नगद बाँडेर मात्र गरिबी घट्दैन : अर्थमन्त्री वाग्ले

नागरिकलाई सधैं सहायता लिने अवस्थामा राख्ने होइन, आम्दानी आर्जन गर्ने अवस्थामा पुर्‍याउने पक्षमा पुर्‍याउने पनि अर्थमन्त्री वाग्लेको भनाइ छ

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Poverty cannot be reduced by distributing cash alone: ​​Finance Minister Wagle

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले नगद वितरण गरेर मात्रै गरिबी नघट्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजेटले नगद वितरणलाई प्रथामिकता नदिएको स्पष्ट पारेका हुन् । तर सामाजिक सुरक्षाका कार्यक्रमहरू कटौती नगरिएको उनको भनाइ छ ।

'नीतिगत रूपमा हामीले दोहोरो चरित्र त्यागेकै हो । नियामकीय निकायलाई सुढृढ गर्नेतर्फ हामीले ध्यान दिएका छौँ । राज्यले सबै काम आफैं गर्ने र निजी क्षेत्रलाई शंकाको दृष्टिकोणले हेर्ने पुरानो सोचबाट हामी बाहिर निस्केकै हो । बजारले सबै समाधान गर्छ, भन्ने अतिवादी सोचबाट पनि हामी टाढा छौँ । हाम्रो दृष्टिकोण सक्षम राज्य र गतिशील निजी क्षेत्रबीचको सहकार्यमा आधारित छ । बजार स्वनिर्मित हुँदैन, राज्यले नै बनाइदिनुपर्छ,' उनले भने । 

प्रतिस्पर्धात्मक अर्थतन्त्रले समतामुखी समृद्धिको नतिजा ल्याउनको राज्य बलियो हुनुपर्ने पनि अर्थमन्त्री वाग्लेले बताए ।

'गरिबी कसरी घटाउने भन्ने विषयमा हाम्रो दृष्टिकोण अलि उन्नत छ, हामीले सामाजिक सुरक्षामा विद्यमान कार्यक्रमहरू एउटा पनि काटेका छैनौँ । लोककल्याणकारी, गरिबी कुनैका नाममा यहाँहरूले ल्याएका बजेट काटिएको छैन, बरु हामीले थपेका छौँ । तर केवल नगद वितरण गरेर मात्रै गरिबी घट्दैन, भन्ने यथार्थलाई बजेटले स्वीकार गरेको छ,' उनले भने । 

आफूहरूले नागरिकलाई सधैं सहायता लिने अवस्थामा राख्ने होइन, आम्दानी आर्जन गर्ने अवस्थामा पुर्‍याउने पक्षमा पुर्‍याउने पनि उनको भनाइ छ । विगतमा नियामकीय अभ्यास विकृत बन्दै गएकोका कारण क्रोनी क्यापिटलिज्म र आर्थिक कब्जाजस्ता प्रवृत्ति देखिएको उनले बताए । 

कान्तिपुर

Link copied successfully