इप्पानको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

इप्पानको विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष नहुने व्यवस्था हटाई सबै पदमा खुल्ला निर्वाचनको प्रक्रिया लागू गरिएको छ ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

IPPAN's new executive committee takes charge

What you should know

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवगठित कार्यसमितिले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिकरूपमा जिम्मेवारी सम्हालेको छ । 

इप्पानको २४औँ वार्षिक साधारणसभाले विधान संशोधन गरी अब सबै पदमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने व्यवस्था लागू गरेको  छ।

संशोधित विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाएको छ । यसअघि वर्तमान अध्यक्ष मोहनकुमार डाँगी भने विधान संशोधनअघि वरिष्ठ उपाध्यक्ष रहेकाले स्वतः अध्यक्ष बनेका हुन् । विधान संशोधन भएसँगै वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामा स्वतः अध्यक्ष नहुने भएका छन् । 

संशोधित विधानअनुसार अध्यक्ष पदमा उम्मेदवार हुन कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्णरूपमा कार्यान्वयनमा आउनेछ ।

नयाँ कार्यसमितिका उपाध्यक्ष एवं पूर्व महासचिवसमेत रहेका खतिवडाले मागअनुरूप नै सबै पदमा निर्वाचन हुने गरी विधान संशोधन गरेर सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको बताए ।

'विधान संशोधन गरेर सबै पदमा निर्वाचन गर्ने हाम्रो माग थियो । त्यहीअनुसार संशोधन गरियो । अब सबै पदमा निर्वाचन हुन्छ । अध्यक्षबाहेक सबै पदमा खुल्ला रूपमा इप्पानका सदस्यहरू लड्न पाउँछन्, कार्यसमिति सदस्य नै हुनुपर्छ भन्ने छैन, ' उनले भने, 'वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान पनि हटायौं ।'

२४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् । त्यसपछि निवर्तमान कार्यसमितिले नयाँ नेतृत्वलाई पदभार हस्तान्तरण गरेको थियो ।

उपाध्यक्षहरूमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य  र हिमप्रसाद पाठक छन् । वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधान अनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी सात उपाध्यक्ष पुर्‍याइएको छ ।

महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन् ।

त्यसैगरी सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन् । नयाँ संशोधित विधान अनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पोडेललाई थप गरी सात सचिव पुर्याइएको छ ।

कोषाध्यक्षमा  शंकर बस्याल छन् भने  सदस्यहरुमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन् । संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुने गरी स्थायी आमन्त्रित सदस्यको रुपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ । 

नवनियुक्त अध्यक्ष डाँगीले  ऊर्जा क्षेत्रको नीतिगत सुधार, लगानी प्रवर्द्धन र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरे । उनले  ऊर्जा क्षेत्रका कानुनी तथा नीतिगत अवरोध हटाउन विज्ञ सल्लाहकार समिति गठन गर्ने, जलाशय तथा पम्प स्टोरेज आयोजनामा निजी क्षेत्रको लगानी आकर्षित गर्न पहल गर्ने तथा सौर्य ऊर्जा, ग्रीन हाइड्रोजन र ब्याट्री स्टोरेज प्रवर्द्धनका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए ।

डिजिटल प्रणाली विकास, सेवा डेस्क स्थापना, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा ऊर्जा क्षेत्रका सरोकारवालाको एकीकृत डेटा व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully