गर्दा लाइसेन्सको अवधि १० वर्ष रहनेछ । 

छापेर पठाएका कतिपय लाइसेन्स कार्यालयमै थन्किएर बस्ने गरेका छन् । नवीकरण गर्दा मिति सकिएको अवधिबाट लाइसेन्सको समय गणना हुन्छ । १४ साउन २०८० बाट पाँच वर्षको सट्टा १० वर्षे अवधि लागू भएको हो । ‘नयाँ अवधि तोकिएको लाइसेन्स र पाँच वर्ष अवधि भए पनि राजस्व उति नै तिर्नुपर्छ,’ खतिवडाले भने । 

अहिले संघ सरकारअन्तर्गत रहेका यातायात व्यवस्था विभागको समन्वयमा लाइसेन्स छापेर वितरण गरिए पनि नवीकरण प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयमार्फत नै हुन्छ । नवीकरणका लागि राजस्व बढाउने–नबढाउने निर्णय सम्बन्धित प्रदेश कार्यालयबाटै हुन्छ । अहिले २९ लाख लाइसेन्समध्ये १८ लाख २ हजार २ सय ४८ लाइसेन्स छापिइसकेका छन् । ८८ हजार ४ सय ९५ लाइसेन्स प्रक्रियामा रहेको र १० लाख ९ हजार २ सय ५७ लाइसेन्स छाप्न बाँकी छ । 

२९ लाखमा सुरुमा १२ लाख लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ कात्तिक २०८२ मा सम्झौता भएको थियो । सम्झौताअनुसार केन्द्रले १२ वैशाख २०८३ भित्र छपाइ गरेर दिइसक्नुपर्ने थियो । त्यहीअनुसार केन्द्रले १२ लाख लाइसेन्स छापेर विभागलाई बुझाएको थियो । बाँकी १७ लाख लाइसेन्स ३२ असारभित्र छापिसक्ने गरी ४ वैशाखमा दोस्रो चरणको सम्झौता भएको थियो । 

१७ लाख लाइसेन्समा ६ लाख २ हजार २ सय ४८ लाइसेन्स छापिइसकेको केन्द्रको वेबसाइटमा राखिएको तथ्यांक छ । दोस्रो चरणमा सम्झौतापछि अत्यावश्यक ३ हजार ८ सय ३ र राजस्व बुझाएको २४ घण्टाभित्र छापिएको लाइसेन्सको संख्या १ लाख ३० हजार ८ सय ५८ छ । 

विभागसँग दोस्रो चरणमा भएको सम्झौताअनुसार असार मसान्तभित्र सबै लाइसेन्स छापिसक्ने सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले बताए । ‘प्रक्रियामा रहेका ८८ हजार लाइसेन्स पनि छापिइसकेका छन्, सोमबार उक्त लाइसेन्स विभागमा पठाउँछौं,’ उनले भने, ‘दोस्रो चरणको लाइसेन्स छापिइसकेपछि प्रदेशसँग सम्झौता गरेर छपाइको काम गर्न समस्या छैन ।’

अहिले देशभरका यातायात कार्यालयबाट आएको डेटा जम्मा गरेर विभागले केन्द्रलाई पठाउने काम गरिरहेको छ । यही काम सम्बन्धित प्रदेशहरूले समन्वय गरेर पठाउन सक्ने उनले सुनाए । विभागले १ साउनबाट अनलाइनमार्फत नयाँ र नवीकरण गर्न, लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणाली लागू गर्ने तयारीमा छ । ब्लुबुकको नवीकरण पनि अनलाइनबाटै गर्न मिल्ने गरी प्रणाली तयार भएको र यसलाई लागू गर्नेबारे कार्यविधि बनाउने तयारीमा रहेको विभागका निर्देशक खतिवडाले जनाए ।

साउनबाट मुद्रण केन्द्रबाटै सम्बन्धित यातायात कार्यालयमा छापिएका लाइसेन्स पठाउने गरी छलफल भइरहेको खतिवडाको भनाइ छ । ‘मुद्रण केन्द्रबाट छापिएर ४२ वटै यातायात कार्यालयमा लाइसेन्स जाओस् भनेरै केन्द्र र हुलाक सेवा विभागबीच सम्झौता गराउने सोचमा छौं,’ निर्देशक खतिवडाले भने, ‘यसमा हुलाक र मुद्रणले हुन्न भनेका छैनन् ।’ 

साउनबाट नयाँ र नवीकरणका लागि लाइसेन्सको फर्म भर्दा आफूले लाइसेन्स लिने ठाउँको ठेगाना प्रस्टसँग लेख्ने व्यवस्था गराइने खतिवडाले सुनाए । ‘लाइसेन्स कहाँबाट लिन सजिलो हुन्छ, त्यहीँको ठेगाना राखेर फर्म भर्नुपर्छ । यसमा ४२ वटा यातायात व्यवस्था कार्यालयमध्ये जुनसुकै रोज्न पाइयो,’ उनले भने । अहिले काठमाडौं उपत्यकाभित्रका यातायात व्यवस्था कार्यालयमा विभागले लाइसेन्स छापेर पठाउने गरेको छ । 

उपत्यकाबाहिरका जिल्लामा भने हुलाक सेवा विभागमार्फत लाइसेन्स पठाइन्छ । यसका लागि प्रत्येक दिन हुलाक सेवा विभागबाट कर्मचारी लाइसेन्स लिन मीनभवनस्थित यातायात व्यवस्था विभाग पुग्ने गरेका छन् ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully