८.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

बिहीबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटेल, पर्यटन र उत्पादन उपसमूहबाहेक सबैको परिसूचक घटे ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

NEPSE drops by 8.14 points, trading volume also decreases

काठमाडौँ — बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ८.१४ अंकले घटेको छ । बुधबारको तुलनामा ०.२९ प्रतिशतले घटेर बिहीबार समग्र नेप्से २ हजार ७ सय २८.०३ अंकमा झरेको हो । यसअघि लगातार ४ कारोबार दिन घटेको सेयर बुधबार भने केही सुधार भएको थियो । बुधबार नेप्से परिसूचक बुधबार २.५७ अंकले बढेको थियो । 

बिहीबार कारोबारमा आएकामध्ये ८१ कम्पनीको मूल्य बढ्यो, १७९ कम्पनीको घट्यो र १३ वटाको स्थिर रह्यो ।

बिहीबार कुल ५७ हजार ५ सय ५२ पटकको सेयर किनबेचमा ९२ लाख ३१ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँबराबर सेयर कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटेल, पर्यटन र उत्पादन उपसमूहबाहेक सबैको परिसूचक घटे । 

कान्तिपुर

Link copied successfully