सरकारले अगाडिको गोजीमा २० हजार रुपैयाँ हालिदिए जस्तो गरेर पछाडिको गोजीबाट सुटुक्क ३२ देखि ३४ हजार रुपैयाँ निकालिसकेको थापाको टिप्पणी छ ।
What you should know
काठमाडौँ — कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई राहत दिने भ्रम छरेर उल्टै आर्थिक भार थपेको बताएका छन् ।
कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आइतबार सानेपामा आयोजित ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’को पहिलो कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । सरकारले आयकरको सीमा १० लाख रुपैयाँसम्म पुर्याएर मध्यम वर्गलाई खुशी पार्न खोजेको देखिए पनि अन्य शीर्षकमा गरिएका कर वृद्धिका कारण आम नागरिकको ढाड सेकिने थापाको तर्क छ ।
सरकारले अगाडिको गोजीमा २० हजार रुपैयाँ हालिदिए जस्तो गरेर पछाडिको गोजीबाट सुटुक्क ३२ देखि ३४ हजार रुपैयाँ निकालिसकेको उनको टिप्पणी छ । शिक्षामा ३ प्रतिशत समता शुल्क, स्वास्थ्यमा थप शुल्क र ५० युनिटभन्दा बढीको विद्युत् खपतमा १३ प्रतिशत भ्याट लगाउँदा वार्षिक रूपमा मध्यम वर्गको खर्च निकै बढ्ने उनले उल्लेख गरे । निजी विद्यालय र अस्पताल विलासिता नभई राज्यको कमजोरीका कारण नागरिकको बाध्यता बनेको भन्दै ती क्षेत्रमा कर थोपर्नु गलत भएको उनको भनाइ छ ।
सभापति थापाले सरकारले ल्याएको राजस्व परिचालनको लक्ष्य आधारहीन रहेको दाबी गरे । बजारमा आर्थिक गतिविधि सुस्त रहेको, घरजग्गा कारोबार घटेको र बैंकमा पैसा थुप्रिएर बसेको अवस्थामा ठूलो मात्रामा राजस्व वृद्धि गर्ने सरकारको दाबी पत्याउन नसकिने उनले बताए । साथै, ऋण लिने कुरामा अर्थमन्त्रीको विगत र वर्तमानको धारणा बाझिएको भन्दै थापाले ऋणको उत्पादकत्वमा ध्यान दिन आग्रह गरे । उनले भने, ‘ऋण कति लिनेभन्दा पनि कुन कामको लागि लिने र त्यसको उत्पादकत्व के हुन्छ भन्ने मुख्य कुरा हो ।’
कृषि क्षेत्रको बजेट विनियोजनमा टिप्पणी गर्दै थापाले मल खरिदका लागि छुट्याइएको रकम अपर्याप्त रहेको बताए । अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिका कारण गत वर्षकै परिमाणमा मल खरिद गर्न पनि थप बजेट आवश्यक पर्नेमा सरकारले सस्तो लोकप्रियताका लागि मात्र अंक बढाएको उनको आरोप छ ।
त्यसैगरी सूचना प्रविधि (आईटी) क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा सरकार आफैंले एप बनाउने जस्ता कार्यमा लाग्नुले यस क्षेत्रलाई संकुचित बनाउने उनको धारणा छ । उनले भूमि बैंकको स्थापना र भू–उपयोग नियमावलीमार्फत कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने ठाउँ हुँदाहुँदै सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।
सभापति थापाले सरकारले ‘विधिको शासन’ भन्दा पनि ‘विधिद्वारा शासन’ गर्न खोजेकोमा चिन्ता व्यक्त गरे । कानुनलाई हतियार बनाएर निहीत स्वार्थ पूरा गर्न खोजिए नेपाली कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने उनले चेतावनी दिए ।
