आयात–निर्यात कारोबारसँग सम्बन्धित असुल गर्न बाँकी रकम वर्षौं फर्छ्योट नहुँदा वीरगन्ज भन्सार कार्यालयको बेरुजु १० अर्ब नाघेको हो।
What you should know
पर्सा — मुलुककै सबैभन्दा बढी राजस्व संकलन गर्ने वीरगन्ज भन्सार कार्यालयको बेरुजु रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
आयात–निर्यात कारोबारसँग सम्बन्धित विभिन्न प्रकरणमा असुल गर्नुपर्ने रकम वर्षौंसम्म फर्छ्योट हुन नसक्दा बेरुजुको आकार बढ्दै गएको कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार आयात तथा निर्यातकर्ताले आवश्यक कागजात र प्रमाण पूरा नगरी बैंक ग्यारेन्टीका आधारमा मालवस्तु छुटाउने गरे पनि पछि बेरुजु फर्छ्योटका लागि नआउँदा समस्या जटिल बन्दै गएको हो। ‘कतिपय कन्साइनमेन्टमा वस्तुको सही वर्गीकरण गरिएको हुँदैन, कतिपयमा आवश्यक कागजात नै संलग्न हुँदैनन्,’ मैनालीले भने, ‘त्यस्तो अवस्थामा बैंक ग्यारेन्टी राखेर कारोबार सम्पन्न गरिन्छ। तर पछि सम्बन्धित व्यवसायी बेरुजु फर्छ्योट गर्न आउँदैनन्।’
उनका अनुसार यस्तो समस्या विशेषगरी सवारी साधन आयातसँग सम्बन्धित कारोबारमा बढी देखिएको छ। आयातकर्ताले पेश गरेको प्रज्ञापनपत्र र वास्तविक रूपमा भित्रिएको सवारी साधनबीच फरक पाइने गरेको उनको भनाइ छ। ‘डिजेल इन्जिन भएको भनेर घोषणा गरिएको सवारी पेट्रोल इन्जिनको हुने, सानो आकारको भनेर विवरण दिइएको सवारी ठूलो आकारको हुने तथा कम सिट क्षमताको भनेर उल्लेख गरिएको सवारीमा बढी सिट क्षमता हुनेजस्ता अवस्था भेटिएका छन्,’ उनले भने।
यस्ता विषयमा राजस्व निर्धारण तथा असुली प्रक्रिया पूरा नभएपछि रकम बेरुजुका रूपमा रहने गरेको उनले बताए। प्रत्येक वर्ष महालेखा परीक्षकको कार्यालयले समेत यस्ता प्रकरणलाई बेरुजुका रूपमा औंल्याउने गरेको र त्यसले बेरुजुको रकम थपिँदै गएको मैनालीको भनाइ छ।
उनले कतिपय व्यवसायीले भन्सारले माग गरेको विवरण तथा रकम बुझाउन आनाकानी गर्ने र विवाद अदालतसम्म पुग्ने गरेको बताए। ‘बेरुजु फर्छ्योटका लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘कतिपय मुद्दा अदालतमा पुग्छन् र त्यहाँबाट व्यवसायीले जितेपछि असुली प्रक्रिया थप जटिल बन्ने गरेको छ।’
बढ्दो बेरुजुले भन्सार प्रशासनको कार्यसम्पादनमा अतिरिक्त दबाब सिर्जना गरेको मैनालीले बताए। उनका अनुसार पुराना बेरुजु फर्छ्योट, मुद्दा व्यवस्थापन तथा असुली प्रक्रियामा ठूलो समय र जनशक्ति खर्चिनुपरेको छ।
देशको प्रमुख व्यापारिक नाका तथा राजस्व संकलनको मुख्य केन्द्र मानिने वीरगन्ज भन्सार कार्यालयले वार्षिक रूपमा अर्बौं रुपैयाँ राजस्व संकलन गर्दै आएको छ। तर वर्षौंदेखि थाती रहेका बेरुजुका कारण राजस्व प्रशासनलाई चुनौती थपिएको कार्यालयको निष्कर्ष छ।
