निर्माण थाल्न अझै दुई वर्ष लाग्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणसाग छलफल गरेर काम गर्ने समय टुंगो लागेपछि डीपीआरका लागि प्रक्रिया अघि बढाइने
What you should know
काठमाडौं — ट्राफिक जाम अत्यधिक हुने तीनकुने–जडीबुटी खण्डमा फ्लाइओभर र अन्डरपास निर्माणको काम थाल्न डेढदेखि दुई वर्ष लाग्ने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा यसको निर्माण गर्न लागिएको हो । २ भदौ २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३० अर्ब ८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेसँगै निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
फ्लाइओभर र अन्डरपास निर्माणमा जानुअघि गरिनुपर्ने प्रक्रियागत काम भने सुस्त छ । आयोजनामा नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा पनि पर्ने भएकाले यसमा काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । ‘निर्माणका लागि जाइकाको सहुलियतपूर्ण ऋण सरकारबाट स्वीकृत भइसकेको छ,’ उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिबाट काम गर्नुपर्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्नेछ ।’ यसका लागि सीमित समय तोकेर काम गरिने उनले प्रस्ट्याए ।
जहाज नआउने समयमा पनि काम गर्नुपर्छ, यसले गर्दा आयोजनाको समय बढ्न सक्छ । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले सुरक्षामा ख्याल गर्नुपर्छ । अर्जुनप्रसाद अर्याल, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख ‘जहाज नआउने समयमा पनि काम गर्नुपर्छ, यसले गर्दा आयोजनाको समय बढ्न सक्छ । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले सुरक्षामा ख्याल गर्नुपर्छ,’ अर्यालले भने, ‘निर्माण गर्ने समय निश्चित भएपछि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाउने काम अघि बढाउँछौं ।’ तीनकुनेमा सरकारी जग्गाको केही कित्ता अधिग्रहण गर्न बाँकी रहेको र प्राधिकरणको जग्गा किनेर लिने कि के कसरी अघि बढ्ने विषय केही दिनमै टुंग्याउने उनको दाबी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब ३१ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । यसका लागि प्राधिकरण सकारात्मक रहेको विभागको भनाइ छ ।
पूर्वसम्भाव्यता अध्ययनअनुसार नयाँ बानेश्वरतर्फबाट बागमती पुल तर्नेबित्तिकै ९४ मिटरको रिटेनिङ वाल निर्माण गरिनेछ । त्यसपछि तीनकुनेबाट मुनिभैरव मन्दिर नजिकसम्म ६ सय ६५ मिटरको फ्लाइओभर निर्माण हुने सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले बताए । त्यसपछि सय मिटरको रिटेनिङ वाल हुँदै ६ सय मिटरको अन्डरपास (सुरुङ) निर्माण गरिने उनको भनाइ छ । ‘यो कलंकीको जस्तै अन्डरपास होइन, जहाँ खुला छ,’ पौडेलले भने, ‘यहाँ अन्डरपास खुला हुँदैन, यो बन्द गरिएको बट्टा जस्तो हो ।’
जडीबुटीतर्फ पनि २ सय ३८ मिटर दूरीको फ्लाइओभर बन्नेछ । त्यसलाई जोड्ने गरी १ सय १९ मिटरको रिटेनिङ वाल बनाइने पौडेलको भनाइ छ । यसको पूर्वसम्भाव्यता अध्ययन गर्न जाइकालाई करिब डेढ वर्ष लागेको थियो । जाइकाको अध्ययनअनुसार समग्र आयोजना निर्माण अवधि ६ वर्षको हुनेछ । अहिले रहेको मुनिभैरव मन्दिर अन्डरपासमा पर्ने भएपछि त्यसलाई केही माथि सारिने सडक विभागको भनाइ छ ।
यस खण्डमा सवारी चाप बढी हुने भएकाले सडक अवरोध नगर्ने गरी काम गरिने विभागको दाबी छ । ‘ठेक्काका सबै प्रक्रिया सकेर निर्माण थाल्न डेढदेखि दुई वर्ष लाग्न सक्छ,’ अर्यालले भने, ‘यसबारे सरोकारवाला निकायसँग पनि छलफल गर्नुपर्छ । सबै टुंग्याएर परामर्शदाता छानी डीपीआर बनाउने जिम्मा दिन्छौं । यो काम सक्न ६ महिनादेखि एक वर्ष लाग्छ ।’
चालु आर्थिक वर्षमै डिजाइनको काम सक्ने विभागको योजना थियो । तर त्यसअनुसार सबै प्रक्रिया नटुंगिँदा यसको काम आगामी आर्थिक वर्षबाट मात्र सुरु हुने अर्यालको भनाइ छ । ‘कुन समयमा काम गर्दा विमानस्थललाई अवरोध हुँदैन, प्राधिकरणसँग छलफल गरेर तय गर्छौं । त्यसपछि मात्र लागत र निर्माण अवधिबारे थाहा हुन्छ,’ उनले भने । प्राधिकरणसँग यस विषयको राय माग गरिएको उनले सुनाए ।
‘जापान र नेपालका उच्च अधिकारीबीच १७ मंसिर २०८२ मा ऋण सम्झौता भएपछि अर्थ मन्त्रालयबाट थप काम अघि बढाउन विभागमा पठाइएको हो,’ अर्यालले भने । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चक्रपथ भएर दिनको ४ सयदेखि ५ सय हाराहारी यात्रुवाहक सवारीसाधन गुड्छन् । चक्रपथ विस्तारको काममा ढिलाइ भइरहँदा फ्लाइओभर र अन्डरपास निर्माण छिटो अघि बढाउनुपर्ने सरोकारवाला निकायको भनाइ छ ।
